फागनुदेखि मार्जिन कारोबार निर्देशिका कार्यान्वयन हुने, कति पाइन्छ सुविधा ?


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मार्जिन कारोबार सम्बन्धी निर्देशिका स्वीकृत गर्दै फागुन १ गतेदेखि कार्यान्वयनमा ल्याउने भएको छ । बोर्डले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२ (प्रारम्भिक मस्यौदा) सार्वजनिक गर्दै सुझाव मागेको थियो । प्राप्त भएको सुझाव समेतको आधारमा बोर्डले निर्देशिका स्वीकृत गर्दै कार्यन्वयन गर्ने भएको हो ।

धितोपत्र दलाल व्यवसायी मार्फत् लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउने उद्देश्यले बोर्डले धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ८७ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२’को जारी गरेको हो ।

निर्देशिका अनुसार कम्तिमा २५ लाख कित्ता सर्वसाधारण सेयर सूचिकरण भएको, नेटवर्थ चुक्ता पुँजी बराबर र सो भन्दा बढी भएको, पछिल्लो तीन वर्षमा दुई वर्ष खुद नाफा गरेको, प्रारम्भिक सार्वजनिक निष्काशन मार्फत् निष्काशन भएको सेयर सूचिकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको सूचिकृत संगठित संस्थाको सेयर मार्जिन कारोबार सुविधाको लागि योग्य हुनेछ ।

मार्जिन कारोवार सुविधा प्रदान गर्ने धितोपत्र दलाल व्यवसायीको योग्यता पनि बोर्डले तोकेको हो । जसमा चुक्ता पुँजी कम्तिमा २० करोड रुपैयाँ भएको, राफसाफ सदस्यता प्राप्त गरेको, निक्षेप सदस्य वा निक्षेप सदस्य कम्पनीको सेयरधनी रहेको वा सहायक कम्पनीको रुपमा रहेका धितोपत्र दलाल व्यवसायीकोमुख्य कम्पनीले निक्षेप सदस्यता प्राप्त गरेको हुनुपर्नेछ ।

प्रारम्भिक मार्जिन र सम्भार मार्जिन सम्बन्धी व्यवस्थामा (१) धितोपत्र दलाल व्यवासायीले सूचिकृत संगठित संस्थाको सेयरको बजार मूल्यको न्यूनतम ३० प्रतिशतले हुन आउने रकम लगानीकर्तासँग प्रारम्भिक मार्जिनको रुपमा लिनु पर्ने व्यवस्था गरेको छ ।

मार्जिन कारोवार सुविधा अन्तर्गत खरिद गरिएको सेयर, मार्जिन रकम तथा सम्बन्धित ग्राहकको विवरण छुट्टाछुट्टै अभिलेख बनाई राख्नुपर्नेछ । त्यस्तै मार्जिन सुविधा अन्तर्गत खरिद भएको सेयरको मूल्यांकन दैनिक रुपमा ‘मार्कड टु मार्केट’को आधारमा गर्नुपर्नेछ ।

तर, उक्त सेयरको मूल्यमा भएको बृद्धिको आधारमा थप सुविधा दिन पाइने छैन । ग्राहकको जोखिम मूल्यांकन, बजारको अवस्था तथा सूचिकृत संगठित संस्थाको सेयरमा निहित जोखिमलाई दृष्टिगत गरीे उपदफा (१) मा उल्लिखित मार्जिनभन्दा बढी मार्जिन माग गर्न सक्नेछ ।

धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा अवधिभर बजारको अवस्था तथा जोखिम हेरी लगानीकर्तासँग न्यूनतम २० प्रतिशतले हुन आउने रकम सम्भार मार्जिनकायम राख्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

यसअघि धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन २०७४ जारी गरेको थियो जुन कार्यान्वयन नभएपछि हाल नयाँ निर्देशिका बनाई कार्यान्वयन गर्ने भएको हो ।

यी हुन निर्देशिकाका प्रमुख व्यवस्थाहरु
कस्तो अवस्थामा मार्जिन कल तथा सेयर बिक्री हुन्छ ?
१. सेयरको बजार मूल्यमा हुने परिवर्तनका कारण लगानीकर्ताले मार्जिन कारोबार सुविधा अर्न्तगत खरिद गरेको सेयरमा आवश्यक पर्ने सम्भार मार्जिन कायम गर्ने दायित्व लगानीकर्ताको हुनेछ । लगानीकर्ताले उक्त मार्जिन कायम गर्न नसकेमा धितोपत्र दलाल व्यवसायीले लगानीकर्तालाई मार्जिन कल गर्नुपर्नेछ ।

२. उपदफा (१) बमोजिम मार्जिन कल गरेपश्चात् आवश्यक मार्जिन कायम नगरेमा धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा अर्न्तगत खरिद गरेको शेयर बिक्री गर्न सक्नेछ ।

३. धितोपत्र दलाल व्यवसायीले मार्जिन कल गर्ने तथा सेयर बिक्री गर्ने सम्बन्धी व्यवस्था स्पष्ट रुपमा आफ्नो कार्य प्रकृयामा राख्नुपर्नेछ ।

४. उपदफा (२) बमोजिम सेयर विक्री पश्चात्‌सम्बन्धित ग्राहकसँग हिसाव फछ्र्यौट गरी सोको जानकारी धितोपत्र बजारलाई गराउनु पर्नेछ ।

५. यस दफामा जुनसुकै कुरा लेखिएको भएतापनि लगानीकर्ताले सम्भार मार्जिन कायम गर्न नसकेमा धितोपत्र दलाल व्यवसायीले लगानीकर्तासँग उक्त मार्जिन कायम गर्न आवश्यक रकम बराबरको धितोपत्र बजारमा सूचिकृत ‘ए’, ‘बी’ र ‘जी’ वर्गमा रहेका संगठित संस्थाको सेयर धितोको रुपमा लिन सक्नेछ । उक्त सेयरको मूल्य गणना गर्दा बजार मूल्यको ६० प्रतिशतले हुन आउने मूल्यलाई मात्र गणना गर्नुपर्नेछ ।

६. सेयरको बजार मूल्यमा हुने परिवर्तनका कारण सम्भार मार्जिन कायम हुन आएमा उपदफा (५) बमोजिम धितोमा राखिएको सेयर लगानीकर्ताको अनुरोधमा धितोपत्र दलाल व्यवसायीले फुकुवा गर्नुपर्नेछ

ब्रोकरले मार्जिन कारोवार सुविधा दिने ब्रोकरले आर्थिक श्रोत कसरी जुटाउने ?
१. धितोपत्र दलाल व्यवसायीले आफ्नै स्रोतबाट, बैंक तथा वित्तीय संस्थासँग ऋण लिएर र आफ्नो सेयरधनी वा संचालकसँग असुरक्षित ऋण लिएर मार्जिन कारोवार सुविधा प्रदान गर्नसक्नेछ । तर, धितोपत्र दलाल व्यवसायीले सेयरधनी वा संचालकसँग असुरक्षित ऋण लिँदा प्रचलित कम्पनी सम्बन्धी कानूनमा भएको व्यवस्था पालना गर्नु पर्नेछ ।

२. धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार सुविधा प्रदान गर्न बैंक तथा वित्तीय संस्थासँग लिएको ऋण र आफ्नो सेयरधनी वा संचालकसँग लिएको असुरक्षित ऋण धितोपत्र दलाल व्यवसायीको नेटवर्थको ४.५ गुणाभन्दा बढी हुनुहुँदैन ।

३. धितोपत्र दलाल व्यवसायीले कुनै एक ग्राहकको नगद तथा शेयरलाई अन्य ग्राहकलाई मार्जिन कारोवार सुविधा प्रदान गर्न प्रयोग गर्न पाउने छैन ।

मार्जिन कारोवार सुविधाको अधिकतम सिमा
१. धितोपत्र दलाल व्यवसायीले आफ्नो प्रमाणित नेटवर्थको पाँच गुणासम्म मार्जिन कारोवार सुविधा उपलब्ध गराउन सक्नेछ ।

२. धितोपत्र दलाल व्यवसायीले कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्य वा सम्बद्ध संस्थालाई मार्जिन सुविधा प्रदान गर्दा धितोपत्र दलाल व्यवसायीले प्रदान गर्नसक्ने कुल मार्जिन सुविधाको बढिमा १० प्रतिशतभन्दा बढी मार्जिन कारोवार सुविधा उपलब्ध गराउन सक्नेछैन ।

३. धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार सुविधा प्रदान गर्दा लगानी विविधिकरणलाई समेत ध्यान दिनुपर्नेछ ।

मार्जिन कारोवारको राफसाफ सम्बन्धी व्यवस्था
१. धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार सुविधा अन्तर्गत खरिद भएको शेयर दैनिक रुपमा कारोवार गर्दा वा कारोवार पश्चात्‌वा राफसाफको समयमा पहिचान गरी राख्नुपर्नेछ ।

२. मार्जिन कारोवार सुविधा प्राप्त गर्न लगानीकर्ताले धितोपत्र दलाल व्यवसायी मार्फत् छुट्टै मार्जिन कारोवार खाता र मार्जिन कारोवार हितग्राही खाता खोल्नुपर्नेछ ।

३. धितोपत्र दलाल व्यवसायी (राफसाफ सदस्य) ले राफसाफ प्रयोजनका लागि केन्द्रीय निक्षेप कम्पनीमा मार्जिन कारोवार राफसाफ हितग्राही खाता खोल्नुपर्नेछ ।

४. मार्जिन कारोवार गर्ने लगानीकर्ताको मार्जिन कारोवार हितग्राही खातालाई धितोपत्र दलाल व्यवसायी मार्फत खोलिएको मार्जिन कारोवार खाता र राफसाफ सदस्यको मार्जिन कारोवार राफसाफ हितग्राही खातासँग आबद्ध गर्नुपर्नेछ ।

५. लगानीकर्तालाई मार्जिन कारोवार सुविधा प्रदान गर्दा धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार खाता र मार्जिन कारोवार हितग्राही खाता संचालन सम्बन्धी अधिकृत वारेसनामा लिन सक्नेछ ।

६. लगानीकर्ताले मार्जिन कारोबार सुविधा वापत लिएको रकम तथा दायित्व चुक्ता नगरेमा वा सम्भार मार्जिन कायम गर्न नसकेमा सेयर बिक्री तथा राफसाफ गर्ने प्रयोजनका लागि मात्र उपदफा (५) बमोजिम लिइएको अधिकृत वारेसनामा धितोपत्र दलाल व्यवसायीले प्रयोग गर्नुपर्नेछ । यससम्बन्धी भएको कार्यको विवरण धितोपत्र बजारलाई समेत जानकारी गराउनुपर्नेछ ।

७. यस दफामा जुनसुकै कुरा लेखिएको भएतापनी धितोपत्र दलाल व्यवसायीको कारोवार प्रणालीमा रहेको लगानीकर्ताको कारोवार खाताबाट नै मार्जिन कारोवार सुविधा दिन सकिने अवस्था भएमा छुट्टै मार्जिन कारोवार खाताको आवश्यकता पर्नेछैन ।

निर्देशिकामा मार्जिन कारोबारको अवधि बढीमा १ वर्षका हुने र उक्त अवधि पुरा भएपछि नविकरण गर्न सकिने व्यवस्था भएको छ ।