
काठमाडौं । विश्वका अर्बपतिहरू आफ्नो सम्पत्ति सिंगापुरमा राख्न होडबाजी गरिरहेका छन् ।
गत साल टिकटकका संस्थापक चाङ यिमिङले आफ्नो कार्यालय सिंगापुर सारेका थिए । उनीसँगै चीनका अन्य २० जना अर्बपतिहरूले पनि सिंगापुरलाई आफ्नो गन्तव्य बनाउन थालेका छन् ।
त्यस्तै अमेरिकी अर्बपतिहरू सर्गे ब्रिन, जेम्स डाइसन र रे डालियोले पनि सिंगापुरमा सम्पत्ति राख्न थालेका छन् । धनाढ्यहरूले आफ्नो सम्पत्ति सिंगापुरमा राख्न खोज्नुमा सातवटा कारण रहेका छन् ।
पहिलो कारण सिंगापुरको प्रशंसनीय कर प्रणाली हो । आजको दिनमा सिंगापुरमा ५ लाख डलर कमाउने प्रविधि कम्पनीको मालिकले जम्मा ९८ हजार कर तिर्छ । तर, अमेरिकाको क्यालिफोर्नियामा त्यति पैसा कमाउँदा २ लाख २५ हजार डलर कर तिर्नुपर्छ । लन्डनमा त्यति कमाइमा २ लाख ३७ हजार डलर र बर्लिनमा २ लाख ७५ हजार डलर कर तिर्नुपर्छ ।
सिंगापुरले सस्तो कर उठाउनु कुनै दैवसंयोग हैन । यो उसको ६० वर्षे रणनीतिको एक हिस्सा हो ।
डीबीएस बैंकका अध्यक्ष पिटर सियाहले यस विषयमा सटीक टिप्पणी गरेका छन् । उनका अनुसार, सिंगापुरले करको दर सानो बनाएको मात्र हैन । उसले करमा कुनै चलखेल पनि गर्ने गरेको छैन । भूतप्रभावी कर लगाइँदैन । करको दरमा अचानक परिवर्तन गरिँदैन । राजनीतिक नेतृत्वको सनकमा करको दर बढ्दैन ।
करको सानो दर भन्दा पनि यस्तो अनुमानयोग्यताले विदेशीहरूको सम्पत्ति सिंगापुरतर्फ आकर्षित हुन्छ ।
दोस्रो कारण सिंगापुरको बैंकिङ प्रणाली हो । सन् २००९ मा स्विस बैंकहरूले गोप्यता कायम गरेर पाएको सुविधा गुमाए । त्यसपछि सिंगापुरको मौद्रिक प्राधिकरणले यसमा एउटा अवसर देख्यो ।
उसले अन्तर्राष्ट्रिय नियमको पालना गर्ने गरी ग्राहकको गोपनीयताको संरक्षण गर्ने प्रणाली विकसित गर्यो । त्यसको परिणामस्वरूप सिंगापुरले सन् २०२३ सम्ममा ३५ खर्ब डलर बराबरको सम्पत्ति व्यवस्थापन गर्न सक्यो ।
तेस्रो कारण राजनीतिक स्थिरता हो । सन् २०१९ मा हङकङमा सरकारविरोधी प्रदर्शन हुँदा सिंगापुर शान्त रह्यो । त्यसपछि एसियाकै इतिहासमा सबभन्दा ठूलो सम्पत्ति प्रवासन भयो । २० भन्दा बढी चिनियाँ अर्बपतिहरूले आफ्नो कार्यालय हङकङबाट सिंगापुरतर्फ सारे । आखिर, सुरक्षा कायम हुँदा नै सम्पत्तिका विषयमा ढुक्क हुन सकिन्छ ।
यो कुरा संख्याले नै बताउँछ । सन् २०१९ देखि २०२३ सम्म हङकङले ५६ अर्ब डलर बराबरको पुँजी गुमायो भने सिंगापुरले ६७ अर्ब डलर बराबरको पुँजी लाभ गर्यो । कुल १५ सय कम्पनीहरू त्यहाँ सरे र ५ हजार करोडपतिहरू त्यहाँ बस्न गए ।
चौथो कारण सिंगापुरको भौगोलिक अवस्थिति हो । त्यहाँको चांगी विमानस्थलले संसारभरिका ४०० शहरलाई जोड्छ । सिंगापुरको बन्दरगाहले वार्षिक रूपमा ३ करोड ७५ लाख कन्टेनरहरूको व्यवस्थापन गर्छ ।
सिंगापुरकै नियन्त्रणमा हिन्द महासागर र प्रशान्त महासागरलाई जोड्ने मलक्का जलसंयोजक रहेको छ र त्यसमार्फत विश्व व्यापारको ४० प्रतिशत कारोबार हुन्छ । यसरी सिंगापुरले आफ्नो रणनीतिक अवस्थितिको भरपूर लाभ उठाएको छ ।
पाँचौं कारण सिंगापुरको कानुनी शक्ति हो । सिंगापुका प्रधानन्यायाधीश सुन्दरेश मेननले कानुनी प्रणालीमा सुधार ल्याएका छन् । अहिले अदालतमा चलिरहेका मुद्दाहरू किनारा लाग्न जम्मा ६ महिना लाग्छ । कानुनी सम्झौताहरू ९५ प्रतिशत पालन गरिन्छन् । अन्तर्राष्ट्रिय कम्पनीहरू आजभोलि लन्डनको अदालतको साटो सिंगापुरको अदालतमा गएर विवाद निरूपण गराउन थालेका छन् ।
छैटौं कारणका रूपमा प्रतिभालाई प्रोत्साहन रहेको छ । डिजिटल विकास तथा सूचनामन्त्री जोसेफिन टियोले सन् २०२० मा टेक पास नामक पहल आरम्भ गरेकी थिइन् । त्यसअन्तर्गत वर्षको २ लाख ५० हजार डलर कमाउने, ५ वर्षको कार्य अनुभव भएको र प्रविधिको क्षेत्रमा प्रमुख उपलब्धि हासिल गरेको कम्पनीलाई सिंगापुरमा व्यापारका लागि निम्तो गरिएको थियो । त्यो घोषणाको २ वर्षभित्र १०० वटा प्रविधि कम्पनीले आफ्नो स्टार्टअप त्यहाँ लगेका थिए ।
नेशनल युनिभर्सिटी अफ सिंगापुरले एमआईटी, स्ट्यानफोर्ड, चिङ्हवा र क्याम्ब्रिज लगायतका अग्रणी विश्वविद्यालयहरूसँग साझेदारी गर्ने गरेको छ । प्रत्येक वर्ष २५ सय जनशक्ति श्रमबजारमा प्रवेश गर्ने गरेका छन् । कम्पनीहरूले प्रतिभालाई नै पछ्याउने हुन् । गुणस्तरीय शिक्षाले नै प्रतिभा जन्माउने हो ।
सातौं कारण सिंगापुरको उच्च जीवनस्तर हो । त्यहाँको शहरी विकास प्राधिकरणले बनाएको गुरुयोजनाले ९५ प्रतिशत घरहरू पार्क नजिक बनाइएका छन् र ८० प्रतिशत घरहरू ट्रेन स्टेशन नजिक छन् । १८० माइलको त पार्क कनेक्टर नै छ । सिंगापुरले ‘१५ मिनेट शहर’ बनाएको छ जहाँ सबै सुविधाहरू घरनजिकै पाइन्छन् ।
सिंगापुरका स्वास्थ्यमन्त्री ओङ ये कुङले सन् २०२३ मा सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख भएअनुसार, सिंगापुरले प्रत्येक व्यक्तिको स्वास्थ्य सेवामा २८ सय डलर खर्च गर्ने गरेको छ ।
अहिले अमेरिकाले प्रत्येक व्यक्तिमा १२ हजार ३०० डलर खर्च गर्छ । तर सिंगापुरमा औसत आयु अमेरिकाको भन्दा ४ वर्ष बढी छ । सही तरिकाले योजना बनाउँदा कम लागतमा बढी प्रतिफल पाइन्छ भन्ने उदाहरण सिंगापुरले प्रस्तुत गरेको छ ।
सिंगापुरको आर्थिक विकास बोर्डले सन् २०३० का लागि केही लक्ष्य निर्धारण गरेको छ । ५० वटा युनिकोर्न स्टार्टअप, शत प्रतिशत हरित ऊर्जा, डिजिटल सिंगापुर डलर, एसियाको शीर्ष बायोटेक केन्द्र लगायतका लक्ष्य बनाइएको छ । सिंगापुरीहरू ५० वर्षअगाडिको भिजन लिएर हिँडेका छन् ।
सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङले सन् २०२४ को जनवरी महिनामा कृत्रिम बुद्धिमत्ता (एआई) को विकासका लागि ५ अर्ब डलर, क्वान्टम कम्प्युटिङका लागि ३ अर्ब डलर र अन्तरिक्ष प्रविधिका लागि २ अर्ब डलर छुट्ट्याइएको घोषणा गरेका थिए । सिंगापुरले प्रत्येक डलरको उपयोगिताको योजना बनाइसकेको छ ।
यसरी सिंगापुरले अर्बपतिहरूका लागि रोज्जाको गन्तव्यका रूपमा आफूलाई विकसित गरेको छ ।
प्रतिक्रिया