काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेल सपथ ग्रहण गरी नेपाल राष्ट्र बैंक पुग्दा केन्द्रीय बैंकको परिसरमा एउटा अनौठो दृष्य देखियो ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग सपथ लिएर अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरी गभर्नर पौडेल बा २६ च १३२२ नम्बरको ल्यान्ड क्रुजरमा चढेर सिधै बिहान ११ः४२ बजे राष्ट्र बैंक पुगे ।
गभर्नर पौडेललाई डेपुटी गभर्नर बमबहादुर मिश्रसहित कार्यकारी निर्देशकहरुले भब्य स्वागत गरे । उनीहरुको साथमा थियो, सिंगो राष्ट्र बैंक । राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय र राजधानीस्थित विभिन्न विभाग तथा कार्यालयका (सुपरीवेक्षण विभाग, अनुसन्धान विभाग, बैंकिङ विभागसहित) डेढ–दुई सय कर्मचारी लाइन लागेर बसेका थिए ।
गभर्नर पौडेल राष्ट्र बैंकभित्र छिरे । गाडीबाट टक्क निस्किए । सुरक्षा अधिकारीले उनलाई स्यालुट हाने । सेतो दौरा सुरुवालमाथि कालो कोट, कालो जुत्ता र कालै टोपीमा थिए पौडेल ।
लाइन लागेर बसेका कर्मचारीहरुले पुष्पगुच्छा दिए, पौडेलले पालैपालो ग्रहण गरे । कसैले खादा लगाइदिए । खाली हात बसेकाहरुले ताली पड्काए । तालीको गड्गडाहटले राष्ट्र बैंक गुञ्जयमान भयो ।
सबै कर्मचारीको बधाई ग्रहण गरिसकेर पौडेल गभर्नर कार्यालय भएको पुरानो बिल्डिङको प्रवेशद्वार पुगे । भवनको गेटमा डेपुटी गभर्नर बमबहादुर मिश्र र केही कार्यकारी निर्देशकहरु पुष्पगुच्छा लिएर बसेका थिए । बमबहादुरले खादा लगाइदिए, पुष्पगुच्छा दिए । कार्यकारी निर्देशकहरुले पनि सौहार्दता प्रकट गरे ।
राष्ट्र बैंकले नयाँ नेतृत्व पाएकामा डेपुटी गभर्नर बमबहादुर चम्किला देखिन्थे । अनुहारमा हाँसो थियो । कार्यकारी निर्देशकहरु प्रफुल्ल देखिए ।
राष्ट्र बैंक परिसरमै यति धेरै गतिविधि भइसक्दा, खुसी साटासाट भइसक्दा करिब डेढ महिना कायम मुकायम गभर्नर बनेर राष्ट्र बैंक चलाएकी सिनियर डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना भने यो सिनमा कहीँ कतै देखिइनन् ।
सामान्यत: कुनै संस्था प्रमुखलाई स्वागत गर्न त्यही संस्थाको वरिष्ठतम् कर्मचारी जानुपर्ने बुझाइ छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालतको फैसलाअनुसार पुनबर्हाली हुँदा स्वागत गर्न नीलम गेटैमा पुगेर स्वागत गरेकी थिइन् । वरिष्ठतमले नै नेतृत्वलाई स्वागत गर्नुपर्छ भने उनैले पुष्टि गरेकी थिइन् ।
आज भने भिन्न रुपमा प्रस्तुत भइन् ।
गभर्नरका रूपमा आफूभन्दा अर्कै राजनीतिक दल निकटका व्यक्ति आउँदा पनि बमबहादुर खुसी थिए । कारण हो, बमबहादुरले नीलमलाई अबदेखि हाकिम मान्नुपरेन ।
आँगनमा नदेखिएकी तिम्सिना गभर्नरकै कार्यकक्षमा एक कुनामा ठुस्स परेर बसेकी थिइन् । यतिसम्म कि नवनियुक्त गभर्नर डा. पौडेल पदभार ग्रहण गरीवरि तिम्सिना बसेको कुर्सी नजिकै रहेको अर्को कुर्सीमा बसे । तैपनि उनको अनुहार मलिन थियो । एक जना कर्मचारीले गभर्नरलाई दिनुपर्ने पुष्पगुच्छा लगेर नीलमलाई दिए । नीलमले पौडेललाई दिनु त परै जाओस् ती कर्मचारीबाट गुच्छा नै लिइनन् । ती कर्मचारीले टेबुलमा गुच्छा राखिदिए ।
ती उनै नीलम हुन्, जसले राष्ट्र बैंकको वेबसाइटमा आफ्नो नाम गभर्नरको स्थानमा राखिन् । इतिहासमै पहिलोपल्ट कामु गभर्नरलाई अध्यक्षको रुपमा उभ्याइन् । पछिल्लो २ महिनामा राष्ट्र बैंकमा घटेका अनौठा घटनाहरुले बुधबार पनि निरन्तरता पायो ।
उनी मलिन यसकारण पनि थिइन् कि विश्व पौडेल गभर्नर सिफारिस समितिमा रहेका बेला नीलमलाई सिफारिस गर्नुपरे बैठक नै बस्दिनँ भनेर अनुपस्थित भएका थिए ।
नीलमले वैरभाव राखेको यो पहिलो घटना थिएन । उनले निर्वतमान गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर मिश्र, कार्यकारी निर्देशक देवकुमार ढकाल र भर्खरैमात्र अर्का कार्यकारी निर्देशक डा. गुणाकर भट्टमाथि यस्तो व्यवहार गरेकी थिइन् ।
एमालेभित्र गभर्नरको प्रतिस्पर्धी मानिएका बमबहादुर र देवकुमारलाई रोक्न नीलमले हदैसम्मको प्रयास गरेकी थिइन् । जहाँसम्म कि मिश्र र ढकाल सामेल नै नभएको घटनामा जबर्जस्ती मुछेर उनीहरूमाथि महिला हिंसाको आरोपसमेत लगाएकी थिइन् । यो आरोपमा मानव अधिकार आयोगले दुबैलाई निर्दोष भनेकाे थियो ।
गभर्नरका रूपमा आफूभन्दा अर्कै राजनीतिक दल निकटका व्यक्ति आउँदा पनि बमबहादुर खुसी थिए । कारण हो, बमबहादुरले नीलमलाई अबदेखि हाकिम मान्नुपरेन ।
कायम मुकायम गभर्नर हुँदा उनले राजीनामा स्वीकृत नगरेपछि कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. भट्टको गभर्नर रेसबाटै बाहिरिएका थिए ।
भट्टलाई रोक्न सफल नीलमको नाम गभर्नरका लागि सिफारिसमा त पर्यो । तर, सरकारले डा. विश्व पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्यो ।
गुणाकर भट्टलाई गभर्नर बन्न नदिन कामु गभर्नर नीलमले शक्तिको दुरुपयोग गर्दा विश्व पौडेलको भाग्य चम्कियो । नीलम हेरेको हेर्यै भइन् । सत्ता नेतृत्वकर्ता एमालेको भागमा परेको भए नीलमको गभर्नर बन्ने चान्स सबैभन्दा बढी थियो । कांग्रेसको भागमा पर्दा पनि उच्च सम्भावना रहेको व्यक्तिलाई पछार्न उनले जोडबल नगरेकी होइनन् ।
नीलमले गभर्नरमा भट्टलाई रोकेकी हुनाले विश्वलाई गभर्नर बन्ने चिठ्ठा परेको थियो । त्यसैले पनि राष्ट्र बैंकभित्र कोहीकोहीले त ‘आफैंले बनाउनु भएको गभर्नरलाई स्वागत गर्नुपर्नेमा नीलम म्याम किन ठुस्स परे बस्नु भएको होला है ?’ भनेर खासखुस पनि गरे ।
गत बैशाख २ मा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले १८औं गभर्नरमा राष्ट्र बैंकको कार्यकारी निर्देशक भट्टलाई गभर्नर नियुक्त गर्ने सहमति भएको थियो ।
सोही राजनीतिक सहमतिपछि कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरमा अगाडि बढाउने सहमति भएको भन्दै शुभकामना नै दिएको भट्टले उच्च राजनीतिक नेतृत्वले नै गभर्नर बनाउन लागिएको बताएपछि बैशाख ५ गते राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए ।
गुणाकरलाई रोकेर नीलमले भएजतिको बल लगाए पनि त्यो पार लगाउन सकिनन् । उल्टै उनको ओज घट्यो । बुधबार राष्ट्र बैंक परिसर र गभर्नरको कार्यकक्षमा नीलमले देखाएको व्यवहारले त उनको चित्तलाई झनै उदांगो बनाइदिएको छ ।
गभर्नरको पदबहाली सकिएपछि क्लिकमान्डुकर्मीले राष्ट्र बैंकको वेबसाइट भिजिट गर्दा वेभसाइटमा गभर्नर/अध्यक्षको नाम फेरिइसकको थियो । नीलमको नाम दुई खुड्किला मुनि झरेर डेपुटी गभर्नरको लाइनमा आइसकेको थियो ।
सुरुमा अम्पायर रहेका पौडेल पछि आफैं खेल मैदानमा छिरे र गोल हाने । गभर्नरको पदबहाली गर्दै गर्दा तपाईंमाथि अम्पाएर नै मैदानमा उत्रिएको आरोप छ, रेफ्रीको भूमिकामा रहेको व्यक्ति दक्ष खेलाडी नदेखेर मैदानमा आउनु भएको हो ? भन्ने रुपत्रकारले सोधेको प्र्रश्नमा पौडेलले प्रतिप्रश्न गरे- ‘तपाईंलाई के लाग्छ ?’
त्यसपछि उनले जवाफ दिए- ‘यसमा म केही भन्न चाहन्न । धेरै मान्छे क्षमतावान छन् । मलाई जसले छान्यो उनीहरूलाई गएर सोध्नूहोस् ।’
पदबहाली गर्दै गभर्नर पौडेलले कार्यकारी निर्देशकबाट डा गुणाकर भट्टको राजीनामा स्वीकृत नगर्ने प्रष्ट पारृ। आफूलाई सहयोग गर्नका लागि बाँकी रहेको समय काम गर्न आग्रह गर्दै गभर्नर पौडेलले भट्टलाई काममै फर्काउने तयारीमा छन् ।
राष्ट्र बैंकका कर्मचारीहरु पनि भट्ट फर्केर आउन् भन्ने चाहन्छन् । र, यसका लागि भट्ट पनि तयार नै देखिन्छन् । डा प्रकाशशरण महत अर्थमन्त्री भएको बेला पौडेल र भट्ट दुबै अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकार भएर काम गरेका थिए । दुबैजना देउवा निकट हुन् ।
भट्ट फर्केर आउने चिन्ताले पनि नीलमलाई सताएको थियो । साथै, डेपुटी गभर्नर हुँदा र कामू गभर्नर हुँदा आफ्नै सहकर्मीलाई गरेको व्यवहारले भावी दिन कसरी काम गर्ने ? भन्ने भाव उनको अनुहारमा झल्किरहेको थियो ।
प्रतिक्रिया