
काठमाडौं । आईपीओ स्वीकृत गर्न कमिसन मागेको गम्भीर आरोपछि बुधबार स्वतन्त्र उर्जा उत्पादहरुको संस्था (इप्पान) र नेपाल धितोपत्र बार्डको उच्च अधिकारीबीच छलफल भयो । इप्पानले लगाएको गम्भीर आरोपछि बुधबार नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर आईपीओ स्वीकृत गरेका र केही प्रक्रियामा रहेका फाइल नियन्त्रणमा लिएको थियो ।
अख्तियारको छापा लगत्तै बुधबार साँझ बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले इप्पानका पदाधिकराीलाई खुमलटारस्थित कार्यालयमा बोलाएर छलफल गरेका थिए । धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठसहित ५ जना कर्मचारी र इप्पानका अध्यक्ष गणेश कार्कीसहितका ५ जनाबीच बुधबार बेलुकाको छलफलमा चर्काचर्की नै फरेपछि इप्पान र बोर्डसँगको सम्बन्ध थप बिग्रिएको छ ।
करिब २२ महिनासम्म पनि नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन प्रक्रिया रोकेको भन्दै सेबोनमात्रै नभएर अर्थमन्त्री र प्रधानमन्त्रीदेखि संसदीय दलसम्म धाउँदा पनि बोर्डले आईपीओ स्वीकृति नदिएपछि रिसाएका ऊर्जा व्यवसायीले सेबोन अध्यक्षको नाम लिँदै केही व्यक्तिले कमिसन मागेको आरोप लगाएका थिए । लामो समयसम्म आईपीओ रोकिएको र ठुला परियोजनाको प्रवर्धकहरुलाई कमिसन दिए चाँडो स्वीकृति पाउने भन्दै कमिसन मागेको आरोप इप्पानले लगाएको छ ।
गत मंगलबार नेपाल धितोपत्र बोर्डले आईपीओ स्वीकृत गर्न कमिसन मागेको आरोप लगायो । हाल धितोपत्र बोर्डमा ४३ कम्पनी आईपीओको पाइपलाइनमा छन् । इपपानले आईपीओ प्रक्रियामा रहेका सबै कम्पनीलाई बोलाएर छलफल गरेको थियो । छलफलमा केही कम्पनीले आईपीओ चाँडो स्वीकृत गराउने भए कमिसन दिनुपर्ने भन्दै अध्यक्ष श्रेष्ठको नाम लिएर केही व्यक्तिले कमिसन माग गरेको आरोप लगाएका थिए । ५० करोड रुपैयाँभन्दा कम पूँजी भएका हाइड्रोपावरका लागि ७ प्रतिशत र ५० करोड रुपैयाँभन्दा माथि पूँजी भएका कम्पनीहरुको लागि ५ प्रतिशतसमम कमिसन मागेको आरोप लागेको थियो ।
‘केही कम्पनीहरुले यसअघि नै अख्तियारमा उजुरी गरेका रहेछन्, मंगलबार इप्पानमा भएको छलफल बाहिरिएपछि अख्तियारले पनि थप सक्रियता देखाएको छ,’ स्रोतले भन्यो, ‘बुधबार अख्यितयाले छापा मारेर श्रेष्ठ अध्यक्ष भएपछि स्वीकृत गरेका आईपीओ र पाइपलाइनमा रहेको केही कम्पनीको समेत फाइल लगेको छ ।’
इप्पानले संस्थागतरुपमा नै कमिसन मागेको भन्दै लगाएको आरोप र अख्तियारको छापापछि बुधबार बेलुका इप्पानका पदाधिकारी र बोर्डको उच्च व्यवस्थापनबीच छलफलमा तनापुर्ण बनेको स्रोतको दाबी छ ।
चाँडो आईपीओ स्वीकत गरीदिने भन्दै केही व्यक्तिले कमिसन मागेको विषय इप्पानका पदाधिकारीले राखेका थिए । बोर्डका अध्यक्ष श्रेष्ठले पनि आफूलाई त्यस्तो महशुस भएको भन्दै व्यवस्थितरुपमा अगाडि बढ्नुपर्ने र सिस्टममा काम हुनेगरी आफूले प्रयास गरेको बताएका थिए । इप्पानका तर्फबाट अध्यक्षसहित ३ जना वर्तमान कार्यसमितिका पदाधिकारी र २ जना ऊर्जा व्यवसायीमा १ जना एमाले आवद्ध व्यवसायी समेत थिए ।
बोर्डबाट अध्यक्ष, कार्यकारी निर्देशकहरु विनयदेव आचार्य र मुक्तिनाथ श्रेष्ठ, कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीका साथै उपकार्यकारी निर्देशक अम्बिका गिरी र निरञ्जय घिमिरे सहभागी थिए । छलफल सामान्य रुपमा नै अघिबढेको भएपनि बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले इप्पानले पेश गरेको लेखापरीक्षण प्रतिवेदनमा विश्वास गर्ने आधार नै नभएको भन्दै सबै पुर्नमूल्यांकन गर्नुपर्दा आईपीओ स्वीकृत गर्न ढिलो बताएको बताएका थिए ।
हाइड्रोपावकरो वित्तीय प्रतिवेदन लगायत पेश गरेको विवरणमा नै विश्वास गर्ने आधार नभएकाले ढिलो भएको आरोप लगाएपछि इप्पानबाट गएको प्रतिनिधि र बोर्डका पदाधिकारीबीचको छलफल चर्काचर्कीमा पुगेको स्रोतको दाबी छ । बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यले केही कुरा राख्न खोजे पनि उनको कुरा सुन्ने अवस्था नै देखिएन ।
बोर्डका अध्यक्ष श्रेष्ठले धितोपत्र बोर्डकै मानहानी हुने आरोप लगाएको भन्दै इप्पानका प्रतिनीधिसँग असन्तुष्टि जनाएका थिए । साथै, अध्यक्ष श्रेष्ठले कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले लगाएको आरोपलाई थप बल पुग्ने गरी आईपीओ स्वीकृत नहुने आशयको भनाइ आएपछि इप्पान प्रतिनिधि थप आबेगमा आएको स्रोतले बतायो ।
‘अहिलेको परिस्थितिमा २० दिनमा पनि एउटा आईपीअो स्वीकृत हुने नसकने आशयको कुरा आयो । सबै कम्पनीको लेखापरीक्षण विश्वास नगरेर पुन मूल्यांकन गर्नुपर्ने भन्दै आवेदन दिनेले गलत रिपोर्ट पेश गरेको आशयका कुरा आयो,’ स्रोतले भन्यो, ‘यस अवस्थामा एक वर्षमा १५ वटाको दरले आईपीओ स्वीकृति गर्दा ४ वर्षमा ६० वटा मात्रै हुने देखिन्छ । अहिले नै बोर्डमो करिब ९० वटा पाइपलाइनमा छन् ।’
धितोपत्र बोर्डमाथि नै गम्भीर आरोप लगाएको भन्दै बोर्डले इप्पानका पदाधिकरीलाई स्पष्टिकरण माग्ने तयारी गरेको स्रोतले बतायो ।
इप्पानका अध्यक्ष गणश कार्की २२/२३ महिना भइसक्दा पनि धितोपत्र बोर्डले केही काम नगरीदिएको बताउाछँन् । ‘काम केही भएको छैन । मंगलबार इप्पानमा आएका सबैले नै कमिसन मागिएको भनेर गुनासो गरे । तीन/चार जनाले मानिस यसरी आउन थाले किन नभनेको भनेर भनेपछि संस्थागतरुपमा बोल्नुपर्ने नै हुन्छ,’ उनले भने, ‘बुधबार धितोपत्र बोर्डको अध्यक्षसँग पाँच/छ जना पदाधिकारी र अन्य मानिस पनि गएका थिए । यसरी कमिसन माग्ने मानिस आउन थालेको भनेर अध्यक्षसामू पनि केहीले कुरा राखेका थिए ।’
यसरी कुरा गर्दा अध्यक्ष श्रेष्ठले मैले पनि बाहिरबाट सुनेको बताएको उनले दाबी गरे ।
‘यसलाई निरुत्साहित गर्ने कुरा गर्ने भयो । अन्य सवालमा भने अब कसरी जाने के गर्ने भन्ने कुरा भयो,’ उनले भने ।
बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ जिम्मेवारी निकायका जिम्मेवारी व्यक्तिबाट त्यो किसिमको आरोप आउनु नै उचित नभएको बताउँछन् ।
‘संस्थागत तरिकाले नै यसरी आउने बाटो होइन । बरु, सम्बन्धित निकायमा गएको भए हुने वा सेबोनमै आएको भए राम्रो हुन्थ्यो,’ उनले भने, ‘भेट दिएन भनिएको छ तर सबै जना आएर भेटिरहेका छन् । यो सुनियोजित आरोप हो । आजका दिनमा सञ्चार माध्यममा जसरी आएको छ यो आफैंमा उचित होइन ।’
आईपिओको विषय रोकिएको नभई खुलेको उनको दाबी छ । ‘हेर्नुपर्ने विषय थपिएका थपिएकै छन् । यसका लागि ढिला हुनु स्वभाविक हो । यसमा काम गर्नका लागि क्षमता वृद्धि आवश्यक भएकाले म त्यसमा लागि रहेको छु,’ उनले भने, ‘जलविद्युत् क्षेत्र सबैतर्फबाट आक्रमण भएको क्षेत्र हो । यस क्षेत्रका लागि सकारात्मक भूमिका खेल्दै हिँडेकोमा म माथि आरोप लगाउने काम भएको छ ।’
यदि कसलै प्रमाणित गरेमा आफू सकिने भन्दै केही गल्ती नगरेको डराउनुपर्ने कारण नभएको अध्यक्ष श्रेष्ठ बताउँछन् ।
‘मेरो नामबाट कसैले कमिसन माग्दै हिँड्यो वा हिँडेन भन्ने थाहा भएन । हाम्रो समाज, यहाँका मानिस कस्ता छन् हेर्नुपर्छ,’ उनले भने, ‘यदि केही गरी त्यसरी मानिस हिँडेको भएपनि मसँग जोडिएको रहेछ भने मैले कुर्सिमा बस्ने नैतिकता गुमाउँछु । बोलेर वा यस्तो भयो रे भनेर बोर्डमाथि आक्रमण भएको छ । यस्तो आरोप लगाउन मिल्दैन ।’
प्रतिक्रिया