सुवास अमात्यले डेढ अर्बमा किने भैरहवाको पवन प्यालेस, पाँचतारे होटल बेचेर मिठाइमै रमाउँदै हलुवाई


काठमाडौं । भैरहवाको पाँचतारे होटल पवन प्यालेस ऊर्जा व्यवसायी सुवास अमात्यले खरिद गरेका छन् । यो होटल पवन ग्रुप अफ होटल्सले निर्माण गरेको हो । अमात्यले करिब डेढ अर्ब रुपैयाँमा उक्त होटलको सम्पूर्ण स्वामित्व खरिद गरेका हुन ।

अमात्यले होटल खरिद गरेसँगै कुमारी बैंकमा रहेको १ अर्ब ५० करोड रुपैयाँको ऋण समेत सकार्ने शर्तलाई स्वीकार गरेका छन् ।

भैरहवामा पेडा बिक्री गरेर चर्चा कमाएका पवन मिष्ठान्न भण्डारका सञ्चालक पवन हलुवाइले सञ्चालनमा ल्याएको उक्त होटल पछिल्लो एक डेढवर्षदेखि बिक्रीको प्रयासमा थियो ।

होटलको सबै स्वामित्व अमात्यलाई हस्तान्तरण गरेका हलुवाइले अब पवनको पेडा नै बिक्री गरेर बस्ने र मिष्ठान्न भण्डारलाई नै राम्रोसँग चलाउने बताएका छन् । हलुवाईले क्लिकमाण्डुसँग भने ‘होटलको सबै सेयर स्वामित्व अमात्यले लिएका छन् । अब बैंकको ऋण दायित्व पनि सबै उनकै भएको छ ।’

१४७ वटा कोठाको यो पवन होटल पाँचतारे स्तरको हो । काठमाडौं बाहिर ८० कोठाभन्दा बढी क्षमतका होटल पाँचतारेमा वर्गीकरण हुन्छन् ।

भैरहवा–लुम्बिनी सडकमा रहेको पवन प्यालेस करीब तीन बिघा क्षेत्रफलमा फैलिएको होटल हो । करिब २ अर्ब रुपैयाँ लगानी भएको यो होटल २०७५ बाट सञ्चालनमा ल्याएको थियो ।

राजीव बेरिवालसँगको सहकार्यमा हलुवाइले पवन प्यालेस सञ्चालमा ल्याएका थिए । पवनका व्यवसायिक साझोदार बोरिवाल भैरहवामै प्लाइउड र सीसा उद्योग सञ्चालन गरेर बसेको व्यवसायी हुन् ।

होटलको सम्पूर्ण स्वामित्व लिएका सुवास ऊर्जा, हेलिकप्टर तथा इन्स्योरेन्स व्यवसायी हुन् । अमात्य रिभरफल्स पावर लिमिटेडका अध्यक्ष हुन् ।