
काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आवश्यकता बढी र स्रोतसाधनको कमीले गर्दा बजेटमा सबैको चित्त बुझ्न नसकेको बताएका छन् ।
सोमवार सङ्घीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले आवश्यकताहरू बढी हुने र सोही अनुरूपको स्रोत र साधन नहुँदा बजेटमा सबैको चित्त नबुझ्ने जिकिर गरे ।
बजेट प्रस्तुत गर्दा स्रोत तथा साधनको प्राथमिकीकरणको आधारमा हुनुपर्ने उनले बताए ।
सरकारले कुनै ठाउँ बढी र कुनै ठाउँ कम बजेट विनियोजन गर्नुको आधार दिनुपर्नेमा महतको जोड छ ।
नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका डा. महतले कुन–कुन कारणले बजेट राख्न सकिएन ? भन्ने प्रश्नको जवाफ अर्थमन्त्रीले दिनुपर्ने बताए ।
बजेटमाथिको छलफलपछि संशोधन गर्ने परम्परा अहिलेसम्म नरहेको उनले बताए ।
आगामी दिनमा बजेट निर्माणको प्रक्रियामा महत्वपूर्ण सुधार गर्नुपर्ने महतको भनाइ छ ।
‘हाम्रा आवश्यकताहरू अत्यन्त ज्यादा छन् । त्यही अनुरूपको स्रोत साधन छैन । त्यसो भएको कारणले सबैको चित्त त बुझ्दैन । तर, बजेट प्रस्तुत गर्दा ती स्रोत र साधनको प्राथमिकीकरण र जहाँ अति आवश्यक छ त्यहाँ गर्ने, कम आवश्यकता भएको ठाउँमा यस कारण हामीले राखेनौँ भन्ने आधार चाहिँ सरकारले दिनुपर्छ,’ उनले भने, ‘ यस कारण हामीले यो यो ठाउँमा राखेनौँ किनकि यो भन्दो महत्वपूर्ण राख्नुपर्ने ठाउँ त्यो थियो भनेर अर्थमन्त्रीले आधार दिनुपर्छ । अब बजेट सकिएपछि संशोधन आदी, इत्यादि भन्ने कुरा त्यो अहिलेसम्मको परम्परा छैन । यसबाट हामीले सिकेर आउने दिनमा बजेट निर्माणको प्रक्रियालाई नै महत्वपूर्ण सुधार गर्नुपर्छ ।’
उनले बजेट निर्माणको क्रममा सरकारले सांसदहरूको कुरा नसुनेको भन्नु गलत भएको बताए ।







प्रतिक्रिया