
काठमाडौं । पूर्वी क्षेत्रको चर्चित गोर्खा डिपार्टमेन्ट स्टोरको व्यापार खस्किँदै गएको पाइएको छ । विगतमा करिब अर्ब हारहारीमा व्यापार गर्दै आएको स्टोरको व्यापार हरेक वर्ष घट्दै गएको पाइएको हो।
कम्पनीले सन् २०२१ मा ९१ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, सन् २०२३ मा उक्त व्यापार घटेर ८४ करोड ७० लाख रुपैयाँमा सीमित भएको थियो । त्यस्तै, सन् २०२४ मा व्यापार झनै खस्किएको कम्पनीको व्यापारको तथ्यांकले देखाउँछ । सन् २०२४ मा २९ प्रतिशतले कम्पनीको व्यापार घटेर ६० करोड ३० लाख रुपैयाँमा सीमित भएको छ ।
कम्पनीले व्यापार घट्नुको मुख्य कारण मागमा कमी आउनु र उच्च बजार प्रतिस्पर्धा रहेको उल्लेख गरेको छ । त्यस्तै व्यापारमा कमी आए पनि नाफामा भने सुधार आएको कम्पनीले जनाएको छ । सन् २०२४ मा कम्पनीले स्टोरबाट १० लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको छ ।
सन् १९९९ मा स्थापना भएको कम्पनीले एकै स्थानमा सम्पूर्ण घरायसी सामग्री उपलब्ध गर्ने गरी सुनसरीमा पहिलो स्टोर सञ्चालनमा ल्याएको थियो । सुनसरी इटहरीमा पहिलो स्थापित स्टोरको हाल पूर्वी क्षेत्रमै ४ वटा आउटलेट छन् ।
बलराम आचार्य खत्री प्रबन्ध निर्देशक र अन्जु आचार्य खत्रीको पूर्ण स्वामित्व रहेको स्टोरको हाल इटहरी, दमक, पठारी र विराटचोक गरी चार स्थानमा स्टोर सञ्चालनमा छन् ।
करिब ३ दशकको इतिहास बोकेको यस स्टोरले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ९१ करोड ६१ लाख रुपैयाँको रेटिङ गराएको छ । जसमध्ये स्टोरले ५८ करोड ६१ लाख रुपैयाँ दीर्घकालीन कर्जा र ३३ करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ ।
प्रतिक्रिया