
काठमाडौं । नेपालले तेस्रो मुलुक बंगलादेशमा पहिलोपटक व्यावसायिक रुपमा विद्युत निर्यात थालेको छ । असार १ गते देखि बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गर्दै नेपालको ऊर्जा क्षेत्रले महत्वपूर्ण फड्को मारेको ऊर्जा मन्त्री दीपक खड्काले बताए।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका अनुसार पाँच महिनाको अवधिमा (जुन १५ देखि नोभेम्बर १५ सम्म) नेपालले बंगलादेशमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत आपूर्ति गर्नेछ । यसवापत नेपालले ९४ लाख अमेरिकी डलर अर्थात् करीब एक अर्ब २९ करोड नेपाली रुपैयाँ आम्दानी गर्नेछ।
त्रिपक्षीय सहकार्यअन्तर्गत २०८१ असोज १७ गते भारत, बंगलादेश र नेपालबीच विद्युत व्यापारको सम्झौता भएको थियो । ऊर्जा मन्त्री दीपक खड्काको उपस्थितिमा भारतका विद्युत मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा सल्लाहकार मोहमद फोजुल किवर खानबीच ४० मेगावाट विद्युत बिक्री सम्झौता भएको हो ।
बंगलादेशमा निर्यात भईरहेको विद्युत ४०० केभी प्रसारण लाइनमार्फत ढल्केबर–मुजफ्फरपुर–वेहरामपुर हुँदै भेडामारा (बंगलादेश) सम्म पुग्ने छ । निर्यात हुने विद्युतमध्ये १८.६० मेगावाट त्रिशुली जलविद्युत आयोजनाबाट र २१.४० मेगावाट चिलिमे जलविद्युत आयोजनाबाट उत्पादन गरिएको हो । नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट ६.४० अमेरिकी सेन्टमा विद्युत बिक्री गर्दैछ।
यससँगै नेपालले भारतमा पनि विद्युत निर्यात विस्तार गरेको छ । जुन १ (जेठ १८) देखि हरियाणा राज्यमा १८५ मेगावाट विद्युत निर्यात गर्दै आएको प्राधिकरणले जेठ ३१ देखि २०० मेगावाट पुर्याएको छ। यस्तै, जुन १५ (असार १) बाट बिहार राज्यमा पनि ८० मेगावाट विद्युत निर्यात सुरु गरिएको छ।
सरकारले सार्वजनिक गरेको ऊर्जा विकास मार्गचित्रअनुसार नेपालले सन् २०३५ सम्ममा २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । यसमध्ये भारतमा १० हजार मेगावाट र बंगलादेशमा ५ हजार मेगावाट निर्यात गर्ने योजना छ।
ऊर्जा निर्यातको शुरुवातसँगै नेपालले ऊर्जा क्षेत्रलाई समृद्धिको मूल आधार बनाउने दिशामा ठोस पाइला चालेको मन्त्रालयले जनाएको छ।








प्रतिक्रिया