क्यासिनोले अब मासिक कारोबार विवरण अनिवार्य बुझाउनुपर्ने, जोखिमको आधारमा अनुगमन हुने

126
Shares

काठमाडौं । नेपालका चार र पाँचतारे होटलमा सञ्चालित क्यासिनोले अब मासिक रुपमा कारोबार (आम्दानी र खर्चको विवरण ) सरकारी निकायमा अनिवार्य रुपमा बुझाउनुपर्ने भएको छ । सरकारले ‘जोखिमको आधारमा क्यासिनोको स्थलगत निरीक्षण र गैरस्थलगत सुपरीवेक्षण दिग्दर्शन २०८२’ जारी गरेर क्यासिनोमाथि निगरानी बढाउन थालेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको उक्त दिग्दर्शन सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ७ को निर्देशक समितिको निर्णय अनुसार ग्रे लिस्टबाट बाहिरन गरिने सुधारात्मक कृयाकलाप अन्तर्गत जारी भएको हो । यो दिग्दर्शन तुरुन्तै प्रारम्भ भएकोले पनि अब पर्यटन विभागबाट इजाजतपत्र लिएका क्यासिनोको जोखिमका आधारमा अनुगमन हुने पनि उल्लेख छ ।

पर्यटन विभागले जोखिममा रहेका क्यासिनोको पहिचान गर्ने छ । त्यसका लागि स्थलगत अनुगमन तथा निरीक्षण हुने छ । ग्राहबाट सूचना र जानकारी लिने, सार्वजनिक रुपमा उपलब्ध सूचनालाई विश्लेषण गर्ने, सामाजिक सञ्जालबाट सूचना लिएर त्यसको विश्लेषण गर्ने, सम्बन्धित संस्थाले दिउको प्रतिवेदन विश्लेषण गरेर क्यासिनोलाई उच्च, मध्यम र त्यून जोखिमका रुपमा वर्गीकरण हुने छ ।

यसका लागि पर्यटन विभागले वार्षिक कार्ययोजना बनाएर स्थलगत अनुगमन गर्ने भएको छ । अनुगमनको लागि जोखिममा रहेका क्यासिनोको स्थलगत अनुगमन फारममा रहेको विवरण भर्नुपर्ने व्यवस्था गरेको छ । यो फारामा वित्तीय कारोबार, ग्राहक सम्बन्धि विवरण, व्यवस्थापकीय जोखिम, नीति तथा कानूनको परिपालना, आन्तरिक सुरक्षा मापदण्ड, अनलाइन प्रतिवेदन प्रणालीसहितको विवरण भर्नुपर्ने व्यवस्था पनि उक्त दिग्दर्शनले गरेको छ ।

क्यासिनोको गैरस्थलगत सुपरीवेक्षणकोको लागि अस्वभाविक तथा शंकास्पद कारोबार, कानून तथा निर्देशन पालनाको अवस्था, कर्मचारीको जिम्मेवारी र र्काविभाजन, ग्राहकको जोखिम मूल्यांकनाको आधारमा काराेबार गरेर नगरेकाे सन्बन्धि यसका पद्धति हेरिने छ । यसका साथै आन्तरिक नियन्त्रण प्रणाली, क्यासिनोले प्रयोग गरेको प्रविधिको परीक्षणसहितको विधि प्रयोग गरेर गैरस्थलगत निरीक्षण गर्ने व्यवस्था पनि दिग्दर्शनमा उल्लेख छ ।

पर्यटन विभागका महानिर्देशक नारायण रेग्मीका अनुसार क्यासिनोले अहिले नवीकरण गर्दा वा ६ महिना वा एक वर्षमा विवरण बुझाउनुपर्ने व्यवस्था छ । यसकाे पालना पूर्ण रुपमा हुन नसकेको अवस्थामा अब नियमित अनुगमन र निरक्षणले क्यासिनोको नियमन सहज हुने छ ।

नयाँ कार्यविधि अनुसार क्यासिनोमा न्यून जोखिम होस्, निगमन बलियो र सुरक्षित तवरले कारोबार होस् भन्ने मनसाय राखिएको बताए । उनका अनुसार पर्यटन विभागले गर्ने नियमित अनुमगत तथा निरीक्षणबाट क्यासिनो थप व्यवस्थित हुने छ ।