
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि गठित समितिमा डा. पोषराज पाण्डे नियुक्त भएका छन् । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावमा डा पाण्डेलाई समितिमा ल्याइएको हो ।
यसअघि अर्थमन्त्री पौडेलको नेतृत्वमा बनेको उक्त समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र डा. विश्व पौडेल सदस्य थिए । यसअघि समिति सदस्यबाट डा. विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारी नियुक्त भएका थिए । यसैगरी डा. विश्व पौडेलले पनि समितिबाट राजीनामा दिएपछि एक जना थप गर्नु पर्ने थियो । रिक्त स्थानमा अर्थविद् डा. पाण्डेलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए ।
गभर्नरका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. विश्व पौडेलको नाम अघि सारेको चर्चा भएपछि पौडेलले सिफारिस समितिबाट राजीनामा दिएका थिए ।
महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त हुन सकेको छैन । अधिकारी सिफारिस समितिमा बस्न अयोग्य रहेको भन्दै सर्वोच्मा रिट पुगेको छ भने विश्व पौडेलविरुद्ध सर्वोच्मा पुगेको रिट दर्ता भएको छैन ।
प्रतिक्रिया