नेपाल आउने पर्यटकले गरेको आम्दानी भन्दा बाहिर घुम्न जाने नेपालीले गरेको खर्च ९१ अर्बले बढी

161
Shares

काठमाडौं । नेपालमा घुम्न आउने पर्यटकले गरेको खर्चबाट सरकारले गरेको आम्दानीभन्दा नेपाली बाहिर घुम्दा जाँदा गरेको खर्च ९१ अर्ब ४१ करोड रुपैयाँले बढी छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो ८ महिनाको तथ्यांक अनुसार नेपालमा भित्रने पर्यटकबाट ५६ अर्ब ७० करोड रुपैयाँ आम्दानी सरकारले गरेको छ । यस्तो आम्दानी गत वर्षको सोही अवधिको तुलनमा ९.७ प्रतिशतले बढी हो । गत वर्ष यस्तो आम्दानी ५१ अर्ब ६९ करोड रुपैयाँ थियो ।

नेपाल आउँदा पर्यटकले गर्ने यस्तो आम्दानीभन्दा नेपालबाट बाहिरिएका पर्यटकले गरेको खर्च झन्डै दोब्बरले बढी छ । नेपालबाट बाहिरिने नेपालीले गरेको यस्तो भ्रमण खर्च १ खर्ब ४८ अर्ब ११ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो भ्रमण व्यय १ खर्ब २२ अर्ब ८१ करोड रुपैयाँ थियो ।

पछिल्लो आठ महिनामा शिक्षातर्फको व्यय ८० अर्ब १४ करोड रहेको थियो । समीक्षा अवधिमा खुद सेवा आय ७५ अर्ब १३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ४३ अर्ब ६३ करोडले घाटामा रहेको देखिएको छ ।