ट्रम्पको हठका कारण घट्यो डलरको मूल्य

630
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलका उत्तराधिकारी छान्नका लागि समयअगावै प्रयास गरेपछि डलरको भाउ घटेको छ । पावेलको कार्यावधि सन् २०२६ को मे महिनामा सकिँदैछ ।

द वाल स्ट्रीट जर्नलले प्रकाशित गरेको समाचारअनुसार, ट्रम्पले उत्तराधिकारीको नाम घोषणा गर्ने पहल थालेपछि अन्य मुद्राको तुलनामा डलरको भाउ ०.५ प्रतिशतले घटेको छ ।

सन् २०२५ मा संसारमा सबभन्दा बढी कारोबार हुने मुद्राहरूमध्ये डलरको इन्डेक्स १० प्रतिशतभन्दा बढीले घटेको छ । अहिले डलर विगत तीन वर्षमा सबभन्दा कमजोर अवस्थामा रहेको रोयटर्स समाचार संस्थाले जनाएको छ।

सन् १९९१ पछि पहिलोपटक डलरको भाउ विगत ५ महिनामा यति कमजोर बनेको हो । ५२ वर्षअघि गतिशील विनिमयदरको युग आरम्भ भएदेखि वर्षको पहिलो ५ महिनामा डलरले गरेको यो सबभन्दा कमजोर प्रदर्शन हो ।

ट्रम्पले फेडरल रिजर्भलाई ब्याजदर घटाउनका लागि दबाब दिइरहेका छन् । तर, यसले मूल्यवृद्धि थप चर्काउने भन्दै लगानीकर्ताहरू चिन्तित बनेको फोर्च्युन पत्रिकाले लेखेको छ । त्यसमाथि अझ आयातकरका कारण उपभोग्य वस्तुको मूल्य बढेको र ट्रम्पको खर्च विधेयकले अर्बौं डलर ऋण थप्ने विश्लेषकहरूले बताइरहेका छन् ।

ट्रम्पले चाहिँ औद्योगिकीकरणलाई अघि बढाइरहँदा ब्याजदर घटाएमा आर्थिक वृद्धि हुने बताइरहेका छन् ।

‘भूराजनीतिक तनावका कारण डलर केही बलियो बनेको भए पनि अहिले कमजोर भएको छ,’ फोरेक्स पेमेन्ट कम्पनी कन्भेराका एन्टोनियो रुगिएरोले बिहीवार बताए । उनले डलरका विषयमा नकारात्मक धारणाहरू अभिवृद्धि भइरहेको बताए ।

ट्रम्पले विगत ६ महिनादेखि फेडरल रिजर्भका अध्यक्ष पावेलको आलोचना गर्दै आएका छन् । उनी मूर्ख र राजनीतिक प्रकृतिको व्यक्ति भएको र उनले अमेरिकालाई घाटा लगाइरहेको आरोप ट्रम्पले लगाएका छन् । फेडरल रिजर्भले ब्याजदर घटाउने ट्रम्पको मागलाई प्रतिकार गर्दै आइरहेको छ ।