पोखरा विमानस्थलको प्रतिवेदन बुझाइसकेपछि आलेले लेखा समिति बैठकमा भने: सदस्य छोडिदिन्छु !

2k
Shares

काठमाडौं । स्वार्थको द्वन्द्व भएको भन्दै संसदको सार्वजनिक लेखा समितिमा प्रश्न उठेपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन उपसमितिको सदस्य छोड्न आफू तयार भएको पूर्वपर्यटन मन्त्रीसमेत रहेका प्रमेबहादुर आलेले बताएका छन् ।

आइतबार पोखरा विमानस्थल बारेको उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न बसेको लेखा समितिको बठकमा आले पूर्वपर्यटन मन्त्री भएको र उनी अध्ययन समितिमा बस्न नहुने भन्दै प्रश्न उठेको थियो ।

प्रतिवेदन नै बुझाइसकेपछि लेखा समितिको बैठकमा दुबै हात उठाउँदै आफूले अध्ययन उपसमितिको सदस्य छोड्न तयार भएको आलेले बताए ।

लेखा समितिले यसअघि भैरहवा विमानस्थलको अध्ययन गर्न बनाएको उपसमिति संयोजक योगेश भट्टराईले अध्ययन गरेर प्रतिवेदन बुझाउने बेला स्वार्थ बाझिएको भन्दै उनले संयोजक छोड्नु पर्ने माग उठेपछि उनले छाडेको बताएका थिए ।

भट्टराई पूर्वपर्यटन मन्त्री भएकोले सोही मन्त्रालय अन्तर्गतको नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको भैरहवा विमानस्थल अध्ययन उपसमितिमा आफू बस्न नचाहेको बताए । भट्टराई पूर्वमन्त्री भएकोले स्वार्थ हुने भए पोखरामा पनि पूर्वमन्त्री समितिमा बस्न नहुने भन्दै प्रश्न उठेको हो ।

भैरहवामा आफूमाथि प्रश्न उठ्दा सोही प्रकृतिको व्यक्ति सदस्य हुँदा पोखरा विमानस्थलको प्रतिवेदन कसरी कार्यान्वयन हुन्छ भन्दै उनले प्रश्न गरे । कोही सदस्यले उक्त प्रतिवेदन स्वार्थप्रतेरित छ भने के गर्ने भन्दै उनले प्रश्न गरे ।

सांसद मनिष झाले प्रेम आलेले पनि पोखराको उपसमितिबाट छाड्नु पर्ने बताएका थिए ।

अध्ययन उपसमितिमा बस्ने नबस्ने विषयमा फरक फरक व्यवहार नगर्न अर्का लेखा समिति सदस्य गोकुल बाँस्कोटाले ध्यानाकर्षण गराए ।

‘पोखरा विमानस्थलमा पूर्वपर्यटन मन्त्री बस्न वैध हुने, प्रतिवेदन पनि लेखा समितिले बुझिसक्यो अनि भैरहवामा चाहिँ किन योगेश बस्न नहुने ?’ उनले प्रश्न गरे ।

‘कानूनले योगेशलाई भैरहवा विमानस्थलको अध्ययनमा बस्न अयोग्य भनेको छ ? उनीमाथी कुनै अभियोग लागेको छ ? किन बस्न नहुने ? सत्तापक्ष हुँदैमा बस्न नहुने भन्ने कहाँ व्यवस्था छ ?’ बाँस्कोटाले प्रश्न गरे ।

Skip This