पर्यटन बोर्डको सदस्यमा थपलिया र भट्ट नियुक्त

1.3k
Shares

पर्यटन बोर्ड सदस्य नरेन्द्रदेव भट्ट र कुमारमणि थपलिया ।

काठमाडौं । नेपाल पर्यटन बोर्डको सदस्यमा पर्यटन व्यवसायी कुमरमणि थपलिया र नरेन्द्रदेव भट्ट नियुक्त भएका छन् ।

बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले मन्त्रिस्तरीय निर्णयबाट थपलिया र भट्टलाई पर्यटन बोर्ड सञ्चालक समितिमा नियुक्त गरेका हुन् । पाण्डेले थपपिया र भट्टलाई आगामी ३ वर्षको लागि बोर्ड सदस्य नियुक्त गरेर शुक्रबार नियुक्तिपत्र दिएका छन् ।

बोर्डका यस अघिका सदस्य मिलन देवकोटा र मदन आचार्यको पदावधि सकिएर रिक्त भएको पदमा थपलिया र भट्ट नियुक्त भएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ । बाेर्डमा गत फागुन ६ गतेबाट देवकाेटा र आचार्यको पदावधि सकिएको थियाे । त्यसयता बाेर्डमा दुई सदस्य पद खालि थियो ।

बोर्ड सदस्यमा नियुक्त थपलिया नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्टस (नाट्टा)का अध्यक्ष हुन भने भट्ट हेरिजेट टुर्स एण्ड ट्राभलका प्रवन्ध निर्देशक हुन् ।

बोर्डको कार्यसमिति ११ सदस्यीय हुने व्यवस्था छ । बोर्डमा सरकारी क्षेत्रबाट ५ जना र सीईओबाहेक ५ जना निजीक्षेत्रबाट नियुक्त हुने व्यवस्था छ । बोर्ड अध्यक्ष सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हुने व्यवस्था छ ।

सदस्यहरु मध्येबाट उपाध्यक्ष कमलप्रसाद सापकोटा छन् । अर्थ मन्त्रालयका सहसचिव, अध्यागमन विभागका महानिर्देशक, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक पदेन सदस्य हुने व्यवस्था छ ।

अन्य सदस्यमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने ऋषिराम भण्डारी र राजेन्द्रबहादर लामा छन् । बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सदस्य सचिव हुने व्यवस्था छ ।