युक्रेनको ड्रोन आक्रमणपछि दनदनी बल्यो रुसका तेल प्रशोधन केन्द्र


एजेन्सी । बिहीबार युक्रेनले रुसका राजधानी मस्कोका विभिन्न स्थानलाई लक्षित गरी गरेको ड्रोन आक्रमणले त्यहाँको एक प्रमुख तेल रिफाइनरीमा भीषण आगलागी गराएको छ ।

यस ठूलो स्तरको हमलापछि सुरक्षा सतर्कता अपनाउँदै मस्कोको विमानस्थलले आफ्ना सबै उडानहरू स्थगित गरेको छ । रुसी सञ्चारमाध्यमहरूका अनुसार, तेल रिफाइनरी नजिकै रहेको मस्कोको मुख्य चक्रपथमा समेत यातायात आवागमन पूर्ण रूपमा ठप्प पारिएको छ ।

रुसी अधिकारीहरूले आफ्नो वायु रक्षा प्रणालीले रातभरमा विभिन्न क्षेत्रहरूमा ५५५ वटा युक्रेनी ड्रोनहरूलाई खसालेको दाबी गरेका छन् । मस्कोका मेयर सेर्गेई सोब्यानिनका अनुसार, केही ड्रोनहरू मस्कोको तेल रिफाइनरीसम्म पुग्न सफल भएका थिए जसले गर्दा त्यहाँ ठूलो क्षति भएको छ ।

रिफाइनरीका अतिरिक्त शहरको एउटा सपिङ सेन्टरमा समेत ड्रोन प्रहारबाट क्षति पुगेको अधिकारीहरूले बताएका छन् । यो आक्रमण रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा प्रणालीगत प्रहार गर्ने चेतावनी दिएको केही समयपछि नै भएको हो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस सैन्य कारबाहीको पुष्टि गर्दै यो रुसी फौजले युक्रेनी समुदायहरूमाथि गरिरहेको निरन्तर हमलाको पूर्ण रूपमा न्यायोचित जवाफ भएको बताएका छन् । उनले यसै साता मस्कोको रिफाइनरीमा युक्रेनले गरेको यो दोस्रो सफल प्रहार भएको जानकारी दिँदै रुसको युद्ध संयन्त्रलाई सहयोग पुर्याउने पूर्वाधारहरूलाई ध्वस्त पार्न सफल भएकोमा आफ्ना रक्षा र गुप्तचर निकायहरूलाई धन्यवाद दिएका छन् ।

युक्रेनी सेनाले मस्कोका अतिरिक्त रोस्तोभ र रुसद्वारा कब्जा गरिएका अन्य क्षेत्रहरूमा पनि आक्रमण गरेको बताइएको छ ।

राष्ट्रपति जेलेन्स्कीले अन्तर्राष्ट्रिय साझेदारहरूले युक्रेनको सटीक र प्रभावकारी प्रहार क्षमताको प्रशंसा गरेको उल्लेख गर्दै अब यो युद्ध अन्त्य गर्ने समय आएको बताएका छन् । उनले रुसलाई कूटनीतिक वार्ताको टेबुलमा आउन बाध्य पार्नका लागि यस्ता सैन्य पूर्वाधारहरूमाथिको आक्रमण आवश्यक रहेकोमा जोड दिएका छन् ।

रुसले पनि पछिल्ला दिनहरूमा युक्रेनको राजधानी किभमा ब्यालिस्टिक मिसाइल र ड्रोनहरू प्रयोग गरी ठूला आक्रमणहरू जारी राखेको छ ।