
काठमाडौं । पृथ्वीको सबभन्दा सुक्खा ठाउँमा सोलार प्लान्टले हावाबाट पानी निकालिरहेको छ भन्दा तपाईंलाई आश्चर्य लाग्ला । तर यो सत्य हो ।
चिलीको अताकामा मरुभूमिमा वर्षौंसम्म पानी पर्दैन । त्यस्तो सुक्खा बञ्जर ठाउँमा पनि विज्ञानको चमत्कारका रूपमा हावाबाट पानी निकालिएको हो ।
सेरो डोमिनाडोर सोलार प्लान्ट दक्षिण अमेरिकामै पहिलो एकीकृत सौर्य ऊर्जा टावर हो । यसले सौर्य ऊर्जाबाट बिजुली निकाल्ने मात्र नभई पानी समेत सिर्जना गर्दछ । सूर्यको प्रकाशलाई यसले ऊर्जा र पानी दुवै बनाइदिने गरेको छ ।
अकातामा मरुभूमि संसारकै सबभन्दा कठिन र पानीको पूरै अभाव भएको ठाउँ हो । त्यस्तो ठाउँमा पनि सेरो डोमिनाडोरले हावामा रहेको आर्द्रता (मोइस्चर) लाई खिचेर पानी निकालिदिन्छ ।
अकातामामा आर्द्रताको अस्तित्व नभए पनि सौर्य ऊर्जाबाट तातिएका तार र विकिरणयुक्त कूलिङ प्यानलले बाफलाई नियन्त्रणमा लिएर त्यसलाई शुद्ध तथा पिउनयोग्य पानीमा परिणत गरिदिन्छन् ।
प्रत्येक दिन यस सौर्य प्रणालीले प्लान्टको सञ्चालनका लागि आवश्यक पानीको जोहो गरिदिन्छ । त्यति मात्र नभई यसले जमिनमुनिको अमूल्य पानीको दोहन नगरिकनै कृषि परियोजनामा उपयोग हुने जलको प्रबन्ध पनि गर्छ । यसले हावामा भएको पानीको मात्रा नै थोपाथोपा गरेर जम्मा गरिदिन्छ ।
यो सोलार प्लान्टको उत्कृष्टता त्यतिमा मात्र सीमित छैन । सेरो डोमिनाडोरले पग्लेको नूनमा तापलाई भण्डारण गर्ने प्रविधि (मोल्टन सल्ट थर्मल स्टोरेज) को उपयोग गरी घाम अस्ताएको साढे १७ घन्टासम्म पनि बिजुली उत्पादन गरिदिन्छ । यसो गर्दा प्लान्ट वरपरका समुदाय र उद्योगहरूमा नवीकरणीय ऊर्जाको स्रोत सुनिश्चित हुन्छ ।
यी नवप्रवर्तनहरूका कारण सेरो डोमिनाडोर ऊर्जा स्टेसन मात्र हैन । यसले कठिन वातावरणमा समेत सौर्य संरचनाले हासिल गर्न सक्ने उपलब्धिलाई पुनः परिभाषित गरेको छ । नवीकरणीय ऊर्जा प्रणालीहरूले बिजुली निकाल्ने मात्र नभई जीवन नै बचाउने काम पनि गर्छन् भन्ने तथ्यलाई यसले प्रमाणित गरेको छ ।
जलवायु परिवर्तनका कारण विश्वभरि चुनौतीहरू बढिरहेको सन्दर्भमा मरुभूमिमा रहेको यो पावर प्लान्ट दिनमा स्वच्छ ऊर्जा र रातमा सफा पानी उत्पादन गरेर जीवन बचाउनका लागि राम्रो माध्यम बन्न सफल छ । नेपालमा पनि सौर्य ऊर्जाको यस्तो किसिमको उपयोगका लागि पहलकदमी गर्नु जरुरी छ ।
प्रतिक्रिया