
भैरहवा (रूपन्देही) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने कारागार चलान भएका छन् ।
दुई दिन जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएका लामिछाने आज जिल्ला कारागार चलान भएका हुन् ।
सोमबार बिहान जिल्ला अदालत पेस गरेर आवश्यक प्रक्रिया पूरा गरिएपछि उनलाई कारागार चलान गरिएको हो । अदालत पेस गरेपछि उनलाई थुनुवा पुर्जी दिइएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीको नेतृत्वको टोलीले लामिछानेलाई अदालत पेस गरेलगत्तै थुनुवा पुर्जी प्रदान गर्ने प्रक्रिया पूरा गरेर कारागार लगिएको थियो । जिल्ला प्रहरीको टोलीले सोमबार बिहान कार्यालय समय भएपछि बुटवल पुगेर उच्च अदालतको आदेशको मिसिल बुझेको थियो । मिसिल बुझेर भैरहवा ल्याएपछि जिल्ला प्रहरीको हिरासतबाट लामिछानेलाई अदालत पेस गरिएको थियो ।
जिल्ला कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार करिब एक घण्टासम्म कारागारमा लामिछानेको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसपछि लामिछानेलाई कारागारको ब्लक नं ४ मा राखिएको छ । उक्त कारागारमा अहिले लामिछाने मात्रै रहेको प्रशासक भण्डारीले बताए ।
लामिछानेलाई राखिएको कक्ष अन्य कैदीबन्दीलाई राखिएका भवनभन्दा बाहिर रहेको छ । शुक्रबार राति काठमाडौँमा पक्राउ गरेर लामिछानेलाई शनिबार बिहान भैरहवा ल्याइएको थियो । दुई दिन बिदा भएपछि उनलाई शनिबार र आइतबार जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएको थियो ।
सोमबार बिहान अदालत लैजानुअघि सदरमुकाम भैरहवाको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । जिल्ला प्रहरीबाट अदालत जाने बाटो र अदालत परिसर आसपास नेपाल र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो ।
त्यस्तै, जिल्ला कारागार परिसर र आसपास पनि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । बुटवलको सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो।
लामिछानेले दिएको ४ सन्देश
रवि लामिछानेले कारागार चलान हुँदै गर्दा ४ सन्देश दिएका छन् । लामिछानेको सचिवालयले
चार सन्देश दिएको उल्लेख गरेको छ ।
‘अदालतको आदेशको सम्मान छ । कानूनले दिएको अधिकार प्रयोग गर्छु,’ लामिछानेले भनेका छन्, ‘तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो आदालत जाने प्रक्रिया अवलम्बन गर्छु।’
उनले अदालतबाट न्याय पाउनेमा आफू आशावादी भएको बताएका छन् । ‘न्यायको मन्दिरबाट अन्याय हुने छैन, म विश्वस्त छु । तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ति गलत सावित हुन्,’ उनले भनेका छन् ।
उनले पार्टीलाई एक ढिक्का राखेर पार्टीको अभियानलाई निरन्तरता दिन आग्रह गरेका छन् । ‘पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिनुहोला । सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस् । अभियानलाई जनताको बीचमा पुर्याउनुस्।’
लामिछानेले आफूमाथि प्रतिशोध भएको भन्दै परीक्षाको पहिलो विद्यार्थी आफू भएको र सबैको पालो आउने चेतावनी दिए ।
‘अहिले ममाथि राजनीतिक प्रतिशोध भयो। पालो सबैको आउँछ। यो परीक्षाको पहिलो विद्यार्थी म भएँ। मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ,’ लामिछानेले सन्देशमा भनेका छन् ।
जिल्ला अदालत रूपन्देहीले दिएको एक करोड धरौटी लिएर छाड्ने आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो । गत माघ १३ गते जिल्ला अदालत रूपन्देहीले रवि लामिछानेलाई एक करोड धरौटी रकम माग गरेको थियो भने छविलाल जोशीलाई माघ २९ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।
समान प्रकृतिको मुद्दामा एकजनालाई धरौटी र अर्कालाई थुना भएपछि सरकारी वकिल कार्यालयले लामिछानेलाई पनि थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालत पुगेको थियो ।








प्रतिक्रिया