सिटिजन्स बैंकमा गरेको १०० कित्ता लगानी १७ वर्षमा बन्यो १००५ कित्ता, वार्षिक ३३% रिटर्न

5.9k
Shares

काठमाडौं । हाल सञ्चालनमा २० वटा वाणिज्य बैंक छन् । तीमध्ये स्थापनाकालदेखि नै निरन्तर लाभांश दिने बैंकको संख्या निकै कम छ ।

स्थापना समयदेखि नै निरन्तर लाभांश दिने ८ बैंकको सूचीमा सिटिजन्स बैंक इन्टरनेसल पनि अटाउँछ । बैंकले १८ औं वार्षिकोत्सव मनाइसकेको छ । २०६४ बैशाख ७ गते स्थापना भएको बैंक १९ औं वर्षमा प्रवेश गरेको हो ।

स्थापनापछिको दुई वर्षबाहेक बैंकको इतिहासमा कुनै पनि वर्ष लाभांश दिन छुटाएको छैन ।

बैंकमा स्थापनाकालमा १० हजार लगानी गर्ने लगानीकर्ता पनि अहिले २ लाख रुपैयाँ धनी बनिसकेका छन् ।

नेपाल राष्ट्र बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृतसमेत रहेका राजनसिंह भण्डारी सिटिजन्सले प्रतिफल दिन्छ भन्नेमा कसैले पत्याउँदैन थिए । ३ महिनाघि एक कार्यक्रममा भण्डारीले भनेका थिए, ‘प्रशासकहरुले स्थापना गरेको बैंक भनेर हामीलाई कोही बैंकरले पत्याउँदै थिए । के नाफा गर्ला र भन्थे । हामीले तेस्रो वर्षमै लाभांश दियौं । त्यसपछि सबैले पत्याउन थाले ।’

त्यसयता निरन्तर लाभांश दिन थालेको सिटिजन्सले गत आवमा पनि ४.२१ प्रतिशत लाभांश दिएको छ ।

बैंक स्थापनाकालमा १०० कित्ता अर्थात् १० हजार रुपैयाँ लगानी गरेका संस्थापक सेयरधनी अहिले १ लाख ८० हजार रुपैयाँ धनी भएका छन् । यसैगरी साधारण सेयरधनीको १० हजार रुपैयाँ २ लाख ५४ हजार रुपैयाँ भइसकेको छ ।

लाभांश दिनै सक्दैन भने आँकलन गरिएको बैंक आजसम्म एक प्रकारको ढुक्कको प्रतिफल दिने बैंक बनेको छ ।

‘मात्र १७ वर्ष पुरानो बैंक भएपनि हाम्रा सेयरधनीको १०० कित्ता हाल १ हजार ५ कित्ता सेयर बनेको छ । उहाँहरूको कुल लगानी ४८ हजार रूपैयाँ परेको छ । ४० हजार रूपैयाँभन्दा बढी नगद लाभांश दिएका छौं । सर्वसाधारण सेयरधनीले वार्षिक ३२ प्रतिशत र संस्थापक सेयरधनीले वार्षिक करिब २५ प्रतिशत रिटर्न पाउनु भएको छ,’ वर्तमान प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल भन्छन् ।

सिटिजन्स बैंकले स्थापनाको १८ वर्षमा १०० कित्ता सेयरधनीलाई कसरी करिब २ लाखपति बनायो त ? सुरुमा गरेको लगानीबाट कति बोनस पाए ? कति नगद लाभांश पाए ? पाएको लाभ बाहेक अहिले कति खुद लगानी परेको छ ? भन्ने विस्तृतमा बुझौं ।

सुरुमा हेरौं बैंकका संस्थापक सेयरधनीको
सिटिजन्स बैंकमा कुनैसंस्थापक सेयरधनीले सुरुमा १०० कित्ता सेयर लगानी गरेको थियो र त्यो सेयर अहिलेसम्म बिक्री गरेको छैन भने उनीहरुको हातमा अहिले १००५.३४ कित्ता सेयर छ ।

यो अवधिमा २७ प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा कन्भर्ट पनि भएको छ । यसर्थमा १०० बाट १००५.३४ कित्ता पुुगेको सेयरमध्ये २७३.३४ कित्ता सेयर कित्ता सेयर सर्वसाधारण समूह तर्फको हो भने ७३१.९९ कित्ता संस्थापक सेयर हो ।

यो सेयरमध्ये ३८१.१७ कित्ता सेयर संस्थापक तर्फको बोनस सेयर हो भने १३८.५५ कित्ता सेयर सर्वसाधारण तर्फको बोनस सेयर हो ।

यो अवधिमा बैंकले हकप्रद सेयर पनि निष्कासन गरेको थियो । ३८५.६२ कित्ता हकप्रदबाट आएको सेयर हो ।

बैंकका लगानीकर्ताले संस्थापक र हकप्रद सेयरमा नगद हालेका छन् । यसरी लगानीकर्ताको सुरुमा १० हजार र पछि हकप्रदका लागि गरेर कुल ४८ हजार ५५९ रुपैयाँ लगानी परेको छ । संस्थापक सेयरमा लगानी गर्ने संस्थापक लगानीकर्ताले सर्वसाधारण तर्फको सेयरमा (हकप्रदका लागि) ७ हजार ७७९ रुपैयाँ लगानी गरेका छन् ।

बैंकका सीईओ गणेशराज पोखरेल

यति लगानी गर्नेले कति फिर्ता पाए ?
बिहीबारको सर्वसाधार तर्फको सेयर मूल्य प्रतिकित्ता २१४ रुपैयाँ र प्रमोटरतर्फको प्रतिकित्ता ११० रुपैयाँलाई आधार मानौ । यो मूल्यलाई आधारमान्दा संस्थापक ७३१.९९ कित्ता सेयर र सर्वसाधारण तर्फको २७३.३४ कित्ता सेयरको हालको मूल्य १ लाख ३९ हजार २६० रुपैयाँको रहेको छ ।

जसमध्ये संस्थापक तर्फको मात्रै हेर्दा ८० हजार ५१९ रुपैयाँ र सर्वसाधारण तर्फ ५८ हजार ७४१ रुपैयाँ रहेको छ ।
यो सेयरमा परेको लगानी भनेको ४८ हजार ५५९ रुपैयाँ मात्रै हो ।

यो अवधिमा संस्थापक सेयरसहितलाई बैंकले संस्थापकतर्फ ३२ हजार २०० रुपैयाँ र पब्लिक तर्फलाई ८ हजार ४६३ रुपैयाँ सहित कुल ४० हजार ६६४ रुपैयाँ दिएको छ ।

यसरी नगद तथा बोनस दुवैतर्फ हेर्ने हो भने बैंकले १००५.३४ कित्ता सेयरधनीको हालको कुल मूल्य (वर्थ) १ लाख ७९ हजार ९२४ रुपैयाँ कायम भएको बैंकको प्रमुख वित्त अधिकृत प्रमेश कायस्थ बताउँछन् ।

स्थापनाका बेलामा बैंकमा १०० कित्ता सेयर हुने सेयरधनीले कुल ४८ हजार ५५९ रुपैयाँ लगानी गरेका छन् भने १ लाख ७९ हजार ९२४ रुपैयाँ प्रतिफल पाएका छन् । १६ वर्षको अवधिमा लगानीकर्ताले पाएको प्रतिफल हेर्ने हो भने ३७०.५२ प्रतिशत हुन आउँछ । यसको अर्थ औसतमा बैंकका संस्थापक सेयरधनीले २१.८० प्रतिशत प्रतिफल प्राप्त गरेको उनले बताए ।

हालसम्म अहिलेको अवस्थामा ४८ हजार ५५९ रुपैयाँ लगानी गर्नेले ४० हजार ६६३ रुपैयाँ लाभांश पाएका हुन् । यसर्थ बैंककमा संस्थापक सेयरधनीको खुद लगानी ७ हजार ८९६ रुपैयाँ मान्न सकिन्छ ।

अब हेरौं सर्वसाधारण तर्फ, आईपीओमार्फत् १०० कित्ता लगानी गर्ने सेयरधनीले कति पाए त ?
सर्वसाधारण लगानीकर्ताले १६ वर्षको अवधिमा ४८ हजार ५१० रुपैयाँ लगानी गरेको र सो लगानीको हालको भ्यालु २ लाख ५४ हजार ४६५ रुपैयाँ कायम भएको देखिन्छ ।

४८ हजार ५१० रुपैयाँ लगानी गरेका लगानीकर्ताले ३८ हजार ३८० रुपैयाँ नगद लाभांश पाएका छन् । यसर्थ लगानीकर्ताको बैंकमा परेको अहिलेको कुल लगानी १० हजार १३० रुपैयाँ हो ।

अब लगानी र पाएको प्रतिफल हेरौं ।

१६ वर्ष अघि बैंकका कुनै पनि सेयरधनीले १०० कित्ता आईपीओ लगानी गरेका थिए र त्यो सेयर बिक्री नगरी राखेका थिए भने ती लगानीकर्तासँग अहिले १००५.३४ कित्ता सेयर छ ।

१००५.३४ कित्तामध्ये ५१९.३९ कित्ता प्राप्त भएको बोनस सेयर हो भने बाँकी ३८६ कित्ता हकप्रद ।

हालको सेयर मूल्य प्रतिकित्ता २१५ रुपैयाँका हिसाबले १००५ कित्ता सेयरको कुल मूल्य २ लाख १६ हजार ४७ रुपैयाँ हुन्छ । यो अवधिमा बैंकले सेयरधनीलाई ३८ हजार ३८० रुपैयाँ नगद लाभांश दिएको छ । अर्थात् बैंकबाट प्राप्त कुल प्रतिफल २ लाख ५४ हजार ४६५ रुपैयाँ रहेको कायस्थको भनाई छ ।

बैंकबाट लगानीकर्ताले औसतमा वार्षिक ३२.७८ प्रतिशत प्रतिफल पाएका छन् । बैंकमा गरेको लगानीबाट कुल ५२४.५५ प्रतिशत लाभ मिलेको तथ्यांकले देखाउँछ ।

बैंकमा गरेको खुद लगानीबाट प्रति कित्ता आम्दानी २०५ रुपैयाँ छ ।

लगानीकर्ताको खुद लगानी १० हजार १३० रुपैयाँमा आधारमा २ लाख ५ हजार ९५४ रुपैयाँ आम्दानी आएको छ ।

१६ वर्षको अवधिमा बैंकले औषतमा बोसन सेयर १०.०७ प्रतिशत दिएको छ । बैंकले १६ वर्षसम्म निरन्तर लाभांश दिइरहेको कायस्थले बताए ।

सिटिजन्सका प्रमुख वित्त प्रमुख कायस्थ

कुन वर्ष कति दियो लाभांश ?

आव २०६५/६६ मा १० प्रतिशत लाभांश दिएको बैंकले आव २०६६/६७ मा १२.६३ प्रतिशत लाभांश दिएको थियो ।

आव २०६७/६८ मा १०.५३ प्रतिशत, आव २०६८/६९ मा ८.४२ प्रतिशत, आव २०६९/७० मा १५ प्रतिशत, आव २०७०/७१ मा १८.९५ प्रतिशत, आव २०७१/७२ मा २१.०५ प्रतिशत, आव २०७२/७३ मा १६.६३ प्रतिशत, आव २०७३/७४ मा १७ प्रतिशत, २०७४/७५ मा ५.२७ प्रतिशत, आव २०७५/७६ मा १५ प्रतिशत, आव २०७६/७७ मा ११ प्रतिशत, आव २०७७/७८ मा १६ प्रतिशत, आव २०७८/७९ मा ९ प्रतिशत, आव २०७९/८० मा ५.७९ प्रतिशत र आव २०८०/८१ मा ४.२१ प्रतिशत लाभांश दिएको छ ।

यसबाहेक आर्थिक वर्ष २०७१/७२ मा बैंकले ५५% र २०७२/७३ मा ब२५ प्रतिशत लाभांश विवरण गरेको छ ।