
काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तरराष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट (एचटीएम)’को पाँचौँ संस्करण आजदेखि होटल सोल्टीमा सुरु भएको छ । तीन दिनसम्म चल्ने यो मार्ट नेपाल पर्यटन बोर्डले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल एयरलाइन्सलगायत अन्य प्रमुख पर्यटन संघ, संस्था र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका साझेदार संस्थासँगको सहकार्य यो मार्ट आयोजना भएको हो ।
मार्टमा ३० भन्दा बढी मुलुकका १०० बढी विदेशी पाहुनासहित पर्यटनकर्मी, सरोकारवाला गरी ७०० प्रतिनिधिको सहभागिता छन । यही जेठ २२ सम्म मार्ट सञ्चालन हुने जनाइएको छ । सो मार्ट अन्तर्गत आज पहिलो दिन ‘माउन्टेन माइलस्टोन र मोमेन्टम’ विषयक सम्मेलन आयोजना गरिएको छ । सो सम्मेलनका वक्ताहरुले पर्यटन उद्योगको विकासका लागि एकीकृत प्रयास र अभ्यासका माध्यमबाट अगाडि बढ्नुपर्नेमा जोड दिए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सीईओ दीपकराज जोशीले नेपालका गन्तव्यलाई विश्वसामु उजागर गर्दै दीगो पर्यटन विकासका लागि मार्ट उपयोगी हुने बताएका छन् । उनले पछिल्लो समय पर्यटनका नयाँ क्षेत्रहरू थपिँदै गएको उल्लेख गरेका छन् । “करिब ३० वर्षअघि नेपालको ग्रामीण क्षेत्र ७० प्रतिशत थियो, तर अहिले यो अनुपात ५०-५० प्रतिशत भएको छ”, सीईओ जोशीले भने, “हामी जति शहरीकरणतर्फ गइरहेका छौँ, पर्यटन त्यति नै प्रकृतिमा आधारित बन्दै गएको छ ।”
सन् २०१७ देखि प्रत्येक वर्षको जुन महिनामा आयोजना हुँदै आएको मार्ट नेपालको प्रमुख अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला हो । कार्यक्रमले विश्वव्यापी पर्यटन र आतिथ्य संस्था, पेसेवर र उद्योगका विविध क्षेत्रमा संलग्न व्यक्तिबीच सम्पर्क सञ्जाल स्थापित गरी व्यावसायिक अवसर प्रदान गर्ने विश्वास गरिएको पाटा नेपालकाे भनाइ छ ।
मार्ट अन्तर्गत सञ्चालित सम्मेलनमा २० भन्दा बढी राष्ट्रिय र अन्तरराष्ट्रिय वक्ताले आध्यात्मिक, साहसिक र ‘लक्जरी’ पर्यटन, दिगो
पर्यटन, समकालीन बजार प्रवृत्ति, वर्तमान मुद्दा र पर्यटनका लागि उदीयमान अवसरबारे साझा दृष्टिकोण प्रदान गर्नेछन् ।
बीटुबी कार्यक्रमअन्तर्गत यसवर्ष मार्टले संयुक्त राज्य अमेरिका, युरोप, अष्ट्रेलिया, दक्षिण अफ्रिका, रसिया तथा सिआइएस राष्ट्रबाट ६० भन्दा बढी क्रेता र नेपाल, भारत, भुटान, चीन, बङ्गलादेश र श्रीलङ्का गरी छ वटा गन्तव्य राष्ट्रबाट सहभागी हुने ६५ बढी बिक्रेता सहभागी हुने बोर्डले जनाएको छ ।
प्रतिक्रिया