
काठमाडौं । हेलिकप्टर कम्पनीहरुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले मनसुन सर्कुलर जारी गरेको छ । प्राधिकरणले मनसुन अवधिभरको हेलिकप्टर उडानमा दुई जना पाइलट अनिवार्य राख्नुपर्ने व्यवस्था गरेको छ ।
प्राधिकरणले सबै हेलिकप्टर उडानमा १२ हजार फिटसम्मको लागि दुईजना पाइलट राखेर उडान गर्नुपर्ने गरी सर्कुलर जारी गरेको हो । यस्तो सर्कुलर मौसम पूर्वानूमान महाशाखाले पूर्वानुमान गर्ने गरेको मनसुन अवधिभरको लागि हाे ।
मौसम पूर्वानुमान महाशाखाले करिब ११२ दिन (१३ जुनबाट २ अक्टोबर सम्मलाई)लाई सामान्यतया मनसुनको अवधि मान्ने गरेको छ । कहिलेकाँही यो अवधिभन्दा केही दिन तलमाथि पनि मनसुन रहन सक्ने भएपनि उक्त समयलाई मनसुनकाे अविध मानिन्छ ।
यो अवधिमा जमिनको तल्लो तहसम्म बादल आउने भएकोले आन्तरिक उडानमा बढी सतर्कता अपनाउन लगाउने गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बताए । उनले १२ हजार फिटभन्दा मुनि उडान गर्ने हेलिकप्टरको हकमा २ जना पाइलट अनिवार्य गरिएको बताए ।
उनका अनुसार दुर्घटना न्यूनीकरण गर्न र हेलिकप्टर उडान सुरक्षित बनाउन प्राधिकरणले एउटै पाइलट हुँदा धेरे प्रेसर पर्न सक्ने र दुईजनाले गर्ने निर्णयले हवाई उडान थप व्यवस्थितसहितकाे सुरक्षित उडानमा सहयोग पुर्याउने खोजिएको बताए ।
नेपालको हवाई उड्डयनको इतिहास हेर्दा अधिकांश दुर्घटना मानसुनको समय भएका छन् । सोही कारण पनि एक जना पाइलटले लिने निर्णयभन्दा २ जनाको बढी प्रभावकारी हुन सक्ने निष्कर्ष निकाल्दै प्राधिकरणले हेलिकप्टरको उडानमा २ जना पाइलटल राख्नुपर्ने सर्कुलर जारी गरेको हो ।
प्राधिकरणले रेस्क्यु उडान तथा मेडिकल इभ्यालुएसन उडान, केरुङ र हिल्सा उडानको हकमा भने दुईजना पाइलट राख्नु नपर्ने गरी छुट दिएको छ । यी क्षेत्रमा सहजीकरण गरिदिको प्राधिकरणले पाइलट तालिम तथा उडान जाँचको जानकारी १५ दिन अगाडि नै गराउनुपर्ने व्यवस्था गराएको छ।
प्राधिकरणको यो सर्कुलरले वर्षातको समयमा हुने उडान सुरक्षित गराउन सहयोग पुग्ने र कोपाइलटलाई उडान समय बढाएर क्याप्टेन बनाउन सहयोगी हुने भन्दै सकारात्मक रुपमा लिएको एक हेलिकप्टर क्याप्टेनले बताएका छन् । उनले भने ‘सबै हेलिकप्टरको अपरेसन निर्देशकसँगको सहमतिबाटै प्राधिकरणको दुईजना पाइलट राखेर उडान गर्नुपर्ने सर्कुलरलाई स्वीकृत गराएका छौं ।’
प्रतिक्रिया