
काठमाडौं । पर्वतारोहणको प्रमुख सिजनमै सगरमाथा क्षेत्रमा हेलिकप्टर उडानमा प्रतिबन्ध लागेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र हेलिकप्टर उडान नगर्न र कुनै पनि प्याकेज खरिद विक्रिसमेत नगर्न आग्रह गरेको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिकाले सोमबार सूचना जारी गरेरै हेलिकप्टरको व्यवासायी उडान नगर्न सम्बन्धित हेलिकम्पटर कम्पनीलाई सचेत गराएको छ । यो क्षेत्रमा हेलिकप्टरको व्यवसायीक उडान गरे वा प्याकेजको खरिद बिक्री गरेको अवस्थाबाट उत्पन्न हुने परिस्थितिको सम्बन्धित निकाय नै जिम्मेवार हुने भन्दै चेनावनीपूर्ण पत्र समेत सार्वजनिक गरेको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रभित्र अव्यवस्थित हेलिकप्टर उडानका कारण वन, वातावरण, जैविक विविधता, स्थानीय व्यापार व्यवसाय र पर्यटकीय गतिविधिहरूमा नकारात्मक असर परेको उक्त स्थानीय तहको दाबी छ ।
स्थानीय नागरिकहरूको माग र संरक्षणको दृष्टिले सन् २०२५ को सुरुवातदेखि गाउँपालिका क्षेत्रभित्र अव्यवस्थित हेलिकप्टर उडान नियन्त्रण गर्न तल उल्लेखित अवस्थाहरू बाहेकका सबै प्रकारका व्यावसायिक हेलिकप्टर उडानहरू पूर्ण रूपमा बन्द गरिएकोले सोही अनुसार अहिलेको पर्वतारोहण सिजनमा पनि हेलिकप्टर आकस्मिक प्रयोज तथा तोकिएको शर्त पालाना बाहेककमा नउडाउन आग्रह गरेको छ ।
गाउँपालिकालेजारी गरेको सूचनाको उलंघन गरी केही हेलिकप्टर व्यवसायी तथा ट्रेकिङ व्यवसायीहरूद्वारा व्यावसायिक हेलिकप्टर उडान सञ्चालन भइरहेको देखिएको दाबी पनि खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमा छिरि शेर्पाले जारी गरेको सूचनामा उल्लेख छ ।
उनले अब उपरान्त यस सूचनाको उल्लङ्घन गरी उल्लेखित अवस्थाहरू बाहेक अन्य कुनै पनि व्यावसायिक हेलिकप्टर उडान गरेमा त्यसबाट सिर्जना हुन सक्ने सबै परिस्थितिहरूको जिम्मेवारी सम्बन्धित हेलिकप्टर व्यवसायी, प्याकेज बेच्ने पर्यटन व्यवसायी तथा प्याकेज खरिद गर्ने पर्यटक स्वयंले बेहोर्नुपर्ने भन्दै चेतावनीसमेत दिएका छन् ।
सगरमाथा क्षेत्रमा (लुक्ला भन्दा माथि) हेलिकप्टर उडान अनुमति हुन अवस्थाका लागि गाउँपालिकाले सर्त तोकेको छ । यस्तो सर्तमा रेस्क्यू फ्लाइट उडान स्थलमा रहेको स्वास्थ्य संस्थाबाट सिफारिस प्राप्त भई अन्यन्त्र होल्ड नगरि सिधै स्वास्थ्य संस्थामै लैजानु पर्ने गरि गरिने वास्तविक उद्धार उडानहरू मात्र गर्ने, एक्सपीडिसन कार्गो फ्लाईट पाङबोचेसम्म मात्र र अनुमति लिएर गरिने अन्य सामान ढुवानी कार्गो उडानहरू गर्ने सर्त राखेको छ।
४३०० मिटरभन्दा कम उचाईमा वन टस मात्र अवतरण गर्ने गरि सञ्चालन गरिने माउन्टेन फ्लाइट
गर्न दिने सर्त राखेको छ। उल्लेखित अवस्थाहरू बाहेक अन्य सबै प्रकारका व्यावसायिक हेलिकप्टर उडानहरू पूर्ण रूपमा निषेध गरिएको पनि गाउँपालिकाको भनाइ छ ।
खुम्बु क्षेत्रभित्र गरिएको हेलिकप्टर उडानको सम्पूर्ण सरोकारवालाहरूलाई जानकारी गराउँदै व्यावसायिक हेलिकप्टर उडानसहितका प्याकेजहरूको खरिद(बिक्री नगर्न सूचित पनि आग्रह गरेको छ ।
गाउँपालिकाको निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय संघ संस्था, नागरिक समाज, ट्रेकिङ व्यवसायी, गाइड, पर्यटनसँग सम्बन्धित सम्पूर्ण सरोकारवाला तथा सम्पूर्ण स्थानीयवासीहरूलाई अनुरोध पनि गाउँपालिकाले गरेको छ ।
प्रतिक्रिया