इरानसँग आणविक सम्झौता गर्न ट्रम्प प्रशासनको पहल, तेहरान पनि लचिलो भएको दाबी

1k
Shares


एजेन्सी । अमेरिकाको ट्रम्प प्रशासनले इरानलाई वार्ताको टेबलमा ल्याउनका लागि विभिन्न प्रस्तावहरू पेश गरेको छ ।

सीएनएनमा प्रकाशित सामग्रीमा उल्लेख भएअनुसार, इरानलाई गैरसैन्य ऊर्जा उत्पादन गर्ने आणविक कार्यक्रमका लागि ३० अर्ब डलर दिने, उसमाथि लगाइएका प्रतिबन्धलाई खुकुलो पार्ने र रोकेर राखिएका अर्बौं डलर बराबरका इरानी पैसा फुक्का गर्ने प्रस्ताव अमेरिकाले राखेको छ । त्यसका लागि इरानले आणविक हतियार कार्यक्रम स्थगित गर्नुपर्नेछ ।

इजरायल र इरानबीच द्वन्द्व चलिरहेको बेलामा पनि अमेरिका र पश्चिम एसियाका महत्त्वपूर्ण सरोकारवालाहरूले पर्दापछाडि इरानीहरूसँग कुराकानी गरिरहेको स्रोतलाई उद्धृत गर्दै सीएनएनले खबर दिएको छ । गत मंगलवार भएको युद्धविरामपछि पनि ती वार्ताहरू जारी रहेका थिए ।

ट्रम्प प्रशासनले इरानका लागि अनेकौं शर्त तेर्स्याएको छ । ती शर्तहरूमध्ये एउटामा कुनै पनि सम्झौता नहुने अमेरिकाले स्पष्ट पारेको छ । युरेनियमलाई कुनै पनि हालतमा संवर्धन गर्न नपाउने शर्त इरानले पालन गर्नैपर्ने अमेरिकाको भनाइ छ । तर, इरानले युरेनियम संवर्धन आफूलाई जरुरी रहेको बताएको छ ।

पश्चिम एसियाका लागि अमेरिकाका विशेषदूत स्टिभ विटकोफले अरबी साझेदारहरूसँग गत शुक्रवार ह्वाइट हाउसमा घन्टौंसम्म बैठक गरेका थिए र त्यसक्रममा विवरणहरूमा सहमति बनेको थियो ।

त्यसक्रममा इरानको (युरेनियम संवर्धन विनाको) नयाँ आणविक कार्यक्रममा २० देखि ३० अर्ब डलर बराबरको लगानी गरिने कुरा उल्लेख छ । त्यो आणविक कार्यक्रम गैरसैन्य ऊर्जाका लागि उपयोग गरिने बताइएको छ ।

तर, त्यसका लागि अमेरिकाले आफैं पैसा नदिने र अरबी साझेदारहरूले त्यो पैसा उपलब्ध गराउनुपर्ने अमेरिकाको भनाइ छ । हालैका महिनामा भएका आणविक वार्तामा इरानको आणविक केन्द्रका विषयमा लगानी गर्ने कुरामा व्यापक छलफल भएको थियो ।

इरानले गैरसैन्य आणविक ऊर्जा कार्यक्रममा सहमति जनाएमा इरानमाथि लगाइएका कतिपय प्रतिबन्धहरू खुकुलो बनाउने र विदेशी बैंकमा रोक्का भएको इरानको ६ अर्ब डलर बराबरको रकममा पहुँच दिने बताइएको छ ।

त्यससँगै अर्को एक प्रस्तावलाई पनि अघि सारिएको छ । अमेरिकाका अरबी साझेदारहरूले इरानको फोर्दोमा रहेको आणविक केन्द्रमा युरेनियम संवर्धन नगर्ने गरी आणविक कार्यक्रम चलाउनका लागि लगानी गर्ने प्रस्ताव गरिएको छ । गत शनिवार अमेरिकाले उक्त आणविक केन्द्रमा बंकर बस्टर बम प्रहार गरेको थियो । उक्त बम प्रहारपछि इरानले त्यो आणविक केन्द्रलाई उपयोग गर्न सक्ने हो कि हैन भन्ने स्पष्ट छैन र त्यसलाई गैरसैन्य प्रयोजनका लागि विकसित गर्ने प्रस्तावलाई उसले कत्तिको गम्भीरताका साथ लिएको छ भन्ने कुरा स्पष्ट छैन ।

विटकोफले बुधवार सीएनबीसीसँग कुराकानी गर्दै अमेरिकाले ‘विस्तृत शान्ति सम्झौता’ गर्न चाहेको बताएका थिए । इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नका लागि सबै किसिमका प्रस्तावहरू अघि सारिएको ट्रम्प प्रशासनका एक अधिकृतले बताएका छन् ।

इरानले शान्तिपूर्ण नागरिक प्रयोजनका लागि आणविक कार्यक्रम बनाउन पाउने तर त्यसका लागि युरेनियम संवर्धन गर्न नपाउने अमेरिकाको भनाइ छ । बरू, इरानले संवर्धित युरेनियम आयात गर्न पाउने अमेरिकाले जनाएको छ । विटकोफले यसलाई युनाइटेड अरब अमिरातको आणविक कार्यक्रमसँग तुलना गरे ।

इरानीहरूलाई यी शर्त प्रस्तुत गर्ने अवसर ट्रम्प प्रशासनसँग छ । राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच अर्को साता वार्ता हुने जानकारी बुधवार दिएका थिए । तर, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले अर्को साता हुने भनिएको वार्ताको बारेमा आफूलाई कुनै जानकारी नभएको बताए । यसको योजना बनाइरहेका मानिसहरूले यसको विवरणमा काम भइरहेको बताएका छन् ।

सीएनएनले कुरा गरेका स्रोतहरूले वार्ताको मिति तय नभइसकेको बताए ।

विटकोफले पर्दापछाडि रहेर सघन कूटनीतिक पहल गरिरहेको भए पनि ट्रम्पले यसै साता आणविक सम्झौताको आवश्यकता नरहेको बताए । सम्झौता भए पनि नभए पनि आफूलाई मतलब नहुने उनको भनाइ थियो ।

इजरायल र इरानबीच युद्धविराम सम्झौता गराएको भए पनि राष्ट्रपतिले सार्वजनिक रूपमा इरानसँगको आणविक सम्झौताप्रति बेवास्ता देखाए । तर, उनका सल्लाहकारहरूले युद्धविराम कायम रहनका लागि दीर्घकालीन सम्झौता गर्नुपर्ने विश्वास राखेका छन् ।

अमेरिका र इरानबीच क्षेत्रीय मध्यस्थकर्ताहरूमार्फत लगातार वार्ता भइरहेको छ र विटकोफले गोप्य बैठकमा बनाएका शर्तहरूमा चर्चा चलिरहेको छ । विशेषगरी कतारीहरू यस वार्ताको समन्वय गरिरहेका छन् । यसै साता इजरायल र इरानबीच युद्धविराम गराउन कतारकै महत्त्वपूर्ण भूमिका थियो । उनीहरूले फेरि लडाइँ नगरून् भनी कतारले अमेरिकासँग मिलेर काम गरिरहेको छ ।

विगत दुई हप्तामा विकसित घटनाक्रमका कारण इरानले अमेरिकी शर्तहरूलाई मान्न तयार हुने र आणविक हतियार नबनाउने आशा ट्रम्प प्रशासनले गरेको छ ।

तर इरानले अब आणविक हतियार आवश्यक रहेको निष्कर्ष निकालिसकेको हुन सक्ने सम्भावना इरानी विज्ञहरूले औंल्याएका छन् । यसै साता इरानको संसद्ले संयुक्त राष्ट्रसंघको आणविक निकाय आईएईएसँग सहकार्य नगर्ने प्रस्ताव पारित गरेको छ । अर्थात्, इरानीहरू आफ्नो आणविक कार्यक्रमलाई थप गोप्य राख्न चाहन्छन् ।

इजरायलले इरानविरुद्ध आक्रमण गर्नुअघि अमेरिकी र इरानीहरूले नयाँ आणविक सम्झौताका लागि पाँच चरणको वार्ता गरेका थिए । छैटौं चरणको वार्ता ओमानमा हुने कार्यक्रम थियो र त्यसमा अमेरिकाले इरानसमक्ष राखेको प्रस्तावमा इरानले प्रतिक्रिया दिने योजना थियो । तर, इजरायलले इरानमाथि आक्रमण गरेपछि यी वार्ताहरू ठप्प भएका थिए ।

शनिवार इरानले आणविक केन्द्रहरूमा आक्रमण गर्नुअघि ट्रम्प प्रशासनले मध्यस्थकर्ताहरूमार्फत इरानसँग कुरा गरेको थियो । अमेरिकाले दुईवटा सन्देश दिएको थियो : पहिलो, अमेरिकाले सीमित दायरामा मात्र आक्रमण गर्नेछ र दोस्रो, इरानले युरेनियम संवर्धन गर्न पाउँदैन ।

तर, इरानसँग अर्को साता वार्ताको घोषणा गरेको भए पनि ट्रम्पले सम्झौता हुन सक्ने विषयमा आशंका व्यक्त गरे । आफूहरूले इरानलाई आणविक हतियार नबनाउनू भन्ने उनले बताए ।

इजरायल र इरानबीचको युद्धभन्दा अघि अमेरिकाले इरानसमक्ष तेर्स्याएको शर्तमा प्रतिबद्धताको माग दोहोर्‍याउने ट्रम्पले बताए ।

इरानले मध्यस्थकर्तामार्फत भन्दा पनि अमेरिकासँग सिधै कुरा गरेमा मात्र सम्झौता हुन सक्ने अमेरिकाका विदेशमन्त्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकार मार्को रुबियोले बताएका छन् ।

उता विटकोफले सम्झौता हुन सक्ने संकेत पाइएको बताएका छन् । इरानका विभिन्न व्यक्तिहरूले कुराकानी गर्न खोजेकाले उनीहरू तयार भएको संकेत पाइएको विटकोफको भनाइ छ ।