
एजेन्सी । डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि चीनसँग अमेरिकाको व्यापारिक प्रतिस्पर्धा व्यापार युद्धमै परिणत हुँदेछ । पछिल्लो समय चीन र अमेरिकाबीच गहिरिँदै गरेको प्रतिस्पर्धा र रिसइबीले विश्व अर्थतन्त्रलाई नै जोखिममा पार्ने हो कि भन्ने चिन्ता पनि थपिएको छ ।
अमेरिकाले चीनविरुद्ध तीब्र रुपमा बढाइरहेको भन्सार कर र चीनले त्यसको प्रतिबाद गरिरहेको घटनाक्रमले यस्तो संकेत देखिँदैछ कि, यी दुई विश्व शक्तिहरुको व्यापार संघर्षले निकट भविष्यमा दुर्घटना पो ल्याउने हो कि भन्ने त्रास पनि फैलिँदै छ ।
यस्तो प्रतिस्पर्धा र दुश्मनीका बावजुद अमेरिका र चीनबीच कतिपय उत्पादन सम्बन्ध भने रोचक नै छन् । जुन कुरा आम मानिसलाई जानकारी नै छैन वा कसैलाई चासो पनि छैन ।
केही समयअघि अमेरिकाको म्याक इन्डस्ट्रीले भाइपर नामको आफ्नो नयाँ सैन्य स्ट्राइक ड्रोनबारे रोचक प्रचारात्मक भिडियो सार्वजनिक गरेको थियो । जसले सीईओ एथन थर्नटलाई नै अप्ठ्यारोमा पारिदियो ।
यति मात्रै हैन, उक्त भिडियो सामग्रीले अमेरिका–चीनबीच व्यापार सम्बन्धको अर्को पाटोबारे पनि मानिसहरुलाई आकर्षित गरिदियो ।
खासमा सीईओ थर्नटले उक्त ड्रोनको प्रचारात्मक भिडियो सोसल मिडियामा पोस्ट गर्दै लेखेका थिए, ‘देखाऊ, नभन ।’ तर उक्त ड्रोनको भिडियोमा धेरैले के कुरा नोटिस गरे भने, उक्त ड्रोनमा प्रयोग गरिएको इन्जिन चिनियाँ निर्माण कम्पनीले बनाएको इन्जिनसँग ठ्याक्कै मिल्दोजुल्दो थियो । र धेरैले यो कुरा सोधे पनि । सीईओ थर्नटले भने यो कुरा इन्कार गरे ।
यस्तैमा अमेरिकी रक्षा प्रविधि कम्पनी अन्डुरिलका सीईओ पामर लक्कीले एउटा प्रश्न सोधे, ‘भिडियोमा एयरफ्रेमको बारेमा के भनिएको छ ?’
पामर लक्कीको यही प्रश्नले थर्नटनलाई धर्मसंकटमा फसाइदियो । अन्ततः थर्नटन आफूहरुले चिनियाँ कम्पोनेन्ट प्रयोग गरिरहेको कुरा स्विकार्न बाध्य भए । उनले सोसल मिडिया प्लेटफर्म एक्समा यो यथार्थलाई स्विकार गर्दै लेखे, ‘हामी परीक्षणको उद्देश्यलाई लिएर चिनियाँ कम्पोनेन्टहरु उडाउन सहज महसुश गर्छौँ पामर ।’
यो प्रसंगसँगै, अमेरिकी सेनाले प्रयोग गर्ने ड्रोन उत्पादनबारे तपाईँले पक्कै पनि केही कुराको अनुमान गर्नुभयो होला । युक्रेन युद्ध, ताइवानमा बढ्दो तनाब र डीजेआई जस्ता सर्वाधिक ड्रोन उत्पादक चिनियाँ कम्पनीहरुको प्रभुत्वले अमेरिकी सेनाका लागि अमेरिकी र सहयोगी कम्पनीहरुबाट सस्तो र ठूलो मात्रामा उत्पादित ड्रोन उपलब्ध गराइरहेका हुन्छन् ।
तर थर्नटनको एक्सचेन्जले सिलिकन भ्यालीको ओपन सेक्रेट भने खुलासा गरिदिएको छ । डोनाल्ड ट्रम्पको अमेरिका फर्स्ट नीति पालना गर्ने अधिकांश ड्रोन कम्पनीहरुसँग ‘मेड इन चाइना’ पार्ट्सको समस्या छ ।
रोचक त के छ भने, हाल कमर्सियल ड्रोनको ९० प्रतिशत विश्व बजार चीनको नियन्त्रणमा छ । प्रसिद्ध रिसर्च फर्म ‘ड्रोन इन्डस्ट्री इन्साइट्स’का अनुसार एयरफ्रेम, ब्याट्री, रेडियस, क्यामेरा र स्कृन जस्ता अधिकांश प्रमुख हार्डवेयरहरु चीनमै निर्माण हुन्छन् ।
विशेषगरी यी पार्ट्सहरुको दीगोपन तथा टिकाउका लागि चिनियाँ कम्पनी भरपर्दो मानिने बताइन्छ । जवकि यही स्तरमा यस्ता पार्ट्सहरुको संरचना तयार पार्न अमेरिका चीनभन्दा वर्षौं पछाडि रहेको बताइन्छ ।
त्यसो त, अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका उच्च अधिकारीले यसअघि नै आफूहरु यस्ता पार्ट्सका लागि चीनसँग निर्भर रहेको बताएका थिए । जवकि ड्रोनका यस्ता महत्वपूर्ण पार्ट्स बनाउने काममा अमेरिका चीनभन्दा पछाडि भए पनि प्रतिस्पर्धी भने हो ।
यसैगरी गत महिना अमेरिकी उपराष्ट्रपति जेडी भान्स अमेरिकाको विशेष मरिन ड्रोन प्रदर्शन समारोहमा सहभागी भएका थिए । जहाँ उनी चीनमा निर्मित चस्मा लगाइरहेका थिए । जवकि उक्त चस्मा ड्रोनलाई हेर्ने विशेष किसिमको ड्रोन डिस्प्ले गगल्सको रुपमा चिनिन्छ ।
ड्रोनको सन्दर्भमा अमेरिकी अधिकारीहरुले यसअघि नै चीनको प्रभुत्वको यथार्थबाट भाग्न नसकिने प्रतिक्रिया पनि दिएका छन् ।
चिनियाँ उत्पादनहरुमाथि ट्रम्प प्रशासनले चर्को कर लगाइरहँदा त्यसको असर कतिपय अमेरिकी ड्रोन निर्माण कम्पनीहरुमाथि पनि परिरहेको छ । जस्तो कि, अमेरिकी रक्षा मन्त्रालयसँग सम्झौता गरेको स्काइडियो यसको असर भोग्न बाध्य बनिरहेको छ । उदाहरणका लागि अमेरिकी ड्रोन कम्पनीहरु चीनबाट महंगोमा ती पाटपुर्जा खरिद गर्न बाध्य हुने छन् ।
यसबीचमा चिनियाँ कम्पनीले ड्रोन सामग्री उत्पादन बन्द गर्नसक्ने पनि हल्ला चलिरहेको पाइन्छ । यदि त्यसो भयो भने, यसको असर अमेरिका मात्रै नभएर समग्र पश्चिमा देशहरुको राष्ट्रिय सुरक्षामाथि नै पर्ने देखिएको छ ।
अमेरिकाले कर बढाइरहँदा ड्रोनका लागि अत्यन्त महत्वपूर्ण मानिने म्याग्नेट लगायतका सामग्री ढुवानीमा अवरोध आइसकेको छ।
चिनियाँ अधिकारीहरुले भने यसले गर्दा अमेरिकी ड्रोन उद्योगमा विनाशकारी असर पर्ने चेतावनी दिइरहेका छन् ।
यससँगै अमेरिकी रक्षा मन्त्रालयसँग अनुबन्धका लागि प्रयास गरिरहेका दर्जनभन्दा धेरै अमेरिकी ड्रोन कम्पनीहरुमाथि चीनले प्रतिबन्ध लगाइसकेको छ । अर्थात् ती कम्पनीहरुलाई अब चिनियाँ कम्पनीले ड्रोन बनाउनका लागि सामग्रीहरु सप्लाइ गर्ने छैनन् ।
हतियार निर्माण र सप्लाइमा प्रभावशाली मानिने विश्वशक्ति अमेरिकाले एकतर्फी रुपमा चर्को कर लगाइरहँदा चीनसँगको निर्भरता भने बिर्सिरहेको देखिन्छ । ट्रम्पले जसरी कर लगाइरहेका छन्, ठीक त्यसको बदलाको रुपमा चीनले पनि जवाफी रणनीति अपनाइरहेको छ ।
यी दुई शक्तिशाली देशहरुबीचको आर्थिक प्रतिस्पर्धा अब प्रतिशोध हुँदै व्यापार युद्धतर्फ मोडिँदै छ । जसको असर दुई देशलाई मात्रै नभएर सिंगो विश्व अर्थतन्त्रलाई नै पर्नसक्ने देखिन्छ ।








प्रतिक्रिया