राजनसिंह भण्डारीः आफैंले खोलेको बैंकबाट १७ वर्षपछि ‘रिटायर्ड’, बैंकमै बित्यो साढे ४ दशक



काठमाडौं । २०६४ साल वैशाख ७ गते ७७ जना संस्थापकको लगानीबाट सिटिजन्स बैंक खुल्दा व्यवस्थापन समूहको नेतृत्व गरेका थिए- राजनसिंह भण्डारीले । सिटिजन्स बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ), सञ्चालक समितिको प्रमुख सल्लाहकार र अध्यक्ष हुँदै १७ वर्ष बिताएर उनी औपचारिक रुपमा शुक्रबार बिदा भएका छन् ।

२०७६ असोजमा अध्यक्ष बनेका भण्डारीले शुक्रबारदेखि युवा उद्यमी प्रबलजंग पाण्डेलाई जिम्मेवारी सुम्पिएका छन् । सिटिजन्स बैंक भण्डारीले जन्माएका हुन् । नेपाल राष्ट्र बैंकबाट राजीनामा दिएपछि उनी एमफिल गर्न काठमाडौं विश्वविद्यालयमा भर्ना भएका थिए । त्यहाँ निजी क्षेत्रका साथीभाइले उनलाई ‘हामी लगानी गर्छौं, बैंक खोल्छौं, चलाउनुहोस्’ भने ।

त्यसबेला ५६ करोड जुटाएर खोलिएको बैंकबाट भण्डारी बाहिरिँदै गर्दा सिटिजन्स बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँ पुगेको छ भने सम्पत्ति १ खर्ब ९८ अर्ब ९३ करोड रुपैयाँभन्दा बढी छ । २०८० असारसम्ममा बैंकले १ खर्ब ७१ अर्ब ९५ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने १ खर्ब ४३ अर्ब ५७ करोडभन्दा बढी कर्जा परिचालन गरेको छ। बैंकको आफ्नै कर्पोरेट कार्यालय पनि छ ।

स्थापनादेखि १२ वर्षसम्म तीन कार्यकाल भण्डारी बैंकको सीईओ बने । त्यसपछि ७ महिना सञ्चालक समितिको प्रमुख सल्लाहकार र २०७६ असोजदेखि २०८० असोजसम्म अध्यक्ष ।

उनले बैंक छाड्नुअघि आर्थिक वर्ष २०७९/८० मा बैंकले २ अर्ब २१ करोड ४४ लाख २५ हजार रुपैयाँ नाफा गरेको छ । बैंकले २०७३ देखि अर्बभन्दा बढी नाफा गर्न थालको हो । बैंकले बितेका १७ वर्षमा औसतमा हरेक वर्ष ११.६ प्रतिशतको दरले लाभांश दिएको छ । बैंकले १५ वर्षमा १७४ प्रतिशत लाभांश बाँडेको हो ।

अहिले बैंकले देशभरका १८८ शाखा, १४८ एटीएम र ९७ शाखारहित बैंकिङ इकाइबाट १६ लाख ६२ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्डलगायतका सेवा उपलब्ध गराउँदै आएको छ ।

महोत्तरीको जमिन्दार परिवारमा जन्मेका जन्मिएका भण्डारीले राष्ट्र बैंकमा २७ वर्ष र सिटिजन्स बैंकमा १७ वर्ष गरी ४४ वर्ष सक्रिय जीवन बिताए ।

बैंकको नेतृत्वदायी भूमिकाबाट उनी आफैं बाहिरिन चाहेका हुन् । ‘विभिन्न जिम्मेवारीमा रहेर १७ वर्षसम्म काम गर्दा बैंकलाई एउटा उचाइमा पुर्‍याएँ,’ क्लिकमान्डुसँग उनले भने, ‘अहिले सञ्चालक समितिमा धेरै योग्य, सक्षम र सबल युवा व्यक्तित्वहरु हुनुहुन्छ, उहाँहरुले अझ राम्रो नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्नुहुन्छ भन्ने विश्वासका साथ जिम्मेवारी सुम्पिएको हुँ ।’

उनले तीन महिनाअघि नै संस्थापक सेयरधनीको भेला बोलाएर अध्यक्ष पदका लागि उत्तराधिकारी खोज्न अनुरोध गरेको बताए । ‘फेरि सञ्चालक समितिबाट ममात्र बाहिरिएको हुँ, धेरै व्यावसायिक साथीहरु त्यहाँ हुनुहुन्छ, योग्य साथीहरु हुनुहुन्छ, संस्थाले थप उचाइ लिने विश्वास मलाई छ,’ उनले भने, ‘बैंकले ऊर्जाशील युवा नेतृत्व पाएको छ, त्यो झनै राम्रो कुरा हो ।’

सुरुवाती १२ वर्ष व्यवस्थापन सम्हाल्दा पनि नेतृत्व गर्नसक्ने थुप्रै व्यक्ति जन्माएको उनले बताए । ‘त्यसबेला पनि नयाँलाई अवसर दिनुपर्छ भनेरै पद छाडेको थिएँ,’ उनले सगर्व भने, ‘अहिले पनि त्यही हो ।’

भण्डारीको विगत

जमिन्दार परिवारबाट आएका भण्डारीको परिवारको इच्छा डाक्टर पढाउने थियो । तर, शैशवकालदेखि नै उनलाई डाक्टर बन्न मन परेको थिएन । किनभने डाक्टर बनियो भने गरिब भइन्छ भन्ने कुराले उनको मनमस्तिष्कमा कब्जा जमाएको थियो ।

एसएलसीपछि डाक्टर पढ्नको लागि एक वर्ष उनी विज्ञान विषय लिएर कलेज पनि भर्ना भए । ‘सधैं रुन्चे बिरामीको अनुहार हेर्नुपर्ने भएको हुँदा मलाई डाक्टर बन्ने इच्छा थिएन, नेपालीहरु गरिब छन्, म भावुक मान्छेले गरिबसँग पैसा लिन सक्दिन, त्यसो हुँदा डाक्टर पढेको भए म आफैं गरिब हुन्छु भन्ने बुझाइ थियो,’ भण्डारीले पुराना दिन स्मरण गरे ।

उनलाई पैसाको हिसाबकिताब गर्ने हुटहुटी थियो । त्यसैले साइन्स छाडेर चार्टर्ड एकाउन्टेन्ट बन्ने उद्देश्यले व्यवस्थापन विषय पढ्न थाले । भण्डारीले बैंकिङ क्षेत्रमा करिअर राष्ट्र बैंकबाट सुरु गरेका हुन् । सीए पढेकै कारण आफूले राष्ट्र बैंकमा जागिर खान पाएको उनको बुझाइ छ ।

‘२०३५/३६ सालतिर बानेश्वरमा बस्दा एकजना अंकल (केशव बास्कोटा)ले राष्ट्र बैंकमा जागिर खुलेको फर्म भर्न भन्नुभयो, मैले उहाँलाई जवाफ दिएँ- के म जागिर खाने जस्तो छु, उहाँले राष्ट्र बैंकले सिए पढाउने गर्छ, त्यो हुँदा फाराम भर भन्नुभयो,’ भण्डारीले राष्ट्र बैंक प्रवेशको प्रसंग सुनाए ।

राष्ट्र बैंकले आवेदन फर्म पनि बास्कोटा अंकलले ल्याइदिएको र आफूले त्यसमा हस्ताक्षर मात्र गरेसँगै भण्डारीले राष्ट्र बैंकमा सहायक पदमा नाम निकालेको बताउँछन् उनी । त्यो भनेको खरिदार सरहको पद हो । राष्ट्र बैंकले उनलाई सिए पढ्नको लागि भारत पठायो । उनी सिए पनि पास गरे ।

राष्ट्र बैंकमा उनी कार्यकारी निर्देशकसम्म पुगे । राष्ट्र बैंकको शक्तिशाली विभाग मानिने बैंक तथा वित्तीय संस्था नियमन विभागको प्रमुख भण्डारी थिए । तर, भण्डारीले डेपुटी गभर्नर नबनेपछि राष्ट्र बैंक छाड्ने निणर्य गरे ।

राष्ट्र बैंकले आफूलाई धेरै कुरा दिएको भन्दै भण्डारीले त्यहाँबाट हुने विशिष्टसम्मको पद पाएको बताउँछन् । ‘डेपुटी गभर्नरको नियुक्ति मन्त्रिपरिषदले गर्ने हो, म आफू पनि वरिष्ठ थिएँ, नियुक्त हुन्छु जस्तो लागेको थियो, आफूभन्दा जुनियरलाई सिफारिस र नियुक्ति भएपछि राष्ट्र बैंकको जागिर छाडेँ,’ उनले भने ।

भण्डारीले अहिलेसम्म मन भाँचिएको अनुभव डेपुटी गभर्नर नबनेपछि गरेको बताउँछन् । ‘जागिर खाँदा फुर्तिलो बनाएर जानुपर्छ तर मनै फुर्तिलो बनेन भने राज्यले नपत्याएपछि जागिर छाडेँ,’ उनले भने ।

राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएर भण्डारीले सिटिजन्स बैंक खोलेका थिए । राष्ट्र बैंकको शक्तिशाली विभाग मानिने बैंक तथा वित्तीय संस्था नियमन विभागको प्रमुख थिए उनी । प्रखर र प्रष्ट वक्ता रहेका भण्डारी खरो प्रस्तुति दिन्छन् । सीधा कुरा प्रस्ट विचार भण्डारीको शैली हो ।


क्लिकमान्डु