
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र तत्काल सार्वजनिक नगर्ने भएको छ । प्राधिकरणले प्राविधिक कारण देखाउँदै श्वेतपत्र अनिश्चितकालका लागि स्थगित गरेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आज ११ बजे पत्रकार सम्मेलन गरेर श्वेतपत्र निकाल्ने तयारी गरेका थिए ।
शाक्यको सचिवालयले भनेको छ, ‘अर्को सूचना नआउँदासम्मको लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक ज्यूबाट श्वेतपत्र जारी गर्ने कार्यक्रम केहि प्राविधिक कारणले गर्दा स्थगित गरिएको व्यहोरा अनुरोध छ ।’
वित्तीय अपारदर्शिता र क्यासफ्लोबारे उठेका प्रश्नहरूलाई सम्बोधन गर्न प्राधिकरणले श्वेतपत्र जारी गर्ने तयारी गरेको छ । श्वेतपत्रमा घिसिङको कार्यकाल, देखाइएको नाफा, खर्चको वास्तविकता र प्राधिकरणको हालको आर्थिक अवस्था समेटिने बताइएको थियो ।
नगद अभावकै कारण देशभर भइरहेका निर्माण परियोजनाहरूमा ढिलाइ हुने देखिएको छ । यसको असर दीर्घकालमा देखिने छ ।
तसर्थ, प्राधिकरण सर्ट टर्म ऋण लिएर तत्कालको समस्या समाधान गर्न जुटेको छ । सुरुमा ५ अर्ब रुपैयाँ ऋण लिई निर्माण व्यवसायीलाई आंशिक भुक्तानी दिने योजना प्राधिकरणले बनाएको छ । ऋण प्रक्रिया अगाडि बढाउन केही नबिलसहित केही बैंकहरूसँग छलफल भइरहेको छ ।
प्राधिकरणले कुल १० अर्ब ऋण लिने तयारी गरेको छ ।










प्रतिक्रिया