
काठमाडौं । एउटा ट्वीनअटर जहाजको इन्जिन मर्मत गरेर उडाउन नेपाल वायुसेवा निगमले करिब एक वर्ष खर्च गरेको छ । नेपाल वायुसेवा निगमका अनुसार इन्जिन अभावमा गत जेठ २३ देखि ग्राउन्डेड भएको (थन्किएको) निगमको उक्त ९ एनएबीटी जहाज २९ वैशाखदेखि नियमित उडानमा आएको हो ।
निगमले उक्त जहाजमा इन्जिन अभाव भएको भन्दै मर्मत गरेर सञ्चालन गर्नमा करिब ११ महिना भन्दा लामो समय खर्च गरेको छ । यो अवधिमा ९ एन एबीयू नामक जहाज ७ पुसदेखि तीन महिना थन्किएकोमा मर्मतपछि आवश्यक मर्मतबाट फागुन दोस्रो सातादेखि मात्रै नियमित उडानमा आएको थियो ।
वायुसेवा निगमका प्रवक्ता सुवास डाँगीका अनुसार लामो समयदेखि उडानमा नभएको एबीटी नामको जहाज सञ्चालनमा आएसँगै निगमसँग भएको दुईवटै ट्वीनअटरले उडान गर्न थालेको छ । अब दुवै जहाजले उडान गर्न थालेसँगै उडान तालिका संशोधन गरेर दैनिक ८ वटा बनाइने छ । दुईवटा जहाजले दैनिक ८ वटा उडान गर्दा दुर्गम तथा पहाडी क्षेत्रमा सेवा प्रभावकारी हुने पनि डाँगीले बताए ।
निगमका यी जहाजको नियमनकारी निकाय तथा विमान निर्माता कम्पनीको मापदण्ड अनुसार नियमित वार्षिक मर्मत सम्भार सर्टिफिकेट अफ एयर वर्दिनेस सम्पन्न गरेर दुईवटै नयाँ इन्जिन परिवर्तन गरेको छ । यो जहाजले नियामकीय चेकजाँच तथा मेन्टेनेन्स चेक फ्लाइट सफल रुपमा सम्पन्न संचालनमा आएको निगमको भनाइ छ ।








प्रतिक्रिया