स्वार्थ समूहसँग डीएनए नमिलेसम्म गभर्नर नियुक्ति हुँदैन: वर्षमान

210
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले गभर्नरको विषयलाई सरकारले राजनीतिकरण गरेको आरोप लगाएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘गर्भनरको विषयलाई राजनीतिकरण गरिएको छ । राजनीतिक दलहरुले देश सञ्चालन गरिरहेको छ या अरु कसैले भन्नेकुरा अहिलेसम्म आउँदा झन प्रष्ट हुँदै गएको छ।’

नेपाल राष्ट्र बैंकको गभर्नर, डेपुटी गभर्नरहरुबाट नै बनाउने प्रचलन भए पनि त्यसो नहुँदा मौद्रिक नीतिमा विज्ञ वा विज्ञता हासिल गरेका व्यक्तिलाई बनाउने विश्वव्यापी चलन भएको बताए ।

‘देश कसले चलाएको छ ? राजनीतिज्ञले या विचौलियाले ? आज सबै तथ्य र व्यवहारले त्यो कुरा पुष्टि हुन्छ,’ उनले भने, ‘गभर्नर राष्ट्र बैंकको डेपुटी गभर्नरहरुबाट बनाउने चलन छ । कि त्यस्तै प्रकारको मौद्रिक नीतिमा विज्ञ र विज्ञता हासिल गरेका व्यक्तिलाई बनाउने चलन परम्परा हो । तर, यहाँ पार्टीको कार्यकर्ता अझ अरु कुनै स्वार्थ समूहले रुचाएको उनीहरुको व्यापारिक स्वार्थ पूरा गर्ने खालको खोजिएको छ । स्वार्थ समूहसँग डिएनए नमिलेसम्म यो नियुक्ति हुनेवाला छैन ।’

गभर्नर बिदा हुनुभन्दा एक महिना अघि नियुक्त गर्नुपर्ने भए पनि दुई महिना बित्दासमेत नियुक्ति हुन नसक्नु दुःखद् भएको उनको भनाइ छ ।

‘कानुन उल्लंघन भएको छ । सरकार एकातिर स्वार्थ समूहले आफ्नो अनुकुलको खोजिरहेको छ । पार्टी कार्यकर्ता एकतातिर अर्कोतिर स्वार्थ समूहको भन्दा देशको अर्थतन्त्र र बैंक तथा वित्तीय संस्था कसरी चल्छ ? सरकारले यसमा वुद्धि पुर्‍याउनु पर्छ ।’

पुनले अहिले कुनै स्वार्थ समूहले रुचाएको र उनीहरुको व्यापारिक स्वार्थ पूरा गर्ने खालको खोजिएकोले स्वार्थ समूहसँग डिएनए नमिलेसम्म गभर्नर नियुक्ति नहुने दाबी गरे ।

मौद्रिक नीतिमा, आर्थिक नीतिमा वा वित्तीय नीतिमा विज्ञता हासिल गरेका व्यक्ति गभर्नर बन्दा आफूहरुको आपत्ति नहुने उनको भनाइ छ । ‘मौद्रिक नीतिमा, आर्थिक नीतिमा या वित्तिय नीतिमा विज्ञता हासिल गरेका व्यक्ति चाहे त्यो कार्यकर्ता होस् वा सामान्य मतदाता या समर्थक जो भए पनि त्यसमा हाम्रो आपत्ति हुँदैन,’ उनले भने, ‘तर, स्वार्थ समूहको स्वार्थमा नहोस्, राजनीतिक कार्यकर्ता नहोस्, गैरविज्ञ मान्छे नआओस् भन्नेतर्फ सरकारलाई सचेत गराउन चाहन्छु ।