प्रि-बजेट छलफलका लागि ४ दिन छुट्याइयो, कांग्रेस एमालेले ३/३ सय मिनेट पाउँदा रास्वपालाई ८२

735
Shares

काठमाडौं । प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु अघि हुने प्रि-बजेट छलफलका लागि चार दिन समय निर्धारण गरेको छ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने छ । ‘आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल प्रारम्भ भएको हो ।

प्रतिनिधिसभाको मंगलबार बैठकमा सभामुखले समय निर्धारण गरिएको जानकारी दिएका हुन् ।

प्रि-बजेट छलफल आज (वैशाख ३० ), भोलि (वैशाख ३१ ), जेठ १ र जेठ २ गते गरी चार दिनसम्म हुनेछ । चार दिनको अवधिमा कुल १८ घण्टा छलफल हुनेछ । जसअनुसार आज ४ घण्टा, भोलि ५ घण्टा, जेठ १ गते ४ घण्टा र जेठ २ गते ५ घण्टा छलफल हुनेछ ।

छलफलका लागि कुल १०८३ मिनेट समय छुट्याइएको छ । यसमा प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेलाई लगभग समान ५–५ घण्टा अर्थात् ३००/३०० मिनेट दिइएको छ । कांग्रेसले ३४६ मिनेट पाउँदा एमालेले ३१० मिनेट पाउने छ ।

सत्ता गठबन्धनको मुख्य दल माओवादी केन्द्रले २ घण्टा ६ मिनेट अर्थात् १२६ मिनेट समय पाएको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ८२ मिनेट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५० मिनेट, एकीकृत समाजवादीले ४० मिनेट, जनता समाजवादी पार्टीले २८ मिनेट, जनमत पार्टीले २४ मिनेट, जनता समाजवादी नेपालले २० मिनेट, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १६ मिनेट, नागरिक उन्मुक्ति पार्टीले पनि १६ मिनेट समय पाएका छन् ।

यसैगरी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र दुई जना स्वतन्त्र सांसदले जनही ५–५ मिनेट समय पाएका छन् ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । सोही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो ।

प्रि-बजेट छलफलपछि सरकारले जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।

Skip This