
काठमाडौं । बैंकहरुमा लगानीको माग नभएर तरलता लगातार बढ्दै गएपछि राष्ट्र बैंकले ४२ दिन निक्षेप संकलन उपकरण बोलकबोल सुरु गरेको छ । चालु आर्थिक वर्षको सुरुवातबाट नै निरन्तर अधिक तरलताको दबाबमा रहेको बैंकिङ क्षेत्रमा आर्थिक वर्षको अन्त्यतिर पुग्दै गर्दा तरलताको चाप थप बढ्दै गएको छ ।
अधिक तरलताको चाप बढ्दै जाँदा अन्तर बैंक ब्याजदर समेत घट्न लागेपछि राष्ट्र बैंकले लामो अवधिको लागि तरलता प्रशोचन गर्ने औजार प्रयोगमा ल्याएको छ । आइतबार ४२ दिनको लागि २५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।
बैंकिङ प्रणालीमा निक्षेपको तुलनामा कर्जाको वृद्धिदर न्यून हुँदा अधिक तरलताको चाप बढ्दै गएको छ । लगानी हुन नसकेर बैंकहरुले राष्ट्र बैंकमा राखेको तरलता करिब ४ खर्ब पुगेको छ । आइतबार थप २५ अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ४२ दिनको लागि राष्ट्र बैंकले खिच्ने भएको हो ।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भारित औसत अन्तरबैंक ब्याजदर नीतिगत दरको वरिपरी कायम राख्न लक्ष्य लिएको थियो । जसको लागि ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरमा स्थायि निक्षेप सुविधाको व्यवस्था गरेको छ ।
यस्तै निक्षेप संकलन बोलकबोलमार्फत् पनि निरन्तर तरलता खिचिरहेको छ । राष्ट्र बैंकको २२ जेठको तथ्यांकअनुसार केन्द्रिय बैंकले बैकहरुबाट खिचेको तरलता बक्यौता ३ खर्ब ८५ अर्ब ८० करोड छ । आइतबार थप २५ अर्ब तरलता खिच्ने भएको हो ।
राष्ट्र बैंकले चालु आर्थिक वर्ष लागेपछि निक्षेप संकलन बोलकबोल मार्फत २७ खर्ब २५ अर्ब ५० अर्ब तरलता प्रशोचन गरेको छ । त्यस्तै स्थायि निक्षेप सुविधामार्फत १८१ खर्ब २२ अर्ब ३५ करोड गरी कुल २०८ खर्ब ४७ अर्ब ८५ करोड रुपैयाँ पुगेको हो ।
चालु आर्थिक वर्ष लागेपछि निक्षेप करिब साढे ४ खर्ब रुपैयाँले वृद्धि हुँदा कर्जा ३ खर्ब ८० अर्ब रुपैयाँ भन्दा माथिले वृद्धि भएको छ । निक्षेपको तुलनामा कर्जाकोको वृद्धिदर न्युन हुँदा अधिक तलरताको चप बढीरहेको छ ।










प्रतिक्रिया