भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा छैन: देउवा

343
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको बताएका छन् ।

गणेशमान सिंह फाउण्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्‍याएको योगदान’ विषयक गोष्ठीमा बोल्दै सभापति देउवाले नेपालमा राजसंस्था पुनःस्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला झुटो रहेको बताए ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले समेत नयाँ दिल्लीस्थित नेपाली दूतावासमा गएर आफू राजतन्त्र फर्काउने पक्षमा नरहेको स्पष्टीकरण दिइसकेको उनले बताए ।

आदित्यनाथले राजा फर्काउने अभियान नरहेको भनेको भन्दै सभापति देउवाले भारत नेपाल, गणतन्त्र र प्रजातन्त्रको पक्षमा रहेको स्पष्ट भएको बताए । उनले नेपालमा प्रजातन्त्र स्थापना गर्नमा समेत भारतीय पूर्वप्रधानमन्त्री चन्द्रशेखरको ठूलो योगदान रहेको उल्लेख गरे ।

‘अहिले फेरि राजसंस्था पुनःस्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला पनि छ । यहाँ आदित्यनाथको फोटो समेत छापियो । तर मलाई के थाहा छ भने आदित्यजीले भारतमा जुन हाम्रो दूतावास छ त्यहाँ गएर मेरो कुनै हात छैन । नेपाली जनताले जे चाह्यो त्यही हुन्छ । म राजा ल्याउने पक्षमा छैन भनेर आफैँले भन्नुभएको छ,’ देउवाले भने, ‘त्यस कुराले हामीलाई के लागेको छ भने भारत नेपालसित छ, गणतन्त्रसित छ, प्रजातन्त्रसित छ ।’

नेपालमा गणतन्त्र स्थापना भएको धेरै वर्ष नभएको भन्दै सभापति देउवाले राजनीतिक दलहरुले मिलेर यसलाई मजबुत बनाउन जरुरी रहेको बताए ।