सार्कजस्तै बीबीआईएन र बीमस्टेकको अस्तित्व संकटमा

क्षेत्रीय भू-राजनीतिले नेपालको वैदेशिक व्यापारमा कस्तो असर पुर्‍याउला ?

504
Shares

काठमाडौं । पछिल्लो समयमा दक्षिण एशियाली क्षेत्रमा विकास हुँदै गएको क्षेत्रीय भू–राजनीतिका कारण नेपालले तेस्रो मुलुकसँग आयात निर्यात सम्बन्धी व्यापार गर्न ठूलो समस्या व्यहोर्नु पर्ने अवस्था सिर्जना भएको छ ।

पछिल्लो समयमा नेपालका छिमेकीहरु चीन, बंगलादेश र पाकिस्तान एउटा कित्तामा उभिएका छन् भने भारतको पहिलेदेखि चीन र पाकिस्तानसँग सम्बन्ध राम्रो छैन ।

हालै बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस बनेपछि भारत र बंगलादेशबीच तिक्तता बढेको छ । यो क्षेत्रीय द्वन्द्वका कारण नेपाल मात्रै होइन अन्य दक्षिण एशियाली मुलुकलाई पनि व्यापारमा असर पुर्‍याउने विज्ञहरुले औंल्याएका छन् ।

पछिल्लो समयमा भारत–पाकिस्तानको युद्ध र बढ्दै गएको भारत–बंगलादेशबीच ठूलो टसलका कारण अन्ततः घुमाई फिराई अप्रत्यक्ष रुपमा नेपालले गर्ने आयात निर्यात व्यापारमा असर गर्ने भएको छ ।

भारत–पाकिस्तान युद्धमा भलै अहिले युद्धविराम छ । तर ति दुवै मुलुकले आआफ्नो क्षेत्रबाट हुने वैदेशिक व्यापारमा नियन्त्रण कायम गरेका छन् ।

हाल युद्धबिराम भइसके पनि ति दुवै मुलुकले एक आपसको व्यापारमा कडा नियन्त्रणसँगै निगरानीसमेत राखेका छन् । यसले गर्दा अप्रत्यक्ष रुपमा नेपालजस्तो मुलुकलाई वैदेशिक व्यापार गर्न ठूलो समस्या परेको वैदेशिक व्यापार गर्ने व्यवसायीहरुले औंल्याएका छन् ।

पाकिस्तानसँग नेपालको धेरै ठूलो वैदेशिक व्यापार त छैन । तर थोरै परिमाणमा भइरहेको व्यापार पनि पछिल्लो समयमा भारत–पाकिस्तान युद्ध र युद्धविराम पश्चात् प्रभावित भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसहसचिव तथा वैदेशिक व्यापारविज्ञ रवि सैंजुका अनुसार पछिल्लो समयम भारतको विभिन्न छिमेकी मुलुकहरुसँग बिग्रेको सम्बन्धका कारण अप्रत्यक्ष रुपमा नेपाललाई घाटा हुने भएको छ ।

‘भारतको पाकिस्तान र बंगलादेशसँगको सम्बन्ध अहिले निक्कै तितो भएको छ, यसले गर्दा हामीलाई प्रत्यक्ष रुपमा कुनै पनि प्रकारको असर नगर्नु पर्ने हो,’ वैदेशिक व्यापारविज्ञ सैंजुले भने,‘तर उनीहरुको क्षेत्रीय भूराजनीतिका कारण नेपाल भने नेपाली उखान गहुँसँग घुन पिसिएको जस्तै अवस्थामा पुगेको छ । तत्कालै असर नदेखिए पनि केहि दिनपछि सुक्षम रुपमा बजारमा असर देख्न पाइनेछ ।’

भारतले पाकिस्तानको हकमा विभिन्न रुटमा लगाएको प्रतिवन्धका कारण नेपालबाट पाकिस्तानमा हुने निर्यात र पाकिस्तानबाट नेपालमा हुँदै आएको आयात व्यापार प्रभावित हुनुका साथै झन्झटिलो र खर्चिलोसमेत भएको छ ।

नेपालले पाकिस्तानसँगको आयात–निर्यात व्यापार भारतको स्थलमार्ग प्रयोग गरेर गर्दै आएको छ । नेपाल र पाकिस्तानबीच सिधा समुद्री वा हवाई मार्ग नभएकाले भारतको भौगोलिक मार्ग अनिवार्य रूपमा प्रयोग गर्नुपर्छ । नेपालले भारतको कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहहरू प्रयोग गरी तेस्रो मुलुकसँग व्यापार गर्छ, यसमा पाकिस्तान पनि पर्छ ।

भारतले पाकिस्तानबाट सिधा र तेस्रो मुलुकबाट हुने सबै प्रकारको आयातमा प्रतिबन्ध लगाएको छ । यसले पाकिस्तानबाट भारत हुँदै नेपाल आउने र जाने सामानहरूको ढुवानीमा अवरोध सिर्जना गरेको छ । यसले गर्दा अप्रत्यक्ष रुपमा नेपाल–पाकिस्तान व्यापारमा पनि असर पुर्‍याएको व्यवसायीहरुको भनाइ छ ।

भारतले पाकिस्तानसँगै जोडिएको सबैभन्दा व्यस्त स्थलमार्ग मानिने अटारी–वाघा नाका पूर्ण रुपमा बन्द गरेको छ । यस्तै समुद्रीमार्गबाट ओहोर दोहोर गर्ने पाकिस्तानी झण्डा भएका जहाजलाई पनि भारतीय बन्दरगाहमा प्रवेश निषेध गरिएको छ । उता भारतीय झण्डावाहक जहाजलाई पनि पाकिस्तानी बन्दरगाहमा जान निषेध छ ।

यसैगरी भारतले तेस्रो मुलुकमार्फत हुने व्यापारमा समेत निगरानी गरेको छ । भारतले संयुक्त अरब इमिरेट्स, इरान र अन्य खाडी मुलुकहरूबाट आउने सामुद्रिक जहाज र आयातित सामानमाथि पनि कडा निगरानी राखेको छ । पाकिस्तानबाट आउने सामानहरु तेस्रो मुलुकबाट भारतमा प्रवेश गर्न नदिन भारतले यस्तो रणनीति लिएको हो ।

यस्तै भारतले पाकिस्तानी जहाज र पाकिस्तानले भारतीय जहाजमाथि पनि प्रतिबन्ध लगाएको छ ।

नेपालले पाकिस्तानबाट गत आर्थिक वर्ष २०८०/ ८१ मा ५६ करोड २१ लाख ९० हजार रुपैयाँबराबरको विभिन्न सामान आयात गरेको थियो भने ३ करोड ८६ लाख ६४ हजार रुपैयाँको विभिन्न सामान नेपालबाट त्यो मुलुकमा निर्यात गरेको थियो ।

पाकिस्तानबाट मुख्यगरी जिउँदो जनावर, कुच्चिएको र धुलो बनाइएको भेडे खुर्सानी र खुर्सानी, विभिन्न मसला, सेन्ट, औषधी, सौन्दर्य सामग्री, रसायन, दालमोढ, भुजिया, नन अल्कोहोलिक पेय पदार्थ, फूड सप्लीमेन्ट्स, सिगरेट, सिन्धे तथा कालो बिरे नुन, फेस तथा वडी क्रिम, स्याम्पु, सावुन, फर्निचर, जर्सी, कार्पेट, टिशर्टलगायतका सामान नेपालमा आयात हुन्छ ।

यस्तै नेपालबाट पाकिस्तानमा कच्चा खयर, चिया, मसला, ठूलो अलैंचीलगायतका सामान निर्यात हुँदै आएको छ ।

चालु आवको पहिलो नौं महिनामा पाकिस्तानबाट नेपालमा ३ अर्ब ४३ करोड ५८ लाख ६८ हजार रुपैयाँबराबरको विभिन्न वस्तु आयात भएको थियो भने ४८ करोड ९२ लाख ७३ हजार रुपैयाँबराबरको विभिन्न वस्तु पाकिस्तानमा निर्यात भएको थियो । यो नौं महिनाको अवधीमा पाकिस्तानसँग नेपालको व्यापार घाटा १९ करोड २४ लाख रुपैयाँबराबरको व्यहोरेको छ ।

‘नेपाल पाकिस्तानबीच हुने वैदेशिक व्यापारमा अहिले गिरावट नदेखिएपनि आगामी महिनादेखि प्रत्यक्ष रुपमा देखिने छ,’ सैंजुले भने, ‘भारतले पाकिस्तानमाथि लगाएको विभिन्न प्रकारको प्रतिवन्ध चैतको दोश्रो सातापछि कडाईका साथ कार्यान्वयनमा ल्याइएकाले त्यसको प्रत्यक्ष असर अब आउने दिनमा नेपाल–पाकिस्तान व्यापारमा देखा पर्नेछ ।’

भारत–बंगलादेश द्वन्द्व : नेपाललाई तगारो

उद्योग वाणिज्य महासंघको पारवहन समितिका पूर्व सभापतिसमेत रहेका मधेश प्रदेश अध्यक्ष अशोक टेमानीका अनुसार बिग्रदै गरेको भारत– पाकिस्तान र भारत–बंगलादेश सम्बन्धको असर नेपाललाई बाहिरी रुपमा नपरेपनि सुक्षम रुपमा भने ठूलो असर पुर्याउने छ ।

‘शनिबार भारतले बंगलादेशको केही सामानको आयातमा प्रतिवन्ध लगाएको सूचना नै जारी गरेको छ, पछिल्लो समयमा बंगलादेश र चीनबीच बढ्दो आर्थिक र सैन्य सहयोग भारतका लागि चिन्ताको विषय बनेको छ,’ टेमानीले भने,‘चीनले बंगलादेशको धेरै पूर्वाधार परियोजनामा लगानी गरेको छ, यसले गर्दा भारतले रणनीतिक रुपमा असहजता महसुस गरेको छ । यहि परिपेक्षमा भारतले पछिल्लो समयमा गरेको नयाँ व्यवस्थाले घुमाउरो रुपले नेपाल बंगलादेशबीच हुने व्यापारलाई पनि असर पुर्याउने छ ।’

नेपाल–बंगलादेशबीच मुख्य रुपमा काँकडभिट्टा–फुलवारी–वंगलावन्ध नाकामार्फत वैदेशिक व्यापार हुँदै आएको छ । यो स्थानमा पुग्न नेपालले भारतको सिल्लीगुढी करिडरको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । सन् १९७६ मा नेपाल–बंगलादेशबीच भएको पारवहन सम्झौताअनुसार यो नाका नेपाललाई उपलब्ध गराइएको छ ।

सुरक्षा र रणनीतिक रुपमा निक्कै संवेदनशील मानिने भारतकोे ‘चिकेन नेक’ अर्थात सिल्लीगुढी करिडरबाट ७० किलोमिटर दूरीमा रहेको बंगलादेशको उत्तरपश्चिमी रंगपुर डिभिजनअन्तर्गत लालमोनिरहाट जिल्लामा चीनको लगानीमा हवाई मैदान निर्माण गर्ने योजना अघि बढेको छ ।

सिल्लीगुडी करिडरसँगै बंगलादेशको फुलवारी वंगलावन्ध नाका पर्छ । बंगलादेशसँग नेपालको मुख्य वैदेशिक व्यापार यहि नाकाबाट हुने गर्छ ।

हवाई मैदान निर्माण गर्ने योजना अघि बढेपछि भारत–बंगलादेशबीचको सम्बन्धमा थप तनाव आएको छ । भारतले यो हवाई मैदानलाई सैन्य निगरानी केन्द्रको रुपमा लिदैं शशंकित भएको छ ।

चीन, म्यानमार, भुटान, बंगलादेश, र नेपालको सीमा नजिक रहेको सिल्लिगुडी कोरिडोरमार्फत नै पूर्वी भारतमा अत्यावश्यक वस्तुहरूको ढुवानी हुने गर्छ । सिल्लिगुडी कोरिडर नजिकै मुस्लिम समुदायको वाक्लो वस्ती भएको र यो वस्तीलाई भारत अनुकूल प्रयोग गर्न सकिने बिषयले पनि भारत सरकारलाई शशंकित बनाउँदै आएको छ ।

वैदेशिक व्यापार विज्ञ सैंजुका अनुसार चिकेन नेक भनिएकै क्षेत्र नजिक चिनियाँ लगानीमा हवाई मैदान निर्माण भएपछि भारतले अहिले बंगलादेशबाट स्थल, हवाई र सामुद्रिकमार्गबाट हुने व्यापारमा कडाई गरेको छ ।

‘भारतको लागि अहिले सबैभन्दा ठूलो समस्या भनेको चिकेन नेक नजिकै बंगलादेशी क्षेत्रमा चिनियाँ लगानीमा हवाई मैदान निर्माण हुनु हो,’ सैंजुले भने,‘हिजोको दिनमा जसरी नेपाल र बंगलादेशबीच सहज रुपमा आयात निर्यातसम्बन्धी व्यापार हुँदै आएको थियो, अब त्यो हुँदैन, अब बंगलादेशबाट फुलवारी बंगलावन्धु नाकामार्फत हुने आयात निर्यातको क्रममा भारतले कडाईका साथ कागजपत्र खोज्ने, प्रत्येक मालवाहक सवारी र सामानलाई गहिरो रुपमा परीक्षण गर्छन ।’

भारतले यस्तो गरेको अवस्थामा समय लम्बिनुका साथै पारवहन खर्च पनि महँगो हुने सैंजुको तर्क छ ।

उनले भने,‘भनाईको अर्थ अहिले जसरी सहज र सरल रुपमा बंगलादेशबाट सामान ल्याउने र त्यो मुलुकबाट सामान पठाउने गरेका थियौं, त्यो अब सहज हुँदैन । नेपाली आयात निर्यात गर्ने व्यवसायीले ठूलो झन्झटिलो प्रक्रिया पार गर्नुपर्ने चुनौती खडा भएको छ । यसले गर्दा लागत खर्च बढाउनुका साथै समय पनि निक्कै लम्बिने छ ।’

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गत विदेशी व्यापार महानिर्देशनालयले जेठ ३ गते एक सूचना जारी गर्दै आयात नीति अन्तर्गत यो सूचना सार्वजनिक गरेको हो ।

यो सूचनाअनुसार बंगलादेशबाट भारतमा आउने केही वस्तुको आयातमा सीमित बन्दरगाहहरू प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

जसअनुसार रेडीमेड कपडा अब न्याभा सेभा र कोलकाता बन्दरगाहबाट मात्रै भारतमा आयात गर्न पाइनेछ । अन्य बन्दरगाहमार्फत आयात गर्न पाइने छैन । यस्तै फलफुल स्वादयुक्त पेय पदार्थ, प्रशोधित खाद्य पदार्थ (बेकरी, चिप्स, स्नाक्स, कन्फेक्सनरी), प्रशोधित बोतल पानी, रसायन र औद्योगिक वस्तु (प्लास्टिक वस्तुहरू, स्याम्पू, साबुन) र काठको फर्निचर आसाम, मेघालय, त्रिपुरा, मिजोरम र चन्ग्रवन्ध तथा फूलवारी नाकाबाट मात्रै आयात गर्न पाउने व्यवस्था गरेको छ ।

तर यो प्रतिबन्ध माछा, खाना पकाउने तेल, खाद्य तेल र क्रस गरिएको ढुंगाको आयातमा लागू नहुने व्यवस्था भारतले गरेको छ ।

यसै पनि बंगलादेशबाट आउने र बंगलादेश सामान पठाउन भारतकै भूमि प्रयोग गर्नुपर्ने नेपालको बाध्यता छ । अर्कोतर्फ बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात गर्ने बिषय पनि छ । तर त्यो मुलुकमा विद्युत निर्यातको लागि भारतकै भूमि र भारतकै ट्रान्समिशन लाइन प्रयोग गर्नुपर्ने नेपालको बाध्यता छ ।

भारत–बंगलादेशबीचको भूराजनीतिका कारण बंगलादेशमा विद्युत निर्यात गर्ने नेपालको योजनालाई ठूलो असर पार्ने व्यापारविज्ञ सैंजुले जानकारी दिए ।

उनका अनुसार भारत–पाकिस्तानको आन्तरिक द्वन्द्वका कारण जसरी सार्क(दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन) अधोगतिमा गएको थियो त्यसरी नै भारत–बंगलादेश द्वन्द्वका कारण बीबीआईएन र बीमस्टेकको अस्तित्वमा पनि खतरा मडारिन थालेको छ।

सार्कमा नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भुटान, मालदिभ्स र श्रीलंका आवद्ध थियो ।

वंगलादेशसँग ५ अर्बको वार्षिक कारोबार

गत आर्थिक वर्ष २०८०/८१ मा बंगलादेशबाट नेपालमा ४ अर्ब २२ करोड ५६ लाख रुपैयाँबराबरको विभिन्न सामान आयात भएको थियो भने नेपालबाट बंगलादेशमा ५५ करोड ४६ लाख रुपैयाँबराबरको विभिन्न सामान निर्यात भएको थियो ।

चालु आर्थिक वर्षको नौ महिनामा बंगलादेशबाट ३ अर्ब ४३ करोड ५८ लाख रुपैयाँबराबरको विभिन्न सामान आयात गरेको छ भने ४८ करोड ९२ लाख रुपैयाँबराबरको नेपालबाट उक्त मुलुकमा निर्यात भएको थियो । चालु आर्थिक वर्षको नौ महिनामा बंगलादेशसँग नेपालको व्यापार घाटा २ अर्ब ९४ करोड ६५ लाख रुपैयाँको छ ।

बंगलादेशबाट मुख्यगरी रेडिमेड कपडा, औद्योगिक कच्चा पदार्थ, आलु, कच्चा जुट, खुद्रामा बिक्री हुने औषधी, लिड एसिड एक्युमुलेटर, सोयावीनको आयल केक (पिना), ट्वाइलेट पेपर, विभिन्न प्रकारका मिक्स जुस, टोस्टेड ब्रेड, फूड सप्लीमेन्ट्स, चकलेट, लुव्रिकेन्ट्स आयल, टिशर्ट, टोपी, ज्याकेटलगायतका सामान आयात हुँदै आएको छ ।

यस्तै नेपालबाट बंगलादेशतर्फ मुसुरो दाल, क्यान मोलासेस, जडिबुटी, कच्चा खयर, स्याम्पु लगायतका प्रमुख सामग्रीहरु निर्यात हुन्छ ।

नेपालबाट बंगलादेशमा सहज छैन निर्यात

तुलनात्मक रुपमा नेपाल–बंगलादेशको वैदेशिक व्यापारमा ठूलो असमानता छ । बंगलादेश सस्तो शुल्कमा आफ्नो उत्पादन नेपालमा निर्यात गर्दै आएको छ । तर नेपाली वस्तुमाथि ट्यारिफबाहेक ८ प्रकारका थप ननट्यारिफहरु लगाएको छ । यस्तै भन्सार शुल्कबाहेक अतिरिक्त शुल्क लाग्ने गरि पारा ट्यारिफ पनि लगाएको छ ।

त्यति मात्रै होइन नेपालबाट बंगलादेश निर्यात हुने कृषिजन्य वस्तुमा भने ७ सय प्रतिशतसम्म नन ट्यारिफ लगाइएको कारण तुलनात्मक रुपमा लागत खर्च निक्कै महँगो भएर नेपालले बंगलादेशमा निर्यात गर्न ठूलो समस्या छ ।

‘नेपालको निर्यातजन्य बस्तु बंगलादेशमा निर्यात गर्न ८ प्रकारका ननट्यारिफ वेरियर छन्, हामीले वर्षौदेखि त्यस्ता ननट्यारिफहरु हटाउने विषयमा छलफल पनि गरेका छौं, तर बंगलादेशले त्यो विषयलाई त्यतिकै थाति राखेको छ,’ पूर्व सहसचिव सैंजुले भने, ‘ननट्यारिफ वेरियरको समस्या समाधान भएको अवस्थामा मात्रै हामीले बंगलादेशको बजारबाट लाभ लिन सक्छौं ।’

यसो भन्छन्, वैदेशिक व्यापारविज्ञ

ट्रेड र कनेक्टीभिटीको सवालमा सार्कजस्तै बीबीआईएन र बीमस्टेक धुमिल हुने जोखिम बढ्दै

डा. पारश खरेल, कार्यकारी निर्देशक : साउथ एशिया वाच अन ट्रेड इकोनोमिक्स एण्ड इन्भाइरोनमेन्ट (साउटी)

भारतसँग नेपालको वैदेशिक व्यापार झण्डै दुई तिहाईभन्दा बढी छ । नेपाल र बंगलादेशको पहलमा सार्क खोल्ने एउटा ठूलो उद्देश्य थियो । दक्षिणी एशियाली मुलुकभित्र सार्कमा सहभागी मुलुकको व्यापार व्यवसायमा ठूलो सहयोग हुनेछ ।

तर पाकिस्तान–भारत द्वन्द्वका कारण सार्कको अस्तित्व नै अहिले संकटमा पर्यो । सार्क गतिशिल भएको भए नेपालजस्तो मुलुकको पोटेन्सिएल बढ्न सक्थयो । सार्क गतिशिल भएको भएको नेपालको अलैंची र चिया ठूलो परिमाणमा भारतकै बाटो प्रयोग गरी पाकिस्तानमा निर्यात गर्न सकिन्थ्यो । भलै अहिले भारतहँदै दुवईलगायतमा मुलुक भएर पाकिस्तानमा गइरहेको छ ।

पाकिस्तानसँग हाम्रो फर्मल ट्रेड निक्कै कम भएपनि नेपालबाट भारतमा जति परिमाणमा अलैची जान्छ, त्यसको ठूलो हिस्सा पाकिस्तानमा गइरहेको छ । यो सोझो बाटोबाट जान पाएको भए नेपालले ठूलो लाभ लिन सक्थ्यो ।

पाकिस्तानको तुलनामा बंगलादेशसँग हाम्रो आयात निर्यातको व्यापार ठूलो छ । बंगलादेशसँग व्यापार गर्न भारतकै बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । यसमा नेपाललाई धेरै ठूलो सुविधा त छैन । तर भएको सुविधालाई सदुपयोग गर्दै बंगलादेशसँग आयात निर्यातको व्यापार त् भइरहेको छ।

तर पछिल्लो २ महिनायता भारत–बंगलादेशको सम्बन्धमा चिसोपना आएको छ । यसले गर्दा भारतले बंगलादेशको ट्रान्सशीपमेन्ट नै रोकेको छ । भारतको पोर्ट प्रयोग गरेर बंगलादेशले अन्य मुलुकमा गर्दैआएको निर्यात भने अब गर्न नपाइने भएको छ ।

फेरि अहिले भारतले बंगलादेशको गारमेन्टस् मुम्वई र कोलकात्ता पोर्टबाट मात्रै ल्याउन पाइने र ल्याण्डपोर्टबाट नल्याउने नीति लियो । भारतको उत्तरपूर्वी भेगमा अत्यधिक खपत हुने बंगलादेशी प्रोसेस्ड फूडलाई पनि ल्याण्ड पोर्टमार्फत भित्रिन नदिने भारतले नीति लिएको छ ।

यसले गर्दा असम र केहि अन्य पूर्वीय राज्यको ल्याण्डपोर्टमार्फत आयात नहुने भयो । यसले गर्दा समय निक्कै लाग्ने र खर्चिलो पनि धेरै हुने भयो । घुमाउरो रुपमा बंगलादेशी सामानमाथि भारतले अप्रत्यक्ष रुपमा प्रतिवन्ध लगाएजस्तो भएको छ ।

पछिल्लो समयमा भारतले क्षेत्रीय सम्पर्क र व्यापार बढाउन बीबीआईएन(बंगलादेश, भुटान, भारत र नेपाल) लुज नेटवर्क स्थापना गर्यो ।

यसपछि दक्षिण पूर्वी एशिया र एशियालाई जोड्ने गरी बीमस्टेक (वंगालको खाडी वरिपरी रहेका सात मुलुकहरु मिलेर बनेको क्षेत्रीय संगठन) पनि अघि बढ्यो ।

यसको मुख्य उद्देश्य वहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोगमा केन्द्रित थियो । बीमस्टेकमा बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्याण्ड सहभागी छ ।

जसरी सार्क भारत–पाकिस्तानको आन्तरिक द्वन्द्वले अघि बढ्न सकेन् । त्यस्तै परिदृश्य अब बीबीआईएन र बीमस्टेकमा पनि देखा पर्न थालेको छ । भारतले बंगलादेशलाई छेउमा पुर्याँउदा बीबीआईएन र बीमस्टेक पनि अघि बढ्न नसक्ने गरी घटनाक्रमहरु विकसित हुँदै गएको छ ।

बीमस्टेकमा खुला व्यापार गर्न सक्ने नीति पछिल्लो समयमा विकसित हुँदै थियो । भारतले नेपाललाई शुन्य ट्यारिफ दिएपनि नन ट्यारिफ(गैर भन्सार)को नाममा महिनौं झुलाउने प्रवृति छ । बीमस्टेकले त्यस्तो गैर भन्सार शुल्कहरुलाई सम्बोधन गरेर सहभागी राष्ट्रहरुलाई एक अर्काको मुलुकमा व्यापार गर्न सहज बनाउने रणनीतिमा थियो ।

अहिले बंगलादेश नै दुई वर्षको लागि बीमस्टेकको अध्यक्षता गरेको छ । यस्तोमा भारत–बंगलादेश ट्रेड द्वन्द्वले बीमस्टेकले सम्बोधन गर्न खोजेको नीति पनि ओझेलमा परेको छ । जसले गर्दा नेपालजस्तो मुलुकलाई प्रत्यक्ष रुपमा असर गर्नेछ ।

सार्कले परिकल्पना गरेको तर गतिहीन हुँदा बीमस्टेकमार्फत अघि बढाउने भनिएको नीतिहरु पनि अब क्षेत्रीय भूराजनीतिका कारण अलपत्र पर्ने भएको छ ।

नेपालको कनेन्टिभिटी कहाँबाट हुने भयो भने भारतहुँदै बंगलादेश, म्यानमार, थाइल्याण्ड र सिङ्गापुरको रुट कायम हुने भयो । तर यसको लागि पनि भारतको बंगलादेशसँग सुमधुर सम्बन्धको आवश्यकता छ ।