
दोस्रो विश्वयुद्धको अन्त्यलगत्तै एकातिर पुँजीवादी अमेरिका र अर्कोतिर कम्युनिस्ट सोभियत संघको खेमाबीच शीतयुद्ध चलिरहेको थियो । दुवै खेमाले संसारका विभिन्न मुलुकलाई आफ्नो प्रभावमा पार्ने प्रयास गरेका थिए ।
सन् १९६० को दशकको आरम्भमा शीतयुद्ध चरममा पुगेको बेलामा अमेरिकाले क्युबालाई आफ्नो विचारधारात्मक शत्रु र सुरक्षा जोखिमका रूपमा लिने गर्थ्यो । त्यस दशकको आरम्भमा अमेरिकाले क्युबाली मूलका व्यक्तिहरूको सहयोग लिएर क्युबामाथि आक्रमणको प्रयास गरेको थियो । बे अफ पिग्स नाम दिइएको उक्त आक्रमणमा अमेरिकाले बेइज्जतीपूर्ण हार बेहोरेको थियो ।
त्यसको केही समयपछि अमेरिकी सञ्चारमाध्यमहरूले ठूला लोकतान्त्रिक मुलुकका साना छिमेकीलाई क्युबालाई जस्तो गरी वर्णन गर्ने गरेका थिए । विशेषगरी कम्युनिस्ट शासन चलाउन खोजेका वा ठूला कम्युनिस्ट शक्तिसँग नजिकिन खोजेका मुलुकलाई क्युबा भन्ने गरिन्थ्यो । त्यस सन्दर्भमा अमेरिकी सञ्चारमाध्यमहरूले नेपाल र श्रीलंकालाई भारतको क्युबा भन्ने गरेका थिए ।
अमेरिकाको तत्कालीन जोन एफ केनेडी प्रशासनले जवाहरलाल नेहरु नेतृत्वको लोकतान्त्रिक भारतलाई मित्रका रूपमा हेरेको थियो र नेपाल अधिराज्यलाई कम्युनिजमतर्फ ढल्किरहेको मुलुकका रूपमा लिने गरेको थियो । युनाइटेड प्रेस इन्टरनेशनल नामक समाचार संस्थाका विदेश संवाददाता प्याट्रिक जे किलेनले नेपाललाई भारतको क्युबा र दाह्री नपाल्ने गैरकम्युनिस्ट राजालाई भारतका लागि फिडेल क्यास्त्रोका रूपमा वर्णन गरेका थिए ।
किलेनले एसियामा ३० वर्षसम्म काम गरेका थिए । उनले नेपाल चिनियाँ खेमातिर ढल्किन थालेकाले भारत र नेपालको सम्बन्ध द्रुत गतिमा बिग्रिरहेको लेखे । ‘केही वर्षअघि नेपाल अग्ला पर्वत (सगरमाथा), यति र गोर्खा सैनिकहरूका लागि प्रख्यात थियो,’ किलेनले सन् १९६२ को फेब्रुअरीमा लेखे । ‘अहिले यसका ९५ लाख मानिस आफ्नो मुलुक शीतयुद्धका दुई ठूला शक्ति भारत र चीनबीच च्यापिएको ठान्छन्,’ उनले थपे ।

सन् १९६० को मार्च महिनामा नेपालका प्रधानमन्त्री बीपी कोइरालाले चीनको राजधानी पेकिङ (बेइजिङ) भ्रमण गरेका थिए । त्यसको एक वर्षपछि नेपाल र चीनले सबै सीमाविवाद टुंग्याएका थिए ।
‘लगभग सबै भारतीयहरूले बीपी कोइरालाप्रति सदाशयता देखाएको भए पनि उनले नेपाललाई तटस्थताको बाटोमा डोहोर्याए,’ किलेनले लेखे ।
तर अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा सफल भएका बीपी कोइरालालाई राजा महेन्द्रले कूमार्फत सत्ताच्युत गरी र कैदमा राखे । राजाले संविधान खारेज गरे, संसद् भंग गरे, राजनीतिक दलमाथि प्रतिबन्ध लगाए र पञ्चायत प्रणाली ल्याएर शासनसत्ता आफ्नै हातमा लिए ।
नेहरुले लोकतन्त्रको हरण भएमो भनी बिलौना गर्दा नेपाल रिसायो र त्यसका विरुद्ध आधिकारिक रूपमा कठोर प्रतिक्रिया जनायो । ‘नेपाली विद्यार्थीहरूले जनवरी महिनामा काठमाडौंमा रहेको भारतीय दूतावासअगाडि प्रदर्शन गरे र नेहरुको पुत्ला पनि जलाए,’ किलेनले लेखे ।
सन् १९२६ मा जनवरी महिनामा नेपाली कांग्रेसका सदस्य दुर्गानन्द झाले राजा महेन्द्र चढेको जीपमा बम प्रहार गरी हत्याको प्रयास गरेपछि नेपालमा कतिपयले त्यसका लागि भारतलाई दोष लगाए । यसले दिल्ली र काठमाडौंबीचको सम्बन्धलाई निकै चिस्यायो ।
‘नयाँ दिल्लीमा रहेका विश्लेषकहरूले नेपाल र भारतबीचको यो फाटो सन् १९४७ पछिकै सबभन्दा नराम्रो भनेका छन्,’ किलेनले लेखे, ‘नेपालले चीनसँग मित्रता बढाइरहेकाले आफूसँगको सम्बन्ध चिसिएको भारतीयहरूको दृष्टिकोण छ । उता, नेपालीहरू पनि आफ्नो अन्तर्राष्ट्रिय मामिलामा भारतले नचाहिँदो चासो देखाएको भन्छन् ।’
आफ्नो आन्तरिक मामिलामा भारतले हस्तक्षेप गरेको भनी नेपालले व्यक्त गरेको चिन्ता त्यतिखेरदेखि अहिलेसम्म पनि उस्तै छ । भारतले आफ्नो सानो छिमेकीमाथि ठूलदाइको जस्तो व्यवहार गरेको कुरा किलेनले पनि स्वीकार गरेका थिए ।
राजा महेन्द्रले चीन भ्रमण गरेपछि नेपाल अब भारतको क्युबा हुने भयो भनी भारतले चिन्ता व्यक्त गरेको थियो । चीनमा राजा महेन्द्रले ल्हासाबाट काठमाडौंसम्म आउने सडक बनाउन चिनियाँहरूले सहयोग गर्ने घोषणा गरेका थिए ।
‘यस घोषणाले भारतलाई निकै झस्कायो,’ किलेन लेख्छन्, ‘यसले नेपाल र भारतबीचको सन्धिलाई उल्लंघन गरेको भनी भारतीय पत्रपत्रिकाले लेखे । सन्धिअनुसार नेपाल र भारत सरकारले तेस्रो मुलुकसँग सम्झौता गर्दा एकअर्कालाई अनिवार्य खबर गर्नुपर्ने हुन्छ ।’
ल्हासा–काठमाडौं सडक बनेपछि आयातका लागि नेपालले भारतप्रतिको निर्भरता घटाउने चिन्ता नयाँ दिल्लीले लिएको पत्रकार किलेन लेख्छन् । किलेनसँग अफ द रेकर्ड कुरा गर्दै एक भारतीय अधिकारीले भने, ‘हामी भारतीयसँग जस्तै गरी चिनियाँहरूसँग डील गर्न सक्छौं भन्ठान्छन् यी नेपालीहरू । तर चिनियाँहरू निकै बाठा छन् भन्ने कुरा यिनीहरूलाई थाहै छैन ।’
कतिपय भारतीय सञ्चारमाध्यमहरूले काठमाडौंमा चिनियाँ उपस्थितिका विषयमा चिन्ता व्यक्त गर्दै सामग्री प्रकाशन गरेका थिए । हिन्दुस्तान टाइम्सका तत्कालीन सम्पादक श्रीकृष्ण मूलगाँवकरले सन् १९६२ मा नेपाल भ्रमण गरेपछि लेखेको सामग्रीमा काठमाडौंस्थित चिनियाँ दूतावासमा आवश्यकताभन्दा बढी कर्मचारीहरू रहेको उल्लेख गरेका थिए ।
भारतले खासै कुनै समस्या नबेहोरिकनै महेन्द्र सरकारलाई सत्ताच्युत गर्न सक्ने र अमेरिकाले क्युबामा सामना गरेको बे अफ पिग्सको जस्तो गरी असफल नहुने विश्वास राखेको भए पनि उनलाई पूरै हटाउन नसक्ने भनी चिन्ता व्यक्त गरेको किलेन लेख्छन् ।
‘भगवान् विष्णुको अवतारका रूपमा राजा महेन्द्र निकै लोकप्रिय छन् र उनी देशका विविध जातजातिलाई एकताबद्ध राखिराख्न सक्ने व्यक्ति हुन् । उनी कम्युनिस्ट हैनन् तर उनलाई हटाइएमा कम्युनिस्टहरू हावी हुन सक्छन् भन्ने धारणा भारतले राखेको थियो,’ किलेन थप्छन् ।
किलेनले यस्तो लेखेको ४६ वर्षपछि राजतन्त्र ढल्यो तर नेपाल र भारतको सम्बन्धमा चिसोपन आए पनि अमेरिका र क्युबाबीचको जस्तो गरी सम्बन्ध बिग्रेन ।
(द स्क्रोल अन्लाइन म्यागजिनमा प्रकाशित अजय कमलकरणको लेखका नेपालसम्बन्धी भाग मात्रलाई क्लिकमान्डुका लागि विन्देश दहालले अनुवाद गरेका हुन् ।)










प्रतिक्रिया