बजेट सक्न सरकारले दैनिक १४ अर्ब खर्चनुपर्ने, ६ खर्ब खर्च हुनै बाँकी

175
Shares


काठमाडौं । सरकारले आगामी वर्षको बजेट सार्वजनिक गर्ने दिनसम्ममा चालु आर्थिक वर्षकै बजेट ६६ प्रतिशतभन्दा बढी खर्च गर्न सकेको छैन ।

सरकारले चालु आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको सरकारले अहिलेसम्ममा १२ खर्ब २९ अर्ब २३ करोड रुपैयाँ मात्रै खर्च गर्न सकेको छ । यो खर्चको आधारमा अबको डेढ महिनामा सरकारले ६ खर्ब ३१ अर्ब ६ करोड रुपैयाँ खर्च गर्नुपर्ने छ । यो खर्च आगामी असारमसान्तसम्म दैनिक औषतमा १४ अर्ब २ करोड रुपैयाँका दरले खर्च गर्नुपर्ने हुन्छ।

महालेखा परीक्षकको १५ जेठसम्मको तथ्यांक अनुसार १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको सरकारले अहिलेसम्म ९ खर्ब ६७ अर्ब मात्रै संलकन गर्न सकेको छ । यो खर्च लक्ष्यको ६८ प्रतिशत मात्रै हो ।

यो अवधिसम्ममा सरकारले कर राजस्वबाट ८ खर्ब ७२ अर्ब रुपैयाँ संकलन गरेको छ भने गैर करबाट ९५ अर्ब रुपैयाँ संकलन गरेको छ ।

सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा विनियोजन गरेको चालु खर्च ७१ प्रतिशत अर्थात ८ खर्ब १६ अर्ब रुपैयाँ गरेको छ भने पुँजीगत खर्च ३७ प्रतिशत मात्रै छ । पुँजीगत खर्च १ खर्ब ३० अर्ब रुपैयाँ भएको छ भने यो अवधिसम्ममा वित्तीय व्यवस्थापन खर्च २ खर्ब ८२ अर्ब रुपैयाँ रहेको पनि तथ्यांकले देखाएको छ ।