ग्राउन्ड रिर्पोट

राजावादीले आगो लगाएको जडिबुटी कम्पनी: यसरी बन्यो खरानी, ६ महिनाअघि सन्चो उत्पादन नहुने

करोडौंको क्षति, एकिन विवरण संकलन हुँदै

2.1k
Shares

काठमाडौं । सदा झै शुक्रबार पनि जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका कर्मचारीहरु मुख्य कार्यालय हाताभित्र काममा व्यस्त थिए ।

जडीबुटी चोकसँग यो कार्यालयकी महाप्रवन्धक संगिता यादव उपल्लो तहका दुई महिला र दुई पुरुष सहकर्मीसँग एउटा गम्भीर विषयमा बैठकमा व्यस्त थिइन् ।

कम्पनीकी महाप्रवन्धक यादवले सातै प्रदेशमा शाखा विस्तार र बजार विस्तारको विषयमा छलफल राखेकी थिइन् । केहि समयअघि जाजरकोटको रातामाटामा शाखा विस्तार भएको थियो । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा शाखा र बजार विस्तारको विषयमा आवश्यक गृहकार्यमा उक्त बैठक केन्द्रित थियो ।

दिनको करिब साढे ३ बजेको थियो । बैठक चलिरहेकै बेला एक हुल राजावादी आन्दोलनकारीको समूहले जडिबुटीको मुख्य सडकतर्फबाट मुख्य भवनमा एक्कासी ढुंगामुढा गर्न थाले ।

त्यो ढुंगामुढाले मुख्य भवनको सबै सिसा झर्‍यामझुरुम् फुट्यो । आन्दोलनकारीको अर्को हुल मुख्य गेटतर्फबाट कार्यालय हातामा प्रवेश गरे । उनीहरुको हातमा पेट्रोलले भरिएका केही ग्यालेन र लाइटर थियो ।

गेटमा सुरक्षाको लागि तैनाथ रहेका सुरक्षागार्ड अमर रोकाले रोक्न खोज्दा उनीमाथि आन्दोलनकारीले हातपात गरेर भित्र मैदानतर्फ लखेटेका थिए ।

आन्दोलनकारी ढुंगामुढा गर्दै गेटबाट भित्र प्रवेश गरे । त्यहाँ रहेका ५–७ जना जनपथ प्रहरीको समूहमाथि पनि ढुंगामुढा गरे । ढुंगामुढाका कारण अवस्था बिग्रदैँ गएपछि प्रहरी जवानहरु त्यहाँबाट भाग्न बाध्य भए ।

प्रतिकार गर्ने कोही नभएपछि आन्दोलनकारीहरु गेटसँगै रहेको सुरक्षागार्डको कोठामा तोडफोड गरेका थिए । त्यसपछि त्यो कोठामा पेट्रोल छर्केर आगजनी गरे ।

सुरक्षागार्ड रोकाका अनुसार त्यसपछि आन्दोलनकारीले नजिकै रहेको अर्को कोठामा पनि तोडफोड गर्दै आगजनी गर्न भ्याएका थिए ।

‘उनीहरु तोडफोड गर्न र आगो लगाउने योजना बनाएर नै पेट्रोलले भरिएका ग्यालेन र लाइटर बोकेर आएका थिए,’ सुरक्षागार्ड रोकाले क्लिकमान्डुसँग भने,‘प्रहरी र मलाई लखेटेपछि दुई कोठामा आगो लगाएर बाहिर लहरै पार्किङ गरिएका १३ वटा कार, जिप र भ्यानका साथै ६ वटा मोटरसाइकलमा तोडफोड गरी पेट्रोल छर्केर आगो लगाएर क्षणभरमै खरानी बनाए ।’

यी १३ वटा ठूला सवारी साधनमध्ये कम्पनीको ४ वटा चालु अवस्थाको कार, जीप र भ्यान थियो भने एक मोटरसाइकल थियो । बाँकी ९ वटा ठूला सवारी साधन र ५ वटा मोटरसाइकल अन्य सरकारी कार्यालयको त्यहाँ पार्किङ गरि राखिएको थियो । यि सवारी साधन जलेर अहिले त्यसको अस्थिपञ्जर मात्र यत्रतत्र छरिएका छन् ।

आन्दोलनकारीको तोडफोड गर्ने योजना यतिमै सकिएको थिएन । उनीहरु विस्तारै मुख्य कार्यालयको भवन, कारखाना प्लान्ट, कच्चा पदार्थ स्टोरेज कोठा, प्याकेजिङ गर्ने कोठा, उत्पादित उत्पादन राख्ने कोठातर्फ पसे ।

त्यसमध्ये एउटा हुल मुख्य भवनको माथिल्लो तल्लामा भइरहेको बैठक कक्षमा प्रवेश गरे भने अर्को हुल तलको विभिन्न कोठा–कोठामा प्रवेश गरी तोडफोड गर्दै पेट्रोल छर्किँदै आगो लगाउँदै हिँडेका थिए ।

उनीहरुले कारखाना प्लान्ट, कच्चा पदार्थ स्टोरेज कोठा, प्याकेजिङ गर्ने कोठा, उत्पादित उत्पादन राख्ने कोठालगायत कोठामा प्रवेश गरी तोडफोड गरी आगजनी गरेका थिए । आगजनीका कारण कार्यालय हाताभित्र रहेका सानादेखि ठूला सद्दे रुख विरुवासमेत जलेर नष्ट भएका छन् ।

कम्पनी स्रोतका अनुसार तोडफोड र आगजनीबाट जोगाउन प्रहरी र दमकललाई पटक पटक सम्पर्क गर्दा पनि उनीहरु समयमा नआइदिंदा करोडौं रुपैयाँबराबरको क्षति भएको हो ।

आगजनीका कारण हालै म्यानुअल्ली प्रणालीबाट अटोमेसन प्रणालीमा रुपान्तरण भएको कारखाना प्लान्ट पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

यस्तै दुई वर्षअघि निर्माण भएको गुड म्यानुफ्याक्चरिङ प्राक्टिस सुविधासहित दुईवटा नयाँ भवनभित्र प्रवेश गरी तोडफोडका साथै आगजनी गरी आन्दोलनकारीले जलाएका थिए ।

आगजनीका कारण औषधी उत्पादन गर्न प्रयोग हुने सम्पूर्ण कच्चा पदार्थ, उत्पादन पश्चात् प्याकेजिङ गर्ने प्लास्टिक र सिसाको बोतल, उत्पादन प्याकेजिङ गर्ने कुटको विभिन्न प्याकेट, कारखाना र अटोमेसन प्लान्ट, मेसिन तथा उपकरणका साथै फर्निचर र सम्पूर्ण कागजात जलेर नष्ट भएको छ ।

उता माथिल्लो तल्लामा पुगेको अर्को समूहले बैठक कक्षमा प्रवेश गरी मार मार, भाग भाग, समात समात, कुट कुट भन्दै अपशव्द प्रयोग गर्दै आन्दोलनकारीले आफुसहित उषा रिजाल, निलम पाण्डे, धर्म नेपाल तथा जनक भण्डारीमाथि ढुंगामुढा गरेर कोठाबाहिर लखेटेको महाप्रवन्धक यादबले जानकारी दिइन् ।

‘उनीहरु हुलहुज्जत गर्ने, तोडफोड गर्ने र आगजनी गर्ने भनेर पहिलेदेखि नै प्लान बनाएर आएका रहेछन्,’ कम्पनीका महाप्रवन्धक संगिता यादवले क्लिकमान्डुसँग भनिन्,‘महिला कर्मचारीसम्मलाई उनीहरुले छाडेनन् । अपशब्द प्रयोग गर्दै कोठाबाट लखेटेका थिए । त्यसपछि उनीहरु कोठाभित्र मनलाग्दी रुपमा तोडफोड गर्दै पेट्रोल छर्किएर आगो लगाए ।’

यादवका अनुसार कम्पनी पछिल्लो समयमा ५ करोड रुपैयाँको लगानीमा अटोमेसन प्रणालीमा गएसँगै मल्टिपल प्याकेजिङ प्रणालीलाई अंगिकार गरी शाखा र बजार विस्तारमा लागेको थियो ।

‘यस्तो बेलामा भएको तोडफोड र आगजनीका कारण कम्पनीको उत्पादन गर्ने प्रणाली नै बिथोलियो,’ उनले भनिन्,‘पुनः औषधीजन्य उत्पादन सुरु गर्न फेरि शून्यबाट सुरु गर्नुपर्ने बाध्यता आएको छ । प्लान्टसहित, कच्चा पदार्थ, प्याकेजिङ गर्ने बोतल, वट्टा र प्याकेटसमेत जलेका कारण तत्कालै उत्पादन गर्न सम्भव छैनन ।’

सरकारले आवश्यक सहयोग गरेको अवस्थामा पनि तत्कालै उत्पादन सुरु गर्न कम्तिमा ४ देखि ६ महिना लाग्ने उनको भनाइ छ । अहिले कर्मचारी बस्ने स्थानसम्म नभएकाले उत्पादन गर्न चुनौती खडा भएको छ ।

यादबका अनुसार तोडफोड र आगजनीका कारण आन्दोलनकारीले करिब २ हजारभन्दा बढी कामदारको रोजगारीसमेत खोसेका छन् । श्रमिकहरुले काम गरेवापत प्राप्त गर्ने आम्दानीबाट आफ्नो घरपरिबार पाल्नुका साथै आफ्ना बालबालिकालाई पढाउँदै आएका थिए । आगजनीका कारण ध्वस्त भएको यो कारखाना सञ्चालनमा अनिश्चित हुँदा ति श्रमिकहरुको बिचल्लीसमेत भएको छ ।

तोडफोड र आगजनीका कारण क्षतिको विवरण अहिले संकलन भइसकेको छैन । केहि कोठामा आइतबार बिहान पनि सामान्य आगो र धुवाँ आइरहेकाले उक्त आगो निभाएर क्षतिको विवरण संकलन गरिने कम्पनीका उपप्रबन्धक धर्मलाल नेपालले बताए ।

नेपालले करोडौं रुपैयाँबराबरको भौतिक पूर्वाधार, प्लान्ट, सवारी साधन, औषधीजन्य सामग्री र कागजात जलेर नष्ट भएको जानकारी दिए ।

पछिल्लो समयमा यो कम्पनी उत्पादनमा विविधिकरण गर्दै १० र ५ एमएलको सन्चो वाहेक सन्चो वाम, सन्चो शिलाजित, सन्चो जटा हेयर आयल, सन्चो पेन रिलिफ आयल, सन्चो ह्यान्ड स्यानिटाइजर, पाल्मारोशा आयल उत्पादन गर्दैआएको थियो ।

यस्तै लेमनग्रास आयल, टिमुर आयल, इयुकाल्पटस आयल, मेन्था आयल, तेजपात आयल, च्मोमाइल आयल, सिट्रोनेला आयल, फ्रेन्च वेसिल आयल, जटामसी आयल र सन्चो मह उत्पादन गर्दैआएको थियो । अहिले सन्चो शुद्ध टिमुर बजारमा ल्याउने तयारी भइरहेको थियो । यो कम्पनीले उत्पादन गर्दैआएको सन्चो केहि मुलुकमा निर्यातसमेत हुँदै आएको थियो ।

वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको यो कम्पनी दुई वर्षअघि २ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।