
काठामाडौं । नेपाल राष्ट्र बैंकले करिब १ खर्ब रूपैयाँ बराबरको कर्जाको जोखिम भार २५ प्रतिशत बिन्दुले घटाउने भएको छ । आइबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामार्फत सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाउने घोषणा गरिएको हो ।
हाल ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत र त्यसभन्दा माथिको सेयर धितो कर्जामा १२५ प्रतिशत जोखिम भार छ । अब सबै सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत बनाउने भएको छ ।
राष्ट्र बैंकको २०८१ चैत मसान्तको तथ्यांक अनुसार सेयर धितो कर्जा १ खर्ब २४ अर्ब छ । जसमध्ये ५० लाख माथिको सेयर धितो कर्जा करिब १ खर्ब रुपैयाँ छ ।
उक्त कर्जाको जोखिम भार हालको १२५ प्रतिशत हुँदा १ खर्ब २५ अर्ब हुनेमा अब १०० प्रतिशत मात्रै हुँदा १ खर्ब मात्रै हुँन्छ । पछिल्लो समयम बैंकहरुको प्राथमिक पूँजीकोषको दबाब छ । यस्तोमा केही बैंकहरु कर्जा लगानी गर्न नसक्ने अवस्थामा छन् ।
अहिलेकै अवस्थामा समग्र बैंकिङ क्षेत्रको जोखिम भार करिब २५ अर्बले घट्दा बैंकहरुले सोही बराबर जोखिम भार भएको कर्जा लगानी गर्न क्षमता बढ्ने देखिन्छ । यदि १०० प्रतिशत नै जोखिम भार भएको कर्जा लगानी गर्दा बैंकहरुले थप २५ अर्ब कर्जा विस्तार गर्ने क्षमता बढ्ने देखिन्छ ।
बजारलाई सकारात्मक सन्देश दिन लागि र २०७८ मा कोभिडको समयमा विदेशी विनिमय सञ्चितिमा दबाब पर्दा लिएका कडा नियामकीय नीति सहज बनाउँदै जाने क्रममा सेयर धितो कर्जाको जोखिम भार पनि त्यसभन्दा अघिकै अवस्थामा झारिएको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख गुरूप्रसाद पौडेल बताउँछन् । करिब १ खर्बको कर्जामा २५ प्रतिशत बिनदुले जोखिम भार घट्दा जोखिम भारित सम्पत्ति पनि करिब २५ अर्बले नै घट्ने उनले बताए ।
राष्ट्र बैंकले २०६७ देखि २०७५ सम्म सेयर धितो कर्जा, ऋणपत्र र सुचीकृत नभएकामा पनि १५० जोखिम भार कायम गरेको थियो । २०७५ पुस ११ मा परिपत्र जारी गर्दै सम्पूर्ण सेयर धितो कर्जाको जोखिम भार १०० बनायो । २०७८ फागुन ११ मा उच्च दरमा आयात बढेर विदेशी मुद्रा सञ्चितिमा दवाब परेको र तरलता अभाव हुँदै जाँदा सेयर धितो कर्जासँगै घरजग्गा लगायत रिललस्टेट र आयात कर्जामा पनि जोखिम भार बढाएको थियो ।
त्यसबेला सबै सेयर धितो कर्जामा जोखिम भार बढाएर १५० पुर्याएको थियो । त्यसपछि सेयर लगानीबर्ता र राजनीतिक दवाबमा राष्ट्र बैंकले सुरुमा २५ लाख हुँदै ५० लाखसम्मको कर्जाको जोखिम भार घटाएर १०० प्रतिशत बनाउँदा ५० लाख माथिको कर्जामा १२५ प्रतिशत नाएको थियो । नयाँ गभर्नरको रुपमा डा. विश्वानथ पौडेल आएसँगै सेयर धितो कर्जाको सीमा १०० प्रतिशत बनाएका हुन् ।
सुचीकरण नभएका र केही जोखिमपूर्ण बण्डहरुमा भने १०० प्रतिशतभन्दा बढी जोखिम भार हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।








प्रतिक्रिया