थप जग्गा नकिन्ने भएपछि ‘डबल ट्री बाई हिल्टन’को लागत घट्यो, २ अर्ब ८२ करोडमा बन्ने

4.6k
Shares

काठमाडौं । काठमाडौंको महाराजगञ्जमा निर्माण भइरहेको डबल ट्री बाई हिल्टन पाँच तारे होटलको निर्माण लागत घटेको छ । लालचन ग्रुपको होटल लालचन प्रालिले महाराजगञ्जमा निर्माण गरिरहेको डबल ट्री बाई हिल्टनका लागि थप जग्गा किन्ने योजना रद्द गर्दा होटलको लागत घटेको हो ।

कम्पनीले सुरुमा ३ अर्ब ९० लाख रुपैयाँ लगानीमा निर्माणमा सुविधा सम्पन्न पाँच तारे होटल निर्माण गर्ने भनेको थियो । तर, अहिले उक्त होटलका लागि आवश्यक थप जग्गा किन्ने योजना रद्द गर्दा लागत घटेर २ अर्ब ८२ करोड ४० लाख रुपैयाँमा होटल बनाउने भएको छ ।

होटल निर्माणका लागि कम्पनीले ८० प्रतिशत बैंकबाट र २० प्रतिशत इक्विटीमार्फत् लगानी गर्ने भएको छ । हाल ऋण हिस्सा पूर्ण रुपमा टाइ अप भइसकेको छ । कम्पनीका लगानीकर्ताहरुले मे २०२५ सम्ममा इक्विटीको ५७ प्रतिशत अर्थात् ३२ करोड २० लाख रुपैयाँ योगदान गरिसकेको छ । जसमा अप्रिल २०२५ सम्ममा ६० प्रतिशत वित्तीय प्रगति भइसकेको छ ।

कम्पनीले सुरुमा २०२५ को जुलाईसम्ममा सञ्चालनमा ल्याउने भनिएको थियो । तर, अहिले पुनः रेटिङ गराएर सन् २०२६ को जुलाइसम्ममा सुरु हुने अपेक्षा गरेको छ ।

कम्पनीले महारजगञ्जमा १ लाख ५२ हजार ४८१ स्क्वायरफिट क्षेत्रफलमा होटल निर्माण गरेको हो । होटल १३५ वटा कोठा क्षमताको हुने कम्पनीले जनाएको छ । होटलमा ९ वटा सुईट रुम, ९ वटा जुनियर रुम र १७७ वटा स्यान्डर्ड कोठाको सुविधा हुनेछ ।

होटल निर्माणका लागि कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब २५ करोड ९४ लाख रुपैयाँको रेटिङ गराएको छ । होटलमा फुड र बेभरेजको सेवा, स्वीमिङ पुल, कन्फरेन्स र बैंङ्क्वेट सुविधा, स्पा सेवासहित अन्य सुविधा उपलब्ध हुनेछन् ।

सन् २०१८ मा दर्ता भएर सन् २०२० मा होटल निर्माण सम्झौता गरेको कम्पनीले ४ वर्षमा निर्माण सम्पन्न गर्ने र व्यवसायिक परिचालन स्थिरताका लागि थप दुई/तीन वर्ष लाग्ने जनाएको छ ।

लालचन ग्रुपले विगत लामो समयदेखि विभिन्न क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएको छ । कम्पनीको अध्यक्ष सोमबहारदुर लालचन हुन् । उनी विभा एग्रो प्रालि र बेभर्ली हिल प्रालिको लगानीकर्ता पनि हुन् ।

कम्पनीले हिल्टन वल्डवाइड म्यानेज लिमिटेडसँग व्यवस्थापनको सम्झौता गरेर नेपालमा सन् २०२० मा फ्रेन्चाइज भित्र्याएको हो । हिल्टन वल्डवाइड म्यानेजको विश्वभर हस्पिटालिटी कम्पनी र मध्यमदेखि लक्जरियस लजिङको सुविधा दिँदै आएको छ ।

कम्पनीले पहिलो पटक सन् १९२५ मा अमेरिकाको टेक्सासबाट होटल सञ्चालनमा ल्याएको थियो । अहिले कम्पनीको विश्वका १२३ वटा देशमा ७ हजार २९५ वटा होटल सञ्चालनमा छन् । कम्पनीले विभिन्न २२ वटा ब्राण्डमा होटल सञ्चालन गर्दै आएको छ ।

कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्दै सन् २००७ बाट होटलको कोठाको सुविधा ३६ प्रतिशतले बढाएको छ भने १२ सय बढी होटल सञ्चालनमा ल्याएको छ । सो अवधिमा ७७ वटा देशमा व्यवसाय रहेकोमा अहिले १२३ वटा देशमा विस्तार भएको छ ।