ब्यालेन्स अफ पेमेन्ट साढे ३ खर्बले बचतमा, ९ अर्ब वैदेशिक लगानी भित्रियो

98
Shares

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना सकिँदा देशका ब्यालेन्स अफ पेमेन्ट अर्थात् शोधनान्तर स्थिति साढे ३ खर्ब रुपैयाँले बचतमा देखिएको छ । चैत मसान्तसम्मको तथ्यांकअनुसार देश भित्रिने र बाहिरिने मुद्राको अन्तर ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६५ अर्ब १६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ५५ करोडले बचतमा छ ।

समीक्षा अवधिमा चालु खाता २ खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५५ करोडले बचतमा रहेको छ ।

चैतसम्म खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो । यसैगरी, ८ अर्ब ९६ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) ६ अर्ब ४९ करोड रहेको थियो ।