प्रत्येक दुई वर्षमा औषधिको मूल्य समायोजन गर्न सुझाव

154
Shares

काठमाडौंं । औषधिको मूल्यका विषयमा सुझाव दिन गठित समितिले हरेक प्रत्येक दुई वर्षमा औषधिको मूल्य समायोजन सुझाव दिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई समितिले बुझाएको प्रतिवेदनमा प्रत्येक दुई वर्षमा औषधिको मूल्य समायोजन गर्न सुझाव दिइएको हो ।

मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा समितिका संयोजक डा पोषराज पाण्डेले मन्त्री पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

मन्त्री पौडेलले समय अनुसार औषधिको मूल्य समायोजन गर्नका लागि समिति गठन गरिएको र समितिले दिएको प्रतिवेदनमाथि थप सुझाव लिएर कार्यान्वयनमा लगिने बताएका छन् ।

पौडेलले नागरिकले उचित मुल्यमा प्राप्त गर्ने वातावरण बनाउन तयार पार्न क्रियाशिल रहेको भन्दै प्रतिवेदनलाई पेशागत र व्यवसायिक विषय भए समेटेर कार्यान्वयनमा प्रक्रियागत ढंगले अघि बढ्ने बताए ।

‘हामीले स्वास्थ्यमा सुधार गर्न खोजेको क्षेत्र औषधि पनि हो,’ उनले भने, ‘मूल्यमा आधार नबन्दा समस्या छ । प्रविधिले धेरै कुरा सस्तो पनि बनाएकाले त्यस आधारमा समयसापेक्ष मूल्य निर्धारण महत्वपूर्ण हुन्छ ।’

मन्त्री पौडेलले महँगो मूल्यमा किन्नु परिरहेको छ भने त्यसलाई अन्त्य गर्न खोजिएको भन्दै मूल्यबारे उपभोक्तालाई सुसूचित बनाउने परिस्थिती निर्माण गर्न खोजिएको बताए ।

मन्त्रालयका सचिव डिल्लीराम शर्माले अध्ययन गरेर प्रतिवेदन कार्यान्वयनमा लैजाने बताए ।

संयोजक डा पाण्डेले हरेक दुई वर्षमा औषधिको मूल्य समायोजन गर्न सुझाव दिइएको बताउँदै क्षेत्रगत आधारमा समेत औषधिको मूल्य समायोजन गर्न सुझाइएको बताएका छन् । पाण्डेले छिमेकको अवस्था हेरेर विज्ञ तथा सरोकारवालासँग परामर्शका आधारमा प्रतिवेदन तयार पारेको भन्दै मूल्य पारदर्शी र वैज्ञानिक होस् भन्नेमा जोड रहेको बताए ।

हाल नियमन भैरहेको,अति आवश्यक, आयातित तथा नियमनको दायरामा नपरेकालाई वर्गीकरण गरेर मूल्य समायोजनका लागि समितिले सुझाव दिएको छ । यसैगरी जेनेरिक औषधी सम्बन्धमा समेत समितिले सुझाव दिएको छ ।

मन्त्री पौडेलले आम उपभोक्ताले आवश्यकताभन्दा बढी औषधिको मूल्य तिर्नु नपर्ने गरी काम गर्ने घोषणा गरेका थिए । सोही आधारमा गठित समितिले प्रतिवेदन बुझाएको हो ।