बजेटमा तीन करोडभन्दा कम विनियोजन भएको बारे अर्थमन्त्रीले यसो भने

175
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट यथार्थपरक रहेको र बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल हुने दाबी गरेका छन् ।

प्रतिनिधि सभाको मंलगवारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री पौडेलले शिथिलतामा रहेको अर्थतन्त्रलाई वर्तमान सरकारले चलायमान बनाएको दाबी गरे ।

उनले बजेटमा स्रोत व्यवस्थापन र खर्चको बाँडफाँट यथार्थपरक गरिएको बताउँदै संविधानको अधिकारको सूची, कार्य विस्तृतिकरण प्रतिवेदन तथा आयोजना वर्गीकरण मापदण्डअनुरुप अपवादबाहेक तीन करोडको सीमालाई पालना गर्ने दृढता व्यक्त गरेको स्पष्ट पारे । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूँजीगत खर्च १७ प्रतिशत बढी गरिएको स्मरण गराउँदै उनले साधारण खर्च घट्ने र पूँजीगत खर्च बढ्ने सिलसिलामा ब्रेक लगाउनुपर्ने अवस्था रहेको बताए ।

‘विनियोजनका सन्दर्भमा छलफल गर्ने क्रममा अत्याधिक समय लिइएको विषय, छलफलको केन्द्र भागमा रहेको विषय, बजेटको तीन करोडको सीमा रहेको छ,’ उनले भने, ‘ सरकारले आगामी आर्थिक वर्षका लागि तीन करोडभन्दा साना आयोजनामा विनियोजन नगर्ने नीति लिएको कुरा स्पष्ट छ । तर यसका केही अपवादहरु पनि छन् तीन करोडभन्दा कम विनियोजनबाट सम्पन्न हुने क्रमागत आयोजनाहरु छन् भने त्यस आयोजनामा तीन करोडभन्दा कम विनियोजन हुनसक्छ ।’

भुक्तानी दायित्व बाँकी पूरा गर्नका लागि तीन करोडभन्दा कम विनियोजन गर्दा हुन्छ भने त्यसका लागि कम विनियोजन भएको हुन सक्ने उनले बताए।

संघीय सरकारको मात्र एकल अधिकारको क्षेत्रमा रहेका विषयहरु रहेको र त्यसमा तीन करोडभन्दा विनियोजनले काम गर्छ भने त्यस्तो अवस्थामा तीन करोड विनियोजन भएको उनले बताए ।

तीन करोडको सीमालाई पालना गरिएको उनको दाबी छ ।

‘तथापी तीन करोडभन्दा साना केही आयोजनाहरु कदाचित बिनियोजन भएका छन् भने त्यस्ता आयोजनाहरुलाई सम्बन्धित मन्त्रालयले अख्तियारी प्रदान गरि प्रदेश र स्थानीय तहबाट कार्यान्वयन गर्नेछन् भन्ने पनि स्पष्ट गर्न चाहन्छु र संघीय सरकार तीन करोडको सीमामा दृढतापूर्वक उभिन्छ भन्ने अनुरोध गर्न चाहन्छु,’ उनले भने ।