
काठमाडौं । सेयर बजारका विश्लेषक रविन्द्र भट्टराईको दशौं पुस्तक वित्तीय स्वतन्त्रता सार्वजनिक भएको छ ।
बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)मा आयोजित कार्यक्रममा उक्त पुस्तक सार्वजनिक भएको हो । सेजनका पूर्वअध्यक्ष गोकर्ण अवस्थिले उक्त उक्त पुस्तक सार्वजनिक गरे । यो पुस्तकमा वित्तीय स्वतन्त्रता कसरी हासिल गर्ने भन्ने विषय समावेश गरिएको छ ।
यस पुस्तकमा वित्तीय स्वतन्त्रताका लागि आर्थिक अनुशासन, बचतको महत्व, दीर्घकालीन सोच र लगानी रणनीतिलाई प्राथमिकतामा राखिएको छ ।
आम्दानीभन्दा कम खर्च, आवश्यकता र चाहनाको निर्धारण, नियमित बचत, चक्रवृद्धि ब्याजको शक्ति, विविधीकरणको आवश्यकता, व्यक्तिगत बजेटको प्रभावकारिता, निष्क्रिय आम्दानी, चाँडै लगानी, दीर्घकालीन सोचजस्ता विषयलाई प्रस्टयाउन खोजिएको छ ।
यो पुस्तकका पाठकले वित्तीय स्वतन्त्रता हासिल गर्ने क्रममा यी विधिलाई आफ्नै जीवनमा लागू गर्न सकून् भन्ने उद्देश्यले पुस्तकलाई सरल भाषामा लेखिएको छ ।
यो पुस्तक आर्थिक ज्ञान दिनु मात्र नभएर आर्थिक (वित्तीय) स्वतन्त्रता प्राप्त गर्नका लागि व्यवहारिक नक्सा पनि भएको लेखक भट्टराईको भनाइ छ । भट्टराईले यसअघि नेपालको सेयर बजार, सेयरको आधारभूूत विश्लेषण, सेयर, कमोडिटिज तथा विदेशी मुद्राको प्राविधिक विश्लेषण, सेयरबाट करोडपति, जीवन बिमा, सेयर मन्त्र, सेयर सुत्र, सेयर समिक्षा भाग १ र २ प्रकाशित गरिसकेका छन् ।
यो पुस्तकमा ५९ वटा विषयसूची रहेका छन् । जसमा वित्तीय स्वतन्त्रता÷काम स्वेच्छिक÷ काम नगरी पैसा, बानी ब्यबहार, वित्तीय स्वतन्त्रताका बाधक, वित्तीय स्वतन्त्रता पछिका जोखिम, किसानको वित्तीय स्वतन्त्रता, वित्तीय सुरक्षा र वित्तीय स्वतन्त्रता, खर्च घटाउने ३० उपाय, धनी कसरी बन्ने, जीवनस्तर मुद्रास्फिति, लगानीको भाषा, एक पैसाको जादु, पैसा कसरी बढ्छ ?, ऋण व्यवस्थापन, लगानीका विकल्प, निश्चित आम्दानीको स्रोत, पैसा बनाउने कला लगायतका विषय पुस्तकमा समेटिएका छन् ।
सेक्यूूरिटिज रिसर्च सेन्टर एण्ड सर्भिसेज प्रालिले प्रकाशन गरेको यो पुस्तकको मूल्य ४९९ रुपैयाँ रहेको छ ।








प्रतिक्रिया