
काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी अध्ययन उपसमितिको संयोजकमा नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य मञ्जु खाँण चयन भएकी छन् ।
यसअघि उक्त उपसमितिको संयोजक जिम्मेवारी नेकपा (एमाले) का सांसद तथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सम्हाल्दै आएका थिए ।
भट्टराईले वैशाख २१ गते बसेको सार्वजनिक लेखा समितिको बैठकमा उपसमितिको संयोजक पदमा नबस्ने निर्णय घोषणा गरेका थिए । उनले आफू पूर्वमन्त्री भएकाले उपसमितिको नेतृत्व गर्दा निष्पक्षता र प्रतिवेदनको विश्वसनीयतामाथि प्रश्न उठ्न सक्ने भन्दै संयोजक पदबाट अलग हुने निर्णय गरेका थिए । उनी समितिको नेतृत्वमा रहेको भन्दै बैठकमा प्रश्न उठेको थियो ।
उनको राजीनामापछि आइतबार बसेको उपसमिति बैठकले सदस्यहरूबीचको सहमतिमा कांग्रेस सांसद मन्जु खाणलाई नयाँ संयोजकको रूपमा चयन गरेको हो । सोही बैठकले भैरहवा विमानस्थलको अध्ययन भ्रमण गर्ने निर्णयसमेत गरेको छ ।
संयोजक चयनसम्बन्धी उक्त बैठकमा एमाले सांसद भट्टराई र रास्वपाका सांसद मनिष झा भने अनुपस्थित थिए ।
भट्टराई नेतृत्वको बेला भैरहवा विमानस्थलको अनुगमनपछि प्रारम्भिक रिपोर्टसमेत तयार भइसकेको जनाइएको छ ।
प्रतिक्रिया