दुई कार्यकाल मेयरपछि संसद ताकेकी रणु दाहाल, चितवन–३ ले पत्याउला ?

77
Shares

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएकी रेणु दाहालका कारण चितवन–३ चर्चामा छ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को छोरीसमेत रहेकी दाहालले करिब दुई कार्यकाल भरतपुर मेयर पदको भूमिका निर्वाह गरेर प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएकी हुन् ।

२०७४ सालमा दाहालले भरतपुरको मेयर जित्दा नेपाली कांग्रेससँग तत्कालीन माओवादी केन्द्रले गठबन्धन गरेको थियो । कांग्रेसकै समर्थन हुँदा पनि मेयर जित्न कठिन परेर मतपत्र च्यातिएको चर्चा अहिलेसम्म पनि गरिन्छ । सो समयमा मतपत्र च्यातिएको वडामा पुनः निर्वाचन हुँदा झिनो अन्तरले रेणु मेयरमा निर्वाचित भएकी थिइन् ।

तर, २०७९ मा दोस्रोपटक मेयर जित्दा भने उनले १३ हजार मतान्तरको सहज जित निकालेकी थिइन् । यद्यपि, सो कार्यकाल पूरा गर्न नपाउँदै मेयर पदबाट राजीनामा दिएर दाहालले यही फागुन २१ को निर्वाचनमा उम्मेदवारी दिएकी छन् ।

नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेकी दाहालसँग राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक थापा मगर र नेपाली कांग्रेसका तर्फबाट टेकप्रसाद गुरुङ प्रतिस्पर्धामा छन् ।

नेकपा एमालेका तर्फबाट शंकरराज थपलिया, उज्यालो नेपाल पार्टीका तर्फबाट डम्बरबहादुर तामाङ पनि प्रतिस्पर्धामा छन् ।

चितवन–३ मा २०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेले ३५ हजार ५५ मत ल्याएर विजयी हुँदा नेकपा माओवादी केन्द्रका भोजराज अधिकारीले २५ हजार ८२२ मत प्राप्त गरेका थिए ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका जीता बरालले १४ हजार ८४२ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १२ हजार २७५ मत प्राप्त गरेका थिए ।

२०७९ को निर्वाचनमा चितवन–३ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले २८ हजार ४०१ मत, राप्रपाले १६ हजार ७५५ मत, नेकपा माओवादी केन्द्रले १६ हजार ९० मत र एमालेले १४ हजार ५२२ मत प्राप्त गरेका थिए । यस समयमा नेपाली कांग्रेसले १० हजार ५२४ मत प्राप्त गरेको थियो ।