सिंगापुरका वैज्ञानिकहरूले पानीको थोपाबाट निकाले बिजुली, स्वच्छ ऊर्जातर्फ नयाँ पाइला

364
Shares


नेशनल युनिभर्सिटी अफ सिंगापुरका वैज्ञानिकहरूले ट्युबबाट झरिरहेका पानीका थोपाबाट १२ वटा एलईडी बल्बहरू बालेका छन् ।

यो परीक्षण सफल भएपछि भविष्यमा वर्षाको समयमा झरिरहेको पानीको थोपा जम्मा गरेर बिजुली निकाल्न सकिने आशा वैज्ञानिकहरूले गरेका छन् ।

दुईवटा पदार्थ सम्पर्कमा आउँदा घर्षण भएर विद्युतीय ऊर्जा उत्पन्न हुने भौतिकशास्त्रको सिद्धान्तलाई अपनाएर यसको परीक्षण गरिएको हो ।

जसरी बेलुनलाई छालामा रगड्दा स्थिर विद्युत् निस्कन्छ, त्यसैगरी कुनै सतहमा पानी बग्दा विद्युतीय चार्ज उत्पन्न हुन्छ ।

ठाडो ट्युबमा पानी खस्दा पानीको प्रवाहको विशिष्ट संरचनालाई उपयोग गरी उल्लेख्य मात्रामा बिजुली निकाल्न सकिने अनुसन्धानमा संलग्न वैज्ञानिक स्योलिङ सोहले लेखे ।

यसलाई प्लग फ्‌लो भनिन्छ । यस प्लग फ्‌लो प्याटर्नले वर्षाको ऊर्जालाई स्वच्छ र नवीकरणीय विद्युत् निकाल्नका लागि उपयोग गर्न सकिन्छ ।

सामान्यतया बगिरहेको पानीलाई टर्बाइन घुमाएर बिजुली निकाल्ने गरिएको छ । तर नदी जस्ता ठूलो मात्रामा पानी बग्ने स्रोतबाट मात्र बिजुली निकाल्न सकिन्छ ।

तर सिंगापुरका वैज्ञानिकहरूले पत्ता लगाएको विधिबाट सानो मात्रामा रहेको पानीबाट पनि बिजुली निकाल्न सकिने भएको छ । नदीको दोहन नगरिकनै बिजुली निकाल्दा वातावरणीय क्षति पनि हुन पाउँदैन ।

Skip This