
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले सरकारबाट उर्जा क्षेत्रलाई दुविधामा पार्ने काम भएको बताएका छन् ।
मंगलबार क्लिकमान्डु डटकमले आयोजना गरेको ‘प्रि मनिटरी पोलिसी डिस्कसन’ र विशेष प्रकाशन ‘लञ्च’ को कार्यक्रममा कार्कीले यस्तो बताएका हुन् ।
‘सरकारले उर्जा मार्ग चित्रको कुरा गरेको छ । बत्ती बलेको प्रोजेक्टको जोखिमभार घटाउनुपर्छ भन्ने कुरा हामीले पनि गरेका थियौं भने दुई तीन हजार मेगावाटका थुप्रै आयोजना फाइनान्सीङ चरणमा रहेको कुरा पनि जानकारी गराएका थियौं,’ कार्कीले भने, ‘अहिले बजेटले उर्जा क्षेत्रलाई कता लैजान खोजेको हो भन्न कुरामा दुविधा पारेको छ ।’
उनले सरकारले अहिले मलाई आवश्यक परेमा मात्रै विद्यत् खरिद गर्छु भनेर भनेको बताए । यो कदमले आगामी आयोजनाहरु अगाडि बढ्छन वा बढ्दैनन् भन्ने प्रश्न पैदा भएको उनको भनाइ छ । यस्तो अनिश्चिताको वातावरणमा बैंकहरुले पनि लगानी गर्छन् वा गर्दैनन् भन्ने प्रश्न पैदा भएको उनले बताए ।
‘अब बन्ने आयोजनाका लागि पैसा नै पर्दैन र नयाँ आयोजना बन्दैनन् भन्ने सोचका साथ ल्याइएको नीतिले अर्थतन्त्रमा योगदान पुराएको जलविद्युत् क्षेत्रमा नकारात्मक प्रभाव पर्ने देखिन्छ,’ कार्कीले भने ।
प्रतिक्रिया