
काठमाडौं । पाथिभरा (मुकुम्लुङ) मा केबलकार निर्माण गर्नु हुँदैन भनेर आवाज उठाइरहेका ‘पहिचानका लागि युवा’ संस्थाले वार्ता र संवादमार्फत समस्या समाधान गर्न सबै पक्ष तयार हुनुपर्ने बताएको छ ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी संस्थाले वार्ताका माध्यमबाट पाथीभरा केबलकारको समस्या समाधान गर्न आफूहरु तयार रहेको बताएको हो । पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष कृष्ण चोङवाङले आफूहरु विकास बिरोधी नरहेको भन्दै समस्या समाधानका लागि सरकारसँग खुला ढंगले वार्ता गर्न तयार रहेको बताए ।
आन्दोलनरत समूहहरुसँग सरकारले वार्ता नगरी पेल्ने काम गरिरहेको गुनासो गरे । विभिन्न तरिकाबाट वार्ताको पहल भइरहे पनि सरकारले बेवास्ता गरेको उनको आरोप छ ।
समस्या समाधानका लागि ध्यानाकर्षण होस् भनेर काठमाडौंमा पत्रकार सम्मेलन गरिएको उनले बताए । आन्दोलनरत समूहलाई सरकारले बोलाएर समस्याको पहिचान गरि वार्ता र संवादबाटै समस्याको समाधान निस्किने उनी बताउँछन् ।
‘वार्ताको लागि अगाडि आन्दोलनमा त अलग अलग समूह पनि हुन्छन्, धेरै संघसंस्था मिलेर गरेको हो । त्यसमा अगाडि केही वार्ताहरु भएका छन् । तर सार्थक वार्ता हुन सकेन । त्यसले निकास दिन सकेन मलाई थाहा भएसम्म त्यहाँ पनि सरकारले वा सरकारी पक्षले पेल्ने काम मात्रै गरिराछ । तर यो चाहिँ के हो भने जनस्तरमा भइरहेका वास्तविक समस्या के हो त ? भनेर बुझ्नेसम्म वार्ता हुन सकेन,’ उनले भने, ‘अब जनस्तरबाटै के गर्न सकिन्छ, समाधान कसरी गर्न सकिन्छ ? केवलकार निर्माण बन्द गर्नुमात्रै समाधान हो कि त ? या अरु हिसाबले गर्न सकिन्छ त ? भन्ने हिसावले छलफल नै नगरीकन आको हुनाले हामीले जनस्तरबाट वार्ता संवाद गर्नुप¥यो भने हामी तयार छौँ गर्नु पनि पर्छ । होइन यसरी पेलेरै जाने हो भने प्रतिरोधमै उत्रिन्छौँ । हामी खुल्ला ढंगले संवाद पनि गर्नसक्छौँ, गर्नुपनि पर्छ ।’
लिम्बूवान ब्रदरहुडका अध्यक्ष मिक्तोक लिम्बूले पाथीभरा लिम्बुको अस्तित्व र पहिचानसँग जोडिएको धरोहर भएकाले केवलकार निर्माण गर्दा पहिचान नगुम्ने ग्यारेन्टी हुनुपर्ने बताए ।
आफ्नो माग सम्बोधनका लागि विगत सात वर्षदेखि विभिन्न आन्दोलनमार्फत ध्यानाकर्षण गराए पनि सरकारले नसुनेको उनले बताए ।
विश्वका जुनसुकै युद्ध, क्रान्त्रि वा राजनीतिक आन्दोलन वार्ता र सम्बादबाटै समस्या समाधान भएको भन्दै उनले केवलकार निर्माणको विषय पनि संवादबाट हल हुने उनले बताए ।
विकासको मोडलबारे स्थानीयस्तरमा छलफल र बहस हुनुपर्ने उनको भनाइ छ ।
‘लोकतान्त्रिक पद्दतीको माध्यमबाट, पत्रकार साथीहरुको माध्यमबाट हाम्रो आवाज र मागहरुलाई राज्यलाई सुनाउनका निम्ति विगत सात वर्षदेखि हामी निरन्तर आन्दोलनमा छौँ । तर पनि हाम्रो आवाजहरु राज्य सत्ताले सुनिरहेको छैन । यो अवस्थामा लोकतान्त्रिक पद्दतिबाट हाम्रो अधिकार स्थापित हुँदैन भने स्वभाविक रुपमा मान्छेले विकल्पहरु खोज्छन्, आन्दोलनको स्वरुपहरु परिवर्तन हुन्छन्,’ उनले भने, ‘मुकुम्लुङ आन्दोलन विगत सात वर्षदेखि भइरहेको छ । जुनसुकै समस्याको समाधान पनि राउण्ड टेबल मिटिङबाट डाइलगबाट वार्ता र संवादबाटै भएको छ इतिहासमा । चाहे त्यो पहिलो विश्वयुद्ध होस्, दोस्रो विश्वयुद्ध होस् वा नेपालमा चलेका सशस्त्र क्रान्ति होस् । सात सालको क्रान्ति होस् १७ सालको होस् या ४६ सालको होस् सबै मुद्दाहरु वार्ता र सम्बादबाटै भएको छ र हामी चाहन्छौँ हामी विकास विरोधी होइनौँ । विकास हुनुपर्छ तर नेपालको विकासको मोडालिटी कस्तो हुनुपर्छ भनेर छलफल र बहस गर्नुपर्छ भन्ने जोडदार माग पनि गछौँ ।’
पहिचानका लागि युवाका केन्द्रिय संयोजक विराज आङदम्बे लिम्बूले स्थानीय पहिचानसँग जोडिएका सभ्यताको अस्तित्व रक्षाका लागि राज्यसँग लडाईं भइरहेको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानले दिएको अधिकार सदुपयोग गरी आफूहरु जनताको भावना जोडिएको संस्कृति रक्षाका लागि आन्दोलन गरेको उनले बताए ।
संस्थाले स्थानीय पहिचान र अस्तित्व कायम गरी विकास निर्माण गर्नुपर्ने जनाएको छ । राज्यले दमन कायम जारी राख्ने तथा केवलकार निर्माण कम्पनीले तत्काल आफ्नो धारणा सार्वजनिक नगर्ने हो भने आन्दोलनलाई तेस्रो जनआन्दोलनको रुपमा अघि बढाइने चेतावनी दिएको छ ।
पाथीभरा विशेष शृङ्खलाका लागि यहाँ क्लिक गर्नुस्
प्रतिक्रिया