
काठमाडौं । गभर्नर सिफारिस समितिका सदस्य डा. विश्व पौडेलले राजीनामा दिएका छन् । समितिका सदस्य पौडेललाई नेपाली कांग्रेसले गभर्नरको रुपमा अगाडि बढाउने भएपछि उनले सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका हुन् ।
उनले आइतबार समितिका संयोजक समेत रहेको उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल समक्ष राजीनामा दिएका हुन् । गत शुक्रबार नेपाली कांग्रेसको पदाधिकरी बैठकपछि शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस एमालेका शीर्ष नेताको बैठक बसेको थियो । उक्त बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले डा. गुणाकर भट्टको विकल्पमा पौडेलको नाम गभर्नरको रुपमा सिफारिस गरेका थिए ।
यसअघि कांग्रेस सभापति देउवा र प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आगामी गभर्नरको रुपमा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई अघि बढाउने सहमति भएको समाचार आएको थियो । सोही अनुसार भट्टले कार्यकारी निर्देशकबाट राजीनामा दिएपनि कायम मुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले स्वीकृत नगरेपछि कांग्रेसले गभर्नरको लागि नयाँ विकल्पको रुपमा पौडेलको नाम अघि सारेको हो ।
सिफारिस समितिका अर्का सदस्य महाप्रसाद अधिकारी सिफारिस समितिमा अयोग्य रहेको भन्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर भएको छ । महाप्रसाद अधिकारी गभर्नर बहाल रहँदै नयाँ गभर्नर नियुक्त भइसकनु पर्नेमा ऐन उलंघन गरेर नियुक्त नगरी सिफारिस समितिको सदस्यमा उनलाई नै राखेपछि उनि ऐनको मर्यादा अनुसार सिफारिस समितिमा बस्न नमिल्ने भन्दै अदालतमा रिट दायर भएको छ ।
सरकारले ११ चैतमा गभर्नर नियुक्तिको लागि सिफारिस गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलेको संयोजकत्वमा सिफारिस समिति बनाएको थियो । ऐनको व्यवस्था अनुसार सिफारिस समितिको सदस्यमा पूर्वगभर्नर मध्येबाट डा. विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेललाई सदस्य बनाइएको थियो ।
तर सिफारिस समितिका सदस्य डा. विजयनाथ भट्टराइले ९ वैशाखमा समिति गठन भएको १ महिनासम्म पनि बैठक नबोलाएको र राजनीतिक सहमतिको नाममा सिफारिस समितिलाई रबर स्ट्याम्प बनाउन खोजिएको भन्दै सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका थिए ।
नेपाली कांग्रेसका महासमिति सदस्य तथा नेपाली कांग्रेसबाट चितवनको क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका उमेदवार रहेका पौडेललाई गभर्नरको रुपमा कांग्रेस सभापति अगाडि सारेसँगै उनको पनि राजीनामा आएको छ । समितिका एक सदस्यविरुद्ध सर्वोच्चमा रिट दायर भएको र अर्का सदस्य गभर्नर नै बन्ने तयारीमा राजीनामा दिएसँगै गभर्नर नियुक्तिमा नयाँ मोड देखिएको छ ।
प्रतिक्रिया