हिमाल चढ्नेसँगै जाने ‘लियाजन अफिसर’का लागि तछाडमछाड, आरोहीसँग बार्गेनिङको आरोप

११ सय आरोही हिमाली क्षेत्रमा

714
Shares

काठमाडौं । पर्वतारोहणको सिजनसँगै सम्पर्क अधिकृतमा आकर्षण बढ्दो देखिएको छ । वसन्त ऋतुका लागि हिमाल आरोहण उपयुक्त मौसम हो । वर्षेनी यो मौसमका लागि सबैजसो हिमाल आरोहण गर्न अनुमति लिने अरोहीको बाक्लो उपस्थिति हुने गरेको छ ।

पर्वतारोहणको सिजन लागेसँगै आरोहण दलसँग जाने सरकारी प्रतिनिधिका रुपमा सम्पर्क अधिकृत (लियाजन अफिसर) खटिने गरेका छन् । पर्वतारोहणमा जाने आरोहण दलसँग वर्षेनी पर्यटन मन्त्रालयले खटाउने सम्पर्क अधिकृतको चार्म भने बढ्दै गएको छ । यसको एउटै कारण आरोहण दलसँग जाँदा सम्पर्क अधिकृतले पाउने दैनिक भत्ता तथा सुविधा हो ।

पर्वतारोहण नियमावली अनुसार सम्पर्क अधिकृतलाई दैनिक १ हजार ६ सय रुपैयाँ भत्ता, गुणस्तरीय इक्युपमेन्ट, पर्वतारोहण अवधिभर खान बस्नको व्यवस्थासहितको भरिया सुविधा दिनुपर्छ ।

पर्वतारोहणका लागि काठमाडौंबाट प्रस्थान गरेको मितिले ८ हजार मिटरभन्दा माथिका हिमालको लागि ७५ दिन, ७ देखि ८ हजार मिटरको लागि ६० दिन र ७ हजारभन्दा कम उचाईको हिमालका लागि ४५ दिनको समय पाइन्छ ।

काठमाडौंबाट पर्वतारोहण दलसँगै गएका सम्पर्क अधिकृतले आरोहण अवधिभर सगरमाथा आधार शिविरमै बस्नुपर्ने, आरोहीको गतिविधि नियमन गर्नुपर्ने, आरोहीलाई परेको समस्याको समाधान गर्न सहजीकरण गर्नुपर्छ । कामदारले बोक्ने भारीको तौल निरीक्षण गर्ने, पर्यटन मन्त्रालयसँग समन्वयन गर्ने र आरोहण अवधिभर आधार शिविरमै बस्ने र आरोहणको प्रमाणिकरण सम्पर्क अधिकृतले गर्ने व्यवस्था छ ।

Facebook View

यही व्यवस्थाका कारण हरेक आरोहण दलसँग अनिवार्य रुपमा सम्पर्क अधिकृत खटिएका हुन्छ । ती सम्पर्क अधिकृत खटाउने जिम्मेवारी भने पर्यटन मन्त्रालयको मात्रै हो । पर्यटन मन्त्रालयले गत वर्ष २२७ जना सम्पर्क अधिकृत खटाएको थियाे । याे वर्ष आरोहण समूहका आधारमा सम्पर्क अधिकृतको संख्या बढ्न पनि सक्ने पर्यटन विभागले जानकारी दिएको छ ।

पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार पर्वतारोहण नियमावली अनुसार सम्पर्क अधिकृत खटाएने र तोकिएको जिम्मेवारी पूरा गर्न लगाउने काम विभागले गर्छ ।

गौतमका अनुसार कानूनी व्यवस्था अनुसार तोकिएको सेवा सुविधा र भत्ता पाउने व्यवस्था सबै सम्पर्क अधिकृतलाई गरिएको छ । यस्तो सुविधा स्वदेशी र विदेशी आरोही सबैको लागि नियमावलीले तोके अनुसार नै हुन्छ ।

सरकारले कानूनी रुपमा आरोहण दलसँग जाने सम्पर्क अधिकृताई सेवा सुविधा दिने गरेको भए पनि सम्पर्क अधिकृतले तोकिएको भन्दा बढी शुल्क लिने, आरोहीले स्वच्छाले तोकिएकोभन्दा बढी शुल्क तथा टिप्स माग्ने गरेको गुनासो पनि बेला बेला आइरहन्छ । यही सेवा सुविधाका कारण वर्षेनी हिमाल जान सम्पर्क अधिकृत तछाडमछाड गर्ने गरेका छन् ।

क्लिकमान्डुलाई प्राप्त जानकारी अनुसार आरोहणमा जाने टोलीसँग सम्पर्क अधिकृतले बार्गेनिङ गर्ने, आरोहणको प्रमाणीकरण गर्दा थप शुल्क माग्ने र आरोहीसँग नगएकाले वा बीचैबाट फर्किएकासम्मले दैनिक भत्तादेखिको सेवा सुविधा भने छोड्दैनन् ।

त्यसो त पर्यटन मन्त्रालयको आकर्षण नै हिमाल जान पाउने हो । यसका लागि नियम अनुसार पाउने सेवा सुविधा नै आरोहण अवधिभरकै आकर्षक नै हुने हुँदा हिमाल जान सम्पर्क अधिकृतको आकर्षण बढ्ने गरेको छ । नेपालीको तुलनामा विदेशी आरोही हुँदाको अवस्थामा भने रिझाएर पाउने, अतिरिक्त शुल्क पनि हुने भएकोले पनि सम्पर्क अधिकृतको चार्म बढ्ने गरेको छ।

९५ प्रतिशत कर्मचारीले आफ्नो दायित्व पूरा गर्दैनन्

सम्पर्क अधिकृत भएर हिमाल जाने ९५ प्रतिशत कर्मचारीले आफ्नो दायित्व नै पूरा नगर्ने एक पूर्वसम्पर्क अधिकृतले बताएका छन् ।

उनका अनुसार सम्पर्क अधिकृत भएर जाने कर्मचारी अधिकांश हिमाल नपुग्ने, आधार शिविरमा नबस्ने, जाँदै नगइ आरोहण प्रमाणित गर्ने, आरोहण दलसँग तोकिएको भन्दा बढी सेवा शुल्क दाबी गर्नेसमेत गरेका छन् । यस्तो विकृतिलाई रोक्न र आरोहणलाई थप व्यवस्थित बनाउनुपर्ने सुझाव पनि उनको छ ।

११ सय आरोही हिमाली क्षेत्रमा


हाल करिब ११ सय आरोही हिमाली क्षेत्रमा पुगेका छन् । पर्यटन विभागको तथ्यांक अनुसार २ दिन अगाडिसम्म मात्रै अनुमति लिएर विभिन्न हिमालमा जाने आरोहीको संख्या १ हजार ८३ जना रहेको छ । यी आरोहीमध्ये ११३ वटा समूहका ८५२ जना पुरुष र २३१ जना महिला रहेका छन् ।

विभागबाट अनुमति लिएर जानेमा सगरमाथाको लागि मात्रै ४४ समूहबाट ४४१ जना छन् । यो सिजनमा सबैभन्दा बढी आकर्षण सगरमाथामा नै हुने भएकोले आरोहण गर्न चाहेनको रुची देखिएको पर्यटन विभागको भनाइ छ ।

विभागका अनुसार १६ वैशाखसम्ममा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीबाट सरकारले ७४ करोड ७५ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ ।

यस्तो रोयल्टीमा सबैभन्दा बढी सगरमाथाको छ । सगरमाथाबाट मात्रै राज्यले ६५ करोड रुपैयाँ रोयल्टी संकलन गरेको छ । अन्य हिमालको तुलनमा आरोही धेरै हुने र आरोहणको सलामीसमेत धेरै भएकोले यो हिमालबाट धरै रोयल्टी संकलन हुने गरेको छ ।

यो वर्ष सगरमाथामा मात्रै ५५ देशका ४४१ जना गएका छन् । यीमध्ये ७९ जना महिला र ३६२ जना पुरुष छन् । यो वर्ष सगरमाथा आरोहणका लागि आएकामध्ये सबैभन्दा बढी अमेरिकाबाट ८२ जना आएका छन् । त्यसपछि सगरमाथा आरोहणमा बढी रुची राख्ने देश भारत पर्छ । भारतबाट ७५ जनाले आरोहण अनुमति लिएका छन् । आरोहण अनुमति लिएर सगरमाथा जाने नेपालीमा भने २ महिला र छ पुरुषगरी ७ जना मात्रै रहेको पर्यटन विभागको तथ्यांकले देखाएको छ ।

Skip This