महाराजगञ्जमा ३ अर्ब लगानीमा बनिरहेको छ ५ तारे होटल ‘डबल ट्री बाई हिल्टन’ २०२५ जुलाईसम्ममा सञ्चालनमा आउने



काठमाडौं । काठमाडौंको महाराजगञ्जमा ३ अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल निर्माण भइरहेको छ । लालचन ग्रुपको होटल लालचन प्रालिले महाराजगञ्जमा ‘डबल ट्री बाई हिल्टन’ होटल ३ अर्ब ९० लाख रुपैयाँ लगानीमा निर्माण गरिरहेको हो ।

कम्पनीले महारजगञ्जमा १ लाख ५२ हजार ४८१ स्क्वायरफिट क्षेत्रफलमा होटल निर्माण गरेको हो । होटल १३५ वटा कोठा क्षमताको हुने कम्पनीले जनाएको छ । होटलमा ९ वटा सुईट रुम, ९ वटा जुनियर रुम र १७७ वटा स्यान्डर्ड कोठाको सुविधा हुनेछ ।

होटल निर्माणका लागि कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब ३४ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले होटल निर्माणका लगानीको अनुपात ७५:२५ कायम गरेको छ ।

कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिइ २ अर्ब २५ करोड ७० लाख रुपैयाँ लगानी गर्ने भएको छ भने ७५ करोड २० लाख रुपैयाँ इक्वीटीबाट लगानी गरी होटल निर्माण हुने भएको हो । हालसम्म यसबापतको ३२ करोड २० लाख रुपैयाँ लगानी भइसकेको छ । होटलमा फुड र बेभरेजको सेवा, स्वीमिङ पुल, कन्फरेन्स र बैंङ्क्वेट सुविधा, स्पा सेवासहित अन्य सुविधा उपलब्ध हुनेछन् ।

सन् २०१८ मा दर्ता भएर सन् २०२० मा होटल निर्माण सम्झौता गरेको कम्पनीले ४ वर्षमा निर्माण सम्पन्न गर्ने र व्यवसायिक परिचालन स्थिरताका लागि थप दुई/तीन वर्ष लाग्ने जनाएको छ । उक्त होटल सन् २०२५ को जुलाईबाट सञ्चालनमा ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ ।

लालचन ग्रुपले विगत लामो समयदेखि विभिन्न क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएको छ । कम्पनीको अध्यक्ष सोमबहारदुर लालचन हुन् । उनी विभा एग्रो प्रालि र बेभर्ली हिल प्रालिको लगानीकर्ता पनि हुन् ।

कम्पनीले हिल्टन वल्डवाइड म्यानेज लिमिटेडसँग व्यवस्थापनको सम्झौता गरेर नेपालमा सन् २०२० मा फ्रेन्चाइज भित्र्याएको हो । हिल्टन वल्डवाइड म्यानेजको विश्वभर हस्पिटालिटी कम्पनी र मध्यमदेखि लक्जरियस लजिङको सुविधा दिँदै आएको छ ।

कम्पनीले पहिलो पटक सन् १९२५ मा अमेरिकाको टेक्सासबाट होटल सञ्चालनमा ल्याएको थियो । अहिले कम्पनीको विश्वका १२३ वटा देशमा ७ हजार २९५ वटा होटल सञ्चालनमा छन् । कम्पनीले विभिन्न २२ वटा ब्राण्डमा होटल सञ्चालन गर्दै आएको छ।

कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्दै सन् २००७ बाट होटलको कोठाको सुविधा ३६ प्रतिशतले बढाएको छ भने १२ सय बढी होटल सञ्चालनमा ल्याएको छ । सो अवधिमा ७७ वटा देशमा व्यवसाय रहेकोमा अहिले १२३ वटा देशमा विस्तार भएको छ ।


क्लिकमान्डु