‘विचौलिया ह्यान्डिल गर्ने र नोटमा सही गर्ने २ जना गभर्नर राख्नुस्, नोटमा चुनाव चिह्न राखे नि हुन्छ !’

343
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सांसद हरि ढकालले राज्य संयन्त्रहरु दलीय चक्रब्यूहमा फसाएर राजनीतिक दलहरुले आफ्नो स्वार्थअनुकुल प्रयोग गरेको आरोप लगाएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै ढकालले राज्य संरचनाहरु चक्रब्यूहमा फसाएर नीहित स्वार्थका लागि प्रयोग भइरहेको बताए ।

‘दलीयकरणको चक्रब्यूहमा हाम्रा राज्यसंयन्त्रहरु कसरी फसेका छन् हामी सबै जानकार छौं । यो चक्रब्यूहमा संरचनाहरु फसाएर राजनीतिक दलले आफ्नो स्वार्थका लागि प्रयोग गर्दा र आफ्ना र आफन्तीका लागि प्रयोग गरिँदा त फाइदै भएको होला तर आम नागरिक, विश्व जगत र सबै चकित हुनेगरि हाम्रो राज्यका संरचचनाहरु दलीय चक्रब्यूहमा फसेका छन्,’ उनले भने ।

राष्ट्र बैंकजस्तो गरिमामय संस्थाको प्रमुख नियुक्तिका विषयमा लज्जास्पद र ऐतिहासिक भुल भइरहेको उनको भनाइ छ ।

आगामी दिनमा यसले राष्ट्र बैंकको गरिमा क्षयीकरण हुने ढकालको भनाइ छ ।

विगतमा पनि दलीयकरणको वाछिटा राष्ट्र बैंकमा परिसकेको बताउँदै सांसद ढकालले राजनीतिक बाछिटाबाट उत्पन्न परिस्थिति सबैले देखेको स्मरण गराए ।

दलहरुले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा दलहरुले गरिरहेको अभ्यास निन्दनीय भएको बताए ।

‘यसै सन्दर्भमा राष्ट्र बैंकजस्तो संस्थामा गभर्नर नियुक्तिका विषयमा जुन किसिमको लज्जास्पद अभ्यास र ऐतिहासिक भुल गरिँदै छ यसले भोलिका दिनमा अलिकति बचेको राष्ट्र बैंकको गरिमा पनि क्षयीकरण हुने निश्चित छ र क्षयीकरण पक्का हुन्छ,’ ढकालले भने, ‘विगतमा दलीयकरणको बाछिटा राष्ट्र बैंकमा परेको थियो । त्यो राजनीतिक बाछिटाले विगतमा अर्थमन्त्रालयसँग राष्ट्र बैंकको द्वन्द सतहमै आएको थियो । बजेट नीति र मौद्रिक नीति कार्यान्वयनमा दलीय बाछिटाले कस्तो असर पार्‍यो सबै जानकार छौं । यसले समग्र अर्थतन्त्रमा कस्तो असर पार्‍यो, निजी क्षेत्रलाई कसरी हतोत्साहित गर्‍यो ? यी चिज जान्दा जान्दै फेरि दलीयकरणको अभ्यासमा दलबाट नै खुलम खुला रुपमा हाम्रा दलका तर्फबाट भनेर जुन किसिमको अभ्यास गरिँदै छ, त्यो निन्दनीय छ ।’

कृषि वातारण पढेर मौद्रिक नीति बनाउने सम्भावना नभएको उनको भनाइ छ ।

आफैं सिफारिस समितिमा बस्ने र तीन महिनापछि आफैं अघि सर्दा लाज नै लजाएको उनको भनाइ छ ।

३१ महिनासम्म गठबन्धन सरकारलाई जे मन लाग्यो त्यो गर्न छुट भएको उनको भनाइ छ ।

‘गभर्नर दुईवटा बनाउनुस् न एउटा विचौलिया ह्यान्डिल गर्ने अर्को नोटमा सही गर्ने,’ सांसद ढकालले भने,’अर्को काम पनि गर्नुस् ३१ महिनाको बिचमा छापिएको नोटमा आफ्नो चुनाव चिह्न राख्नुस् । तर नागरिकले ३१ महिनापछि तपाईंहरुलाई छुट दिँदैनन् ।’