बजेटमा प्रस्तावित राजस्व वृद्धिको लक्ष्य पूरा हुन्छः अर्थमन्त्री पौडेल


काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षमा राजस्व वृद्धिको लक्ष्य पूरा हुने आत्मविश्वास रहेको बताएका छन् ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले राजस्वको अनुमान गर्दा चालु आर्थिक वर्षको तुलनामा ४१ प्रतिशतसम्म वृद्धि हुन्छ भन्ने अनुमान गरेर बजेट निर्माण गरेको विगतको अनुभव रहेको स्मरण गरे ।

उनले चालु आर्थिक वर्षको सन्दर्भमा ३१ प्रतिशतले राजस्व वृद्धि हुने विश्वासका साथ प्रस्तुत गरेको समेत स्मरण गरे । उनले विगतको पृष्ठभूमि र अनुभवका आधारमा आगामी आर्थिक वर्षको बजेटमा राजस्वको सम्बन्धमा प्रस्ताव गर्दा चालु आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा १७ प्रतिशत मात्रै राजस्व वृद्धिको लक्ष्य राखिएको बताउनु भयो । उहाँले १७ प्रतिशतको राजस्व वृद्धिको लक्ष्य हुने विश्वास रहेको दोहोर्‍याए ।

‘राजस्वको अनुमान गर्दा चालु आर्थिक वर्षको तुलनामा ४१ प्रतिशतसम्म राजस्व वृद्धि हुन्छ भन्ने अनुमान गरेर बजेट निर्माण गरेको विगतको अनुभव छ ।

चालु आर्थिक वर्षको कुरा गर्दा हामीले ३१ प्रतिशतको वृद्धि हुन्छ भनेर बजेट प्रस्तुत गर्‍यौं । यस पृष्ठभूमिमा मैले बजेटमा राजस्वको सम्बन्धमा प्रस्ताव गर्दा चालु आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा १७ प्रतिशत मात्रै राजस्व वृद्धिको लक्ष्य राखेको छु । १७ प्रतिशतको राजस्व वृद्धिको लक्ष्य पूरा हुन्छ, पूरा गर्न सकिन्छ भन्ने आत्मविश्वासको साथमा मैले प्रस्ताव गरेको छु’ उनले भने ।

आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरिएको बजेटमा स्रोतको प्रस्ताव यथार्थपरक र कार्यान्वयन हुने प्रकृतिको हुनुपर्छ भन्नेमा आफू होसियार भएको बताए ।

लामो समयदेखि बजेट यथार्थपरक नरहेको, कार्यान्वयन हुन नसकेको र बजेटप्रतिको विश्वसनीयता कमजोर भएको भन्ने आलोचनाहरू सुन्दै आएको बताए । अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेटमा स्रोतको प्रस्ताव गर्दा उक्त प्रस्ताव यथार्थपरक हुनुपर्छ भन्ने कुरामा आफू धेरै होसियार भएको जिकिर गरे ।

उनले राजस्व परिचालन, अन्तर्राष्ट्रिय सहयोग र आन्तरिक ऋणको पक्ष आफू संवेदनशील रहेको समेत बताए।

‘आगामी आर्थिक वर्षको लागि प्रश्तुत गरिएको बजेटमा अर्थमन्त्री सबैभन्दा बढी के कुरामा होशियार भएको हो भने, यो प्रस्तावित विनियोजन मात्रै होइन, स्रोतको प्रस्ताव पनि यथार्थपरक हुनुपर्छ, कार्यान्वयन हुनुपर्ने प्रकृतिको हुनुपर्छ । किनभने, लामो समयदेखि बजेट यथार्थपरक नरहेको, कार्यान्वयन हुन नसकेको र बजेटप्रतिको विश्वसनीयता कमजोर भएको भन्ने प्रकृतिको आलोचनाहरू सुन्दै आएका छौँ । बजेटले स्रोतको प्रस्ताव गर्दा त्यो स्रोतको प्रस्ताव यथार्थपरक हुनुपर्छ भन्ने कुरामा म धेरै होसियार छु । स्रोतको सन्दर्भमा कुरा गर्दा ३ वटा पक्ष: राजस्व परिचालन, अन्तर्राष्ट्रिय सहयोग र आन्तरिक ऋणको पक्ष ।’
उनले विगतमा राजस्वको लक्ष्य पूरा भएर राजस्वसँग संवद्ध कर्मचारीहरूलाई अर्थ मन्त्रालयमा बोलाएर गरेर चकलेट बाँडेको अनुभव रहेको समेत सुनाए ।